+
+

खाने कसरी ?

यस्तो छ हाम्रो खानपान शिष्टचार

मनिषा थापा मनिषा थापा
२०७९ पुष २५ गते १७:२१

काठमाडौं । बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्, जसलाई शिष्टाचार पनि भनिन्छ ।

त्यसमा खानेशैली पनि पर्छ । खाना खानेशैलीले हाम्रो शिष्टाचार झल्काउँछ । तर हामीमध्ये धेरैलाई यसको आभास नभएको पनि हुन सक्छ ।

भनिन्छ, खाना खान हामीले गर्भबाटै सिकेर आएका हुन्छौं । तर कसरी खाने ? खाँदा के–के पक्षमा ध्यान दिने भन्ने बारेमा सायदैले सोच्ने गरेका छन् । हुन त व्यक्तिको खाने तरिकालाई समय, परिस्थिति र रहनसहनले पनि निर्धारण गर्छ । यसमा स्थान विशेषको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

खानेकुरा हाम्रो शरीरको लागि जति महत्वपूर्ण छ, त्यति नै कसरी खाने भन्ने कुरा जान्न र व्यवहारमा ल्याउन उति नै महत्वपूर्ण रहेको आहारविद् राजु अधिकारी बताउँछन् ।

‘हाम्रो ध्यान के खाँदा शरीर स्वस्थ हुन्छ भन्नेतर्फ त जान्छ तर कसरी खाने भन्ने कुरामा त्यति ध्यान जाँदैन । जुन एउटा मानवीय व्यवहारभित्र पर्ने महत्वपूर्ण कुरा हो । खानपानको आफ्नै शिष्टशैली हुन्छ,’ उनले भने ।

उनका अनुसार खानेकुरा कसरी खाइरहेको छ भन्ने पक्षबाट पनि व्यक्तिको मूल्यांकन हुने गर्छ । ठाउँअनुसार खानेशैली फरक–फरक हुन सक्छ ।

खानपानको शिष्टाचार

खानपानको शिष्टाचारमा सबैभन्दा पहिलो कुरा खानेकुरालाई सम्मान गर्नुपर्ने अधिकारी बताउँछन् ।  ‘हाम्रो प्राणरक्षक गर्ने भनेको खानेकुरा नै हो । त्यसैले यसको सम्मान हरकोहीको लागि जरुरी हुन्छ,’ उनी भन्छन्, ‘हाम्रा अग्रजहरुले खानुअघि भगवानलाई चढाउने, मानव आश्रित पशुपन्छीका लागि खानेकुरा छुट्टाएर मात्र भोजन सुरु गर्ने गर्थे । अहिले त्यो नियम बिस्तारै घट्दो छ ।’

खानपान शिष्टाचारमा खाने तरिका, खाने मात्रा, खानाप्रतिको मनोभावना सबै कुरामा ध्यान दिनुपर्छ । अधिकारीका अनुसार खानपानको शिष्टाचार बालबालिकालाई घरमा सिकाउनेदेखि उनीहरुको पाठ्यक्रममा पनि समावेश गर्नु अनिवार्य गर्नुपर्छ । यसले उनीहरुलाई थप शिष्टता बुझ्न मद्दत गर्छ ।

घरमा खानपान शिष्टाचार 

अधिकारीका अनुसार सबैभन्दा पहिला घरमा खाना पाकेपछि परिवारका सबै सदस्य सम्भव भएसम्म सँगै बसेर खाने वातावरण बनाउनुपर्छ । यसले खानासँगै पारिवारिक आत्मीयता पनि बढाउँछ । खाना खाँदा सबैभन्दा पहिले हात सफा गरेपछि आफूलाई भोक लागेको भन्दा थोरै कम खानेकुरा लिनुपर्छ । यसले गर्दा खाना खेर जाँदैन । भनिन्छ, खाना फ्याँकियो भने अन्नले पनि सराप्छ ।

खाना खानेक्रममा त्यो माहोललाई बिथोल्ने कुनै पनि प्रकारको आवाज निकाल्न नहुने आहारविद् अधिकारी बताउँछन् । ‘हल्ला गर्ने, भाडा बजाउने, आवाज निकाल्दै चपाउने, गफ बढी गर्ने बानी गर्नुहुँदैन । यो शिष्टताको विपरीत मानिन्छ,’ उनी भन्छन्, ‘यसले माहोल नै भंग गर्छ ।’

