+
+

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

रासस रासस
२०७९ पुष २० गते १३:४३

२० पुस, मध्यविन्दु । नवलपरासी पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जङ्गल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ ।

जङ्गल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली नगरपालिकाको आर्थिक र शिसवार मध्यवर्ती उपभोक्ता समितिको प्राविधिक सहयोग रहने जनाइएको छ ।

‘नवलपुरको पर्यटन प्रवर्द्धनमा यसले मुख्य भूमिका खेल्नाका साथै यो ठाउँको पहिचानका लागि ठूलो अवसरका रुपमा नगरले लिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘पर्यटकीय क्षेत्रमा निकै सम्भावना बोकेको देवचुली डाँडादेखि सिजी शाश्वतधाम र नारायाणी नदीमा पर्यटकहरुलाई रमणीयस्थल घुमाउनका निम्ति नगरपालिकाले विशेष योजना बनाएको छ ।’

पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई यसै वर्ष पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरिएको देवचुली नगरपालिका–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । ‘जङ्गल सफारीको बाटो निर्माणको सुरुआतमा रहेको र आगामी माघ ५ गते हुने चौथो देवचुली महोत्सवबाट पर्यटकलाई जङ्गल सफारी गर्ने व्यवस्था गरिनेछ’, चालिसेले भने ।

पर्यटकीय क्रियाकलापलाई अगाडि बढाउनाले यहाँका बस्तीको आर्थिक जीविकोपार्जनका लागि नयाँ सुरुआत हुने शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?