+
+

‘हामी द्वन्द्वमा सहभागी थिएनौं तर सजाय भोग्नुपर्‍यो’

बारुदी धरापमा परेर अंगभंग भएका म जस्ता थुप्रै द्वन्द्वपीडित हुनुहुन्छ । हामी न राज्य पक्षमा थियौं न विद्रोही पक्षमा । तैपनि हामीले गल्ती विनाको सजाय भोग्नुपर्‍यो । आज मेरो हातको पञ्जा नै काटिएको छ ।

अनिता चौधरी, घाइते अनिता चौधरी, घाइते
२०७९ पुष २९ गते २०:४७

३० पुस २०६३ को दिन । माघी (थारू समुदायले मनाउने ठूलो पर्व) आउन एकदिन बाँकी थियो । हाम्रो गाउँघरमा माघीलाई नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । माघीको अघिल्लो दिन सुँगुर काटेको हेर्न म भाइ लिएर गाउँ गएकी थिएँ । त्यतिबेला म ७ वर्षकी मात्र थिएँ ।

गाउँमा पुगेपछि बाँसको घारीमा मैले कलम जस्तै देखिने एउटा वस्तु देखें । केटाकेटी भएर होला त्यो के होला भन्ने लाग्यो । बाँसको घारीबाट निकालेर त्यसलाई घरमा ल्याएँ । त्यो कलम जस्तो वस्तुले हातमा लेख्न खोजें तर लेखेन ।

अनि जाडोमा कलमको मसी जमेको होला भनेर तताउन भान्सातिर गएँ । भान्सामा बजै र दाइ आगो ताप्दै हुनुहुन्थ्यो । जमेको मसी तताएपछि लेख्छ कि भनेर आगोमा कलम तताउन थालें । त्यसपछि त कलममा आगो लाग्न सुरु गर्‍यो । मैले हत्तपत्त आगो निभाउन खोजें । तर आगो निभाउन खोज्दा खोज्दै कलम जोेडले पड्कियो । हात एकदमै दुख्यो । त्यसपछि मैले केही थाहै पाइनँ ।

अलि अलि होश आएपछि घरमा मानिसहरू आएको सम्झन्छु । पछि एम्बुलेन्समा मलाई कोहलपुर लगियो । बमले मेरो हात छियाछिया भइसकेको रहेछ । विस्तारै हात सड्दै जान थाल्यो ।

त्यसपछि नेपालगञ्ज लगेर मेरो हातको ‘अप्रेसन’ गरियो । हातमा धेरै नै चोट लागेकाले दाहिने हातको पञ्जा नै काटेर फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो । यