+
+
Shares

साउदी अरबका क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले साउदी अरबका जेद्दा, मक्का, ताइफ, मदिना, अभा र यान्बुमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
  • साउदी सुरक्षा निकायले सम्भावित जोखिमबारे पूर्वसूचना जारी गरेपछि दूतावासले पक्की भवनभित्र बस्न, भीड नगर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न भनेको छ।
  • आपत्कालीन अवस्थामा मक्का, मदिना र जेद्दामा ९११ तथा अन्य क्षेत्रमा एम्बुलेन्सका लागि ९९७, प्रहरीका लागि ९९९ र सिभिल डिफेन्सका लागि ९९८ मा सम्पर्क गर्न सकिने छ।

३० भदौ, काठमाडौं । साउदी अरबको जेद्दा, मक्का, ताइफ, मदिना, अभा र यान्बु लगायत क्षेत्रमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन नेपाली महावाणिज्य दूतावास जेद्दाले आग्रह गरेको छ।

साउदी अरबको आधिकारिक सुरक्षा निकाय जनरल डाइरेक्टोरेट अफ सिभिल डिफेन्स तथा नेसनल अर्ली वार्निङ प्लेटफर्म फर इमर्जेन्सिजमार्फत मोबाइल सन्देश तथा आधिकारिक सामाजिक सञ्जालबाट ती क्षेत्रमा सम्भावित सुरक्षा जोखिमबारे पूर्वसूचना जारी भएपछि दूतावासले नेपालीलाई सावधानी अपनाउन आग्रह गरेको हो।

आकस्मिक अवस्थामा स्थानीय सुरक्षा निकायले जारी गरेका सुरक्षा मापदण्ड तथा निर्देशन पालना गर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

पूर्वसूचना जारी भएको अवस्थामा तत्काल नजिकैको पक्की भवन वा सुरक्षित स्थानमा जान तथा भवनभित्र पनि झ्याल र सिसा नभएको भित्री कोठामा बस्न दूतावासले आग्रह गरेको छ। जोखिम पूर्ण रूपमा नहटेसम्म बाहिर ननिस्कनसमेत भनिएको छ।

त्यस्तै खुला ठाउँ, आगो नजिक, बाल्कोनी तथा भवनको छतमा ननिस्कन र नउभिन दूतावासले अनुरोध गरेको छ। चेतावनी जारी भएको समयमा बाहिर वा बाटोमा रहेका नेपालीले सकेसम्म नजिकैको पक्की भवनभित्र प्रवेश गर्न वा बलियो संरचनाको आड लिएर सुरक्षित रहन भनिएको छ। सवारी चलाइरहेको अवस्थामा चेतावनी प्राप्त भए पुल वा अग्ला भवनबाट टाढा सुरक्षित सडक किनारमा सवारी पार्क गरी सुरक्षित स्थानमा ओत लिन दूतावासको आग्रह छ।

घटना वा जोखिमयुक्त स्थानमा भीड नगर्न तथा संवेदनशील घटनाका फोटो, अडियो वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि दूतावासले अनुरोध गरेको छ। सामाजिक सञ्जाल वा अनधिकृत माध्यमबाट फैलिने अपुष्ट हल्लाको पछि नलागी साउदी सरकारका आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न दूतावासले भनेको छ।

आपत्कालीन अवस्थामा मक्का, मदिना र जेद्दा क्षेत्रमा ९११ मा सम्पर्क गर्न सकिनेछ। अन्य क्षेत्रमा एम्बुलेन्सका लागि ९९७, प्रहरीका लागि ९९९ र सिभिल डिफेन्सका लागि ९९८ मा सम्पर्क गर्न सकिने महावाणिज्यदूतावासले जनाएको छ।

जेद्दास्थित नेपाली महावाणिज्यदूतावासका आपत्कालीन सम्पर्क नम्बर ०५३५०२४१६९, ०५५९७४४२५३ र ०५३१२५४०९९ रहेका छन्। यस्तै कार्यालयको फोन नम्बर ०१२६२२६६८३ रहेको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?