+
+

पूर्वी पहाडी जिल्लाबाट धरान आउँछ दैनिक ३० गाडी सुन्तला

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १२:२२

१४ पुस, धरान । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष बजार भाउ पाएको छ ।

मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी पुगेको छ ।

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ ।

गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रिक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षको हालसम्म औसत प्रति केजी ११० रुपैयाँले १ हजार ६८० मेट्रिक टन (करिब २१ करोड रुपैयाँको कारोबार) भएको छ ।

धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कात्तिकबाट सुरु भएको सुन्तलाको कारोबार चैतको पहिलो सातासम्म हुने गर्छ । सुन्तलाको मुख्य सिजन पुस माघ हो । यस वर्षको सुन्तला गत वर्षकै हाराहारीमा करिब ५ हजार ५ सय मेट्रिक टन (६८ करोड रुपैयाँ बराबर) कारोबार हुने अनुमान गरिएको छ ।

धरानस्थित कृषि बजारबाट प्रदेश १ का सहरहरु इटहरी, विराटनगर, दमक, विर्तामोड जाने गरेको छ भने मधेस प्रदेशका राजविराज, लहान, जनकपुरलगायतका शहरमा जाने गरेको छ ।

कोसी करिडोरमा पर्ने धनकुटा जिल्लाका बुधुक, बोधे, खोकुका साथै भोजपुर, तेह्रथुम, खोटाङ, सङ्खुवासभा जिल्लाबाट दैनिक सुन्तला आउने गरेको छ ।

कृषि बजार व्यवस्थापक भट्टराईका अनुसार कहिलेकाही गोर्खा र कास्की जिल्लाका सुन्तला समेत आउने गरेका छन् । कृषकहरुको सिधा सम्पर्कमा आउने सुन्तला हाल व्यावसायिक एजेन्टमार्फत आउने गरेको छ ।

बोटमै पुगेर व्यापारीहरुले ठेक्का लिने भएकाले दैनिक ३० गाडीभन्दा बढी व्यापारीमार्फत सुन्तला आउने गरेको मुख्य थोक व्यवसायी टिकाराम श्रेष्ठ बताउँछन् । स्वादका दृष्टिले धनकुटाको खोकु क्षेत्रका सुन्तला राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?