+
+

कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित ३ जना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १८:४१

१७ पुस, धनगढी । कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलीलाई पक्राउ गरिएको डीएसपी शाहले बताए । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस ९ गते बेलौरी नगरपालिका–१ फटैयागाउँमा भारतीय जस्ता देखिने ६/७ जनाको समूहले स्थानीयबासिन्दालाई हातहतियार देखाएर ३ लाख २० हजार रुपैयाँ, सुनका गरगहना, मोबाइल लुटेको, पुस १२ गते बेलौरी नगरपालिका–२ को बैजुडाँडामा स्थानीयको घरमा प्रवेश गरी नगद, गरगहना र मोबाइल लुटेको घटनामा उनीहरुको समूह संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

लुटपाटमा संलग्न भएको कुरा स्वीकार गरेपनि उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ बाहेक अन्य सरसामान बरामद भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?