+
+

०५१ सालमा प्रतिपक्षी कांग्रेसले दिएको थियो मनमोहनलाई विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते ९:३६
मनमोहन अधिकारी (वायाँ) र गिरिजाप्रसाद कोइराला ।

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे कांग्रेसभित्र एक मत हुन सकेको छैन । संस्थापन पक्ष प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा र महामन्त्री गगन थापासहितका कोइराला पक्षका नेताहरु भने दिन नहुने पक्षमा रहेका समाचार सार्वजनिक भइरहेका छन् ।

तर २०५१ सालको नजीरलाई हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो । एमालेका अधिकारीले प्रतिनिधि सभामा उपस्थित सबै सांसदहरुबाट विश्वासको मत पाएका थिए ।

प्रतिनिधि सभाका २०२ जना सांसदहरुमध्ये १९८ जना संसद बैठकमा उपस्थित थिए । तीमध्ये कांग्रेसका रामचन्द्र पौडेल सभामुख भएकाले मतदान गरेनन् भने कांग्रेसका महन्थ ठाकुर, बलबहादुर केसी र बज्रकिशोर सिंह अनुपस्थित थिए । अरु सबैले अधिकारीलाई विश्वासको मत दिएका थिए ।

तत्कालीन नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेका अनुसार विश्वासको मतमा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेसका सांसदबाट समेत विश्वासको मत लिने प्रयासमा छन् । यसबारे उनले सभापति शेरबहादुर देउवालगायतसँग छलफल गर्दै आएका छन् ।

सोमबार साँझमात्रै प्रचण्ड देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले भने पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएको देउवा निकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । प्रचण्डले देउवालाई भेट्नु अघि देउवाले आफू निकट नेताहरुसँग त्यसबारे परामर्श गरेका थिए ।

कांग्रेसका शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वास प्रकाश शर्मा भने सरकारलाई विश्वासको दिन नहुने र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनुपर्ने पक्षमा छन् । तर देउवा भने प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक रहेको अनुमान उनकै पार्टीका कतिपय नेताहरुले गरेका छन् । सोमबार संसद अधिवेशनको पहिलो बैठकमा सम्बोधनको क्रममा देउवा शालीन ढंगले प्रस्तुत हुनुलाई पनि त्यसैको संकेतको रुपमा लिन सकिने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?