+
+

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई दौडधुपमा छन् । उनले यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् ।

दिपेश शाही दिपेश शाही
२०७९ पुष २१ गते २०:३६

२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् ।

माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् ।

नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् ।

यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । भट्टराईको सचिवालयले ओलीसँगको भेटमा सत्ता गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यबारे छलफल भएको जनाएको छ । तर बालकोट निकट स्रोतका अनुसार भट्टराईले आफ्नो पार्टीका अर्का अध्यक्ष यादवलाई मन्त्रिपरिषदमा लैजाने विषयमा छलफल गरेका थिए ।

उनको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सकारात्मक भएको तर धेरै दलका आकांक्षी समेट्नुपर्ने भएकाले कसरी समाधान गर्ने भनेर छलफल गर्नुपर्ने बताएका थिए ।

‘यादव उहाँको पार्टीबाट निर्वाचन जितेका एकजना मात्रै सांसद हुनुहुन्छ । उहाँलाई पनि सरकारमा सामेल गराउनुपर्‍यो भन्ने भट्टराईजीको प्रस्ताव थियो’, एक नेताले भने, ‘माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेकाले सोही पार्टीको भागबाट मन्त्री बनाउँदा सबैलाई समेट्न सजिलो हुन्छ भन्ने अध्यक्षको सुझाव छ । तर त्यसै कारण उहाँलाई मन्त्री नबनाउने भन्ने हुँदैन होला ।’

ती नेताका अनुसार ओलीले माओवादी केन्द्र र नेसपाबीच एकता हुने करिब निश्चित भइसकेको र अन्य दलका आकांक्षीलाई पनि समेट्नुपर्ने अवस्था रहेको भन्दै समाधानको सहज बाटो खोज्नुपर्ने बताएका थिए ।

सोही दिन भट्टराई प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पनि पुगेका थिए । भट्टराईको सचिवलायले ११औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्न गोरखा उद्योग वाणिज्य संघको टोलीसँगै उनी बालुवाटार पुगेको र समसामयिक विषयमा छलफल भएको जनाएको थियो । तर बालुवाटार स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच सोही दिन पार्टी एकता र यादवलाई मन्त्रिपरिषदमा लैजाने विषयमा कुराकानी भएको थियो ।

माओवादी केन्द्र र नेसपाबीच मन्त्रिपरिषद् विस्तारलगत्तै पार्टी एकता गर्ने तयारी चलिरहेको छ । नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार आगामी २४ गते बस्ने नेसपाको राजनीतिक परिषद् बैठकमा यस विषयमा छलफल हुनेछ । ‘अहिलेसम्म एकताका विषयमा सकारात्मक छलफल भइरहेको छ । सम्भावना धेरै छ भन्न सकिन्छ’, पाण्डेले अनलाइनअबरसँग भने ।

यद्यपि, दुवै पार्टीका अन्य नेताहरूसँगको अनौपचारिक कुराकानीलाई आधार मान्दा एकता हुने निश्चित भइसकेको छ । नेसपाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्न हँसिया हथौडा लिएर प्रतिस्पर्धा गरेको थियो । समानुपातिक सूचीमा पनि नेसपाका नेतालाई माओवादी केन्द्रकै सूचीमा राखेर आयोगमा पेस गरेको थियो । माओवादी केन्द्रले नेसपा नेतृ उमरावतीदेवी यादवलाई समानुपातिक पद्धतिबाट सांसद बनाएको छ । साथै प्रदेशसभामा पनि नेसपाले माओवादी केन्द्रकै चिह्नबाट दुई सिट जितेको छ ।

यादवको अपराजित यात्रा, निरन्तर मन्त्री

हाल नेसपाका अध्यक्ष रहेका यादव वामपन्थी पृष्ठभूमिका नेता हुन् । उनी निरन्तर चुनाव जित्ने, सरकारमा सहभागी हुने र पार्टी परिवर्तन गर्ने नेतामा पर्दछन् । पञ्चायतविरूद्ध भूमिगत राजनीति गरेका उनी २०४८ देखि संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् ।

पहिलोपटक मानन्धर पार्टीबाट २०४८ सालमा चुनाव लडेका यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । तर त्यसपछि भने उनी हरेक चुनावमा जित हासिल गर्दै आएका छन् । त्यसपछि नेकपा एमालेमा प्रवेश गरेका यादव २०५१ र २०५६ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

०६२/०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा संघीयता नसमेटिएको भन्दै मधेश आन्दोलन सुरु गर्न यादवले एमाले परित्याग गरेका थिए । एमाले परित्याग गरेका यादव २०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेका थिए ।

त्यसपछि मधेश केन्द्रित पार्टीहरूमा विभाजन आएपछि उनले आफ्नै नेतृत्वमा तराईं मधेस सद्भावना पार्टी गठन गरेका थिए । सोही पार्टीबाट उनी ०७० सालमा सर्लाही–२ बाट राजेन्द्र महतोलाई पराजित गरेर निर्वाचित भएका थिए ।

०७२ सालमा नयाँ संविधानसँग असहमत भएर दोस्रो मधेश आन्दोलन गरेपछि मधेसका ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो । तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य रहेका यादवले ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेसका जंगीलाल रायलाई पराजित गरेका थिए ।

अघिल्लो निर्वाचनपछि राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । तर ओलीले पटकपटक संसद विघटन गरेपछि त्यसको पक्ष र विपक्षमा उभिने विषयलाई लिएर विवाद भएपछि जसपा विभाजन भयो । विभाजनका क्रममा राजपाबाट आएका यादव उपेन्द्र नेतृत्वको जसपामा लागे । गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनसम्म उपेन्द्रसँगै रहेका उनी पछि जसपा पुनः विभाजन भएपछि बाबुरामको नेतृत्वमा गठन भएको नेसपाको अध्यक्ष छन् ।

यादव मन्त्री भइरहने नेतामध्ये पनि पर्दछन् । उनले पहिलोपटक २०५४ मा एमालेबाट राज्यमन्त्री बनेर सत्ता यात्रा थालेका थिए । त्यसपछि उनले २०६४ सालमा सिँचाइ मन्त्रालय, २०६७ मा उद्योग मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
ओलीको संसद विघटनपछि ०७८ सालमा बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री थिए ।

यसपटक पनि माओवादी केन्द्र र नेसपाको एकतासँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको खण्डमा यादव मन्त्रीमा दोहोरिने निश्चितजस्तै छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?