+
+

माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने, विश्वासको मतबारे अझै अनिर्णित

एकीकृत समाजवादीले संसदलाई भन्यो- प्रतिपक्षी बेञ्चमा बस्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:५८

२४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् । उनी भन्छन्, ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?