+
+

अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:५५

२८, पुस, चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री भएपछि पहिलो पटक  चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।

लामिछानेले त्यहींबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेलले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौंलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरापालन धरासायी भएको गुनासो गरे ।

भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यवसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए ।

चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ । त्यसमा पनि उत्पादन भएका आधा चल्ला बिक्री गर्न समस्या भएको व्यवसायीहरु बताउँछन् ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार ५–१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् । लेयर्स चल्ला उत्पादन गर्ने देशभरिका १४ वटा ह्याचरीमध्ये दुई वटा मात्रै पूरा क्षमतामा सञ्चालनमा छन् । बाँकी १२ मध्ये कुनै बन्द भएका छन् भने कुनै उत्पादन घटाएर बसेका छन् ।

अहिलेकै अवस्था कायम रहेमा र सरकारले कुनै सहयोग नगरेमा २०८० सालसम्म नेपालका धेरैजसो पोल्ट्री व्यवसाय बन्द हुने व्यवसायीहरु बताउँछन् । केही दिन अगाडि महासंघको टोलीले पश्चिम नेपालको नेपालगञ्ज नाकासम्मको स्थलगत भ्रमण गरेको थियो ।

सो क्रममा नेपालगञ्जमा रहेको डीके सप्लायर्स र बर्दघाटको न्यू दाउन्ने एग्रो सप्लायर्समा भारतबाट ल्याएको कुखुराको चल्ला, अण्डा र मासु भेटिएपछि सुरक्षा निकायको सहयोगमा छापा हानेर सिल गरिएको छ । ती सप्लायर्स सञ्चालकलाई पक्राउ गरी हाल प्रहरीले अनुसन्धान गरिरहेको ह्याचरी उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।

केही समयपछि वीरगञ्ज लगायतका क्षेत्रमा स्थलगत अध्ययनका लागि जाने पोखरेलले बताए । नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्छ । त्यसैले सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले बताए ।

भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको व्यवसायीहरु बताउँछन् । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेसा भएको मासु आउने गरेको व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?