+
+

चितवन महोत्सव आजदेखि, अर्थमन्त्री पौडेलले उदघाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ९:०५

२५ पुस, चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ ।

महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । चितवन महोत्सव यसपटक ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको यसपटकको महोत्सवमा ४५० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले जानकारी दिए । महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि ६० र विद्यार्थीका लागि ३० रुपैयाँ तोकिएको छ ।

महोत्सवमा करिब २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । कोभिड १९ को विश्वव्यापी महामारीको भूमरीबाट भरखरै व्युँतिन लागेको अर्थतन्त्र र सर्वसाधारणमा पलाउन लागेको आशाको किरणलाई यस वर्षको महोत्सवले थप ऊर्जा दिने अपेक्षा गरिएको उपाध्यक्ष पन्तले बताए ।

महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवर्द्धनका विभिन्न गतिविधि सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा ७ वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, तथा विभिन्न रेष्टुरेन्टहरु रहनेछन् ।

परम्परागत खानाको प्रवर्द्धनका लागि भन्दै विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पुस २८ देखि माघ २ गतेसम्म नारायणगढकै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।

चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ ।

महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातीहरुको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रदर्शनी, फन पार्कसमेत रहने छ ।

महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु राखिने महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले बताए ।

चितवन महोत्सव २०५३ सालदेखि हरेक २÷२ बर्षको अन्तरालमा हुँदै आएको छ । विगतको २०७८ सालको १३ औं संस्करणको कोरोना महामारीका कारण तीन दिन मात्र सञ्चालन गरी स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?