+
+

पोखरा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले आवश्यक सहयोग गर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:५२

१७ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

आइतबार पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’

पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनप्रतिनिधि र जनताले अथक प्रयास गरेका बताए ।

यो विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरे ।

आफू पनि गण्डकीको माटोमा जन्मिएको बताउँदै उनले गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएका र अब यसलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने बताए ।

उनले पोखरालाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सरकारले अन्य पूर्वाधार निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

पूर्व पर्यटनमन्त्रीहरु सम्मानित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने पूर्व पर्यटनमन्त्रीहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पूर्व पर्यटनमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ, जीवनबहादुर शाही, स्व. रवीन्द्र अधिकारी, योगेश भट्टराई, भिम आचार्य, प्रेम आले, जितेन्द्र देव रहेका छन् ।

यस्तै पूर्व पर्यटनमन्त्रीहरु दीपकचन्द्र अमात्य, कृपासुर शेर्पा, आनन्द पोखरेल, दिनानाथ गिरी, उमाशंकर अगरिया, भानुभक्त ढकाल र जीवन राम श्रेष्ठलाई पनि सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?