+
+

प्रदेशसभा सञ्चालनमा अलमलिए ज्येष्ठ सदस्य, भने- बहुमत त पुगेन !

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:४१

१७ पुस, विराटनगर । प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबारबाट सुरु भयो ।

९३ सदस्यीय प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्यो । बैठकमा तीन वटा प्रस्ताव पेश भए । सो क्रममा मण्डलको प्रस्तुति रोचक रह्यो ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश २०७९ पेश गरे । कार्कीले पेश गरेको प्रस्तावलाई सभाध्यक्ष मण्डलले ‘यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्’ भन्दै प्रस्तावलाई निर्णयार्थ पेश गरे ।

प्रदेशसभामा उपस्थित केही सांसदले मात्रै हुन्छ भन्दै हात उठाए । थोरै सांसदले हात उठाएपछि सभाध्यक्ष मण्डल अलमलिए । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली तर्फ फर्कदै उनले भने,‘ बहुमत त पुगेन ।’

त्यसपछि पराजुलीले उनलाई अरु पनि पढ्नुहोस् भन्दै सिकाए । त्यसपछि मण्डलले भने,‘माननीय सदस्यहरु यसको विपक्ष हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोस् ।’

हुन्न भन्ने प्रस्तावमा कोही पनि सांसद बोलेनन् । त्यसपछि उनले भने, ‘हुन्न भन्ने आवाज सुनिएन, तसर्थ उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित भएको घोषणा गर्दछु ।’

त्यसअघि पनि ज्येष्ठ सदस्य मण्डलको प्रस्तुति रोचक थियो । प्रदेशसभा नियमावली २०७४ पेस गर्नका लागि उनले कांग्रेस सांसद भीम पराजुलीलाई समय थिए । त्यसपछि समर्थक एमाले सांसद लिलाबल्लभ अधिकारीलाई समर्थनका लागि समय दिए ।

दुवैले बोलेपछि उनले प्रस्ताव निर्णयार्थ पेश गरे । हुन्छ भन्ने आवाज ठूलो आएपछि उनले भने,‘ हुन्छ भनेपछि सक्किगयो नि ।’ त्यतिबेला पनि प्रदेश सचिव पराजुलीले उनलाई कागजमा लेखेका थप वाक्यहरु पढ्न सिकाएका थिए ।

प्रदेशसभाको अर्काे बैठक पुस २५ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?