+
+

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

माओवादीले बनायो वार्ता टोली, नेसपाले भोलि बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १८:२८
प्रचण्ड र बाबुरामसहितका नेताहरु शनिबार बालुवाटारमा छलफलमा ।

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।

भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् । नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यसबेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरुले बताएका छन् ।

शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।

यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने छ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘दुबै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?