+
+

एकीकृत समाजवादीले किन लगाइरहेको छ वाम एकताको नारा ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष २१ गते २१:२४
एकीकृत समाजवादीले बनाएको वार्ताटोलीका सदस्यहरु बाँयाबाट क्रमश: बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ।

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि अगुवाई गर्ने भन्दै कार्यदल ब्यूँताएको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाएको हो । सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले ‘वामपन्थी जनमतहरूलाई एक ठाउँमा ल्याउन’ पहल गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको थियो ।

त्यसअनुसार ब्यूँताइएको कार्यदलमा उपमहासचिवहरु गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । यसअघि पनि भुसालकै नेतृत्वमा यस्तै कार्यदल बनेको थियो ।

फेरि एकताको नारा

एमालेबाट २० प्रतिशत शक्ति लिएर फुटेको एकीकृत समाजवादी आम चुनावबाट राष्ट्रिय दल समेत बन्न सकेन । नेपाली कांग्रेससहितका पाँच दलको गठबन्धन भएकाले प्रत्यक्षतर्फ १० सिट जितेको भएपनि समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । अघिल्लो पटक संसदको चौथो दल एकीकृत समाजवादी अहिले सातौं स्थानमा झरेको छ ।

त्यसमाथि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले र माओवादीको नयाँ समीकरण एकीकृत समाजवादी छुटेको छ । अनि, एमालेले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरेको छ । यसलाई रोक्न र राष्ट्रिय राजनीतिमा उपस्थिति देखाउन पनि एकीकृत समाजवादीले फेरि वाम एकताको नारा उठाएको छ ।

‘विचार मिल्नेहरुसँग सकेजति मिल्दै जाने भन्ने हाम्रो नीति हो,’ एकीकृत समाजवादीका नेता झलनाथ खनाल भन्छन्, ‘सम्भव भएसम्म धेरै शक्तिलाई गोलबद्ध गर्न पहल गर्छौं ।’

हालै सम्पन्न भएका एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकमा नेताहरुले पनि आफ्नै शक्ति निर्माण गर्न सकिने र त्यसका लागि आगामी पाँच वर्ष मेहेनत गर्नुपर्ने सुझाव दिएका थिए । त्यस अनुसार विचार मिल्नेसँग एकता गर्ने, नमिल्नेसँग कार्यगत एकता गर्दै जाने नीति लिएको महासचिव एवं कार्यदलका संयोजक बेदुराम भुसाल बताउँछन् । ‘जो जोसँग एकता गर्न सकिने आधार हुन्छ, त्योसँग एकता हुन्छ,’ उनले भने, ‘एकता सम्भव नहुनेसँग कार्यगत एकता हुन्छ ।’

को कोसँग हुनसक्छ एकता ?

एकीकृत समाजवादी जस्तै जनता समाजवादी पार्टी पनि दबावमा छ । त्यसैले दुबै पार्टीमा एकताको एजेण्डा बनेको छ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार जसपालाई ‘प्रगतिशील र वामपन्थी बन्न सक्ने चरित्र भएको शक्ति’ मान्ने गरिएको छ ।

१५ पुसमा जसपा अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका झलनाथ खनाललाई भेटेर पार्टी एकताबारे सम्वाद गरेका थिए । जसापाले विचार मिल्ने पार्टी तथा समूहसँग एकताका लागि भन्दै नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ ।

यद्यपि एकीकृत समाजवादीका महासचिव एवम कार्यदल संयोजक भुसाल भने कम्युनिष्ट शक्तिहरुसँग मात्रै एकता गर्ने बताउँछन् । एकताका लागि तीन आधार तयार गरेको भन्दै उनले भने, ‘हामीले एकता गर्ने पार्टी कम्युुनिष्ट पार्टी हुनुप¥यो, माक्र्सवाद–लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्‍यो र, समाजवादी कार्यदिशा भएको हुनुपर्‍यो ।’

जसापाले समाजवादी कार्यदिशा तय गरेको छ, तर कम्युनिष्ट बन्न तयार हुनेमा आशंका छ ।

एकीकृत समाजवादीले चुनावको मुखमा एमाले त्यागेका घनश्याम भूसाललाई पार्टीमा ल्याउन चाहेको छ । एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै उनी छिट्टै पार्टीमा आउने बताइरहेका छन् । भुसालले भने एकीकृत समाजवादी प्रवेशको निर्णय गरिसकेका छैनन् ।

चुनावअघि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता संयोजन समिति बनाउने सहमति भएको थियो । एकीकृत समाजवादीका महासचिव भुसालका अनुसार माओवादी केन्द्रसँग पनि एकता प्रयास हुने बताउँछन् । भन्छन्, ‘त्यसका लागि उहाँहरुले चाहनुपर्‍यो ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?