+
+

जरायो मारेको घटनामा बयान दिन निकुञ्ज पुगे प्रदेश सभा सदस्य र पूर्व गाउँपालिका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १७:५४
शिकार गरेको जरायोसहित पक्राउ परेका शिकार ।

१९ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा मुछिएका एक जना प्रदेश सभा सदस्य र पूर्व गाउँपालिका अध्यक्ष बयान दिन निकुञ्जमा पुगेका छन् ।

उनीहरुसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् ।

मधेस प्रदेश सभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसँग बयान लिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । ‘प्रदेश सभासद जयसवाल र उहाँका भाइ निकुञ्जमा हाजिर हुनुभयो, अनुसन्धान अधिकारीले बयान लिनुभएको छ’, उनले भने ।

प्रमोद ४ मंसिरको चुनावमा पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

निकुञ्जको टोलीले मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

शिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । छड सिमेन्टको कारोबार गर्ने जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा छ ।

४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।

पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर शिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन शिकारमा संलग्न रहेको आरोपमा पाँच जनासहित दुईवटा गाडी, शिकार खेल्न प्रयोग हुने सामग्री, शिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउको लगायत सार्वजनिक गरेको थियो ।

अनुसन्धानका लागि अर्का प्रदेश सभा सदस्य श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीसँगबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको छ ।

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ । उनी भने मंगलबार बयानका लागि उपस्थित भएनन् । शिकारीको टोलीसँग बरामद गरेको हतियार भने अनुसन्धानका लागि निकुञ्जले पर्सा प्रहरीको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले निकुञ्जले हतियार बुझाएको जानकारी दिए । ‘निकुञ्जलाई विष्फोटक पदार्थका बारेमा अनुसन्धान गर्ने अधिकार छैन’, उनले भने, ‘त्यसैले अनुसन्धानमा सघाउन आग्रहसहित हतियार र गोली पठाएको छ । कसुरदारलाई बोलाएर बयान लिन बाँकी छ ।’

घटनामा संलग्न केहि व्यक्ति फरार रहेको पनि निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?