सकेसम्म खाना खाँदा विस्तारै खानाको आनन्द लिंदै खानुपर्छ । यसमा वैज्ञानिक कारण पनि छन् । विस्तारै खाना चपाउँदा मुखमा पर्याप्त पाचन रस निस्कन्छ र खानेकुरा राम्ररी टुक्रिन्छ । यसले खाना पचाउन सजिलो हुन्छ । त्यसपछि खाना खाइसकेपछि पकाउने घरको सदस्यलाई धन्यवाद दिनु जरुरी छ । त्यस्तै भाँडा झुठो टेबलमै छोड्न हुँदैन । घरमा स–साना बालबालिकालाई पनि यो शिष्टाचार सिकाउनुपर्छ ।

रेस्टुरेन्ट तथा पार्टीमा खानपानको शिष्टाचार

आहारविद् अधिकारीका अनुसार घरबाट बाहिर रेस्टुरेन्ट तथा पार्टीमा जाँदा विशेष ध्यान दिनुपर्छ । रेस्टुरेन्टमा साथीभाइ वा विशेष अतिथिसँग खानेकुरा खान जाँदैछौं भने सर्वप्रथम बस्नको लागि आग्रह गर्नुपर्छ । अतिथिलाई वार्तालापको लागि सहज बनाउँदै खानेकुरा के मगाउने भनेर सोध्ने र उस्तै मिल्दोजुल्दो खानेकुरा मगाएर खानुपर्छ । खानेकुरा आइसकेपछि नेपकिन पनि राखिएको छ भने त्यसलाई खानुपूर्व आफ्नो घाँटीमा लगाउने र काखमा पनि ओछ्याउनुपर्छ । यसले गर्दा खानेकुरा पोखिएमा, झरेमा लुगा फोहोर नहुने उनी बताउँछन् ।

अतिथिले खान सुरु गरेपछि मात्र आफूले सुरु गर्नुपर्छ । त्यहाँ साइडमा राखिएको चम्चा काटा मात्र प्रयोग गर्नुपर्छ ।

‘नेपालीहरु त्यति काटा चम्चामा अभ्यस्त छैनौं । कहिलेकाहीं हामी काटा चम्चाले खान नजान्दा पनि हीनता महसुस गर्छौं,’ अधिकारी भन्छन्, ‘बानी परेको छैन भने चम्चा मात्र प्रयोग नगर्ने र फोर्क र चक्कु प्रयोग गर्नु परेको खण्डमा फोर्क चम्चा बायाँ हातले खानेकुरा समातेर दाया हातले चक्कुले काटेर खानुपर्छ ।’ चम्चा हल्लाउँदै कुरा गर्नु पनि असभ्य मानिन्छ ।

खाना खाइसकेपछि

खान खाने समय मात्र नभई खाइसकेपछि पनि  केही कुरा ध्यान दिनुपर्ने अधिकारी बताउँछन् ।  उनका अनुसार खाना खाइसकेपछि चम्चालाई घोप्टो पारी क्रस गरेर राख्नुपर्छ यसले खाना पुग्यो भन्ने बुझिन्छ । सकेसम्म आफैंले धेरै भाँडाको प्रयोग गर्नुहुँदैन । त्यसबाहेक खाना खाइसकेपछि अतिथिले खाना नसकाई टेबलबाट उठ्नु हुँदैन । खाना दिनेहरुलाई कृतज्ञता प्रकट गर्नुपर्छ ।

भोज, पार्टीमा जाँदा पनि यही शिष्टाचारको नियम लागु हुन्छ । तर पार्टी र विशेष समारोहमा जाँदा उपहार लिएर जानुपर्छ । सिंत्तैमा भोज खान नहुने मान्यता छ । सार्वजनिक रेस्टुरेन्ट बाहेक अन्य ठाउँबाट नखाएको खाना वा बाँकी रहेको घरमा सकेसम्म लैजान नहुने र प्रस्ताव नगर्न अधिकारी सुझाउँछन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?