+
+

प्रदेश १ को भागबण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:३५
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की (दाँया) र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ।

२४ पुस, विराटनगर ।  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।

बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनिसकेको बताउँछन् ।

‘शीर्ष नेताहरुबाट औपचारिक सहमति भएर आउन बाँकी छ’ आङ्बोले अनलाइनखबरसित भने, ‘एमालेले मुख्यमन्त्री लिएपछि हामीले सभामुख लिन्छौं । मन्त्रालयहरु टुंगो लाग्न बाँकी छ ।’

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार ४ बजे दाबी पेश गर्ने तयारी छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गर्नेछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ ।

प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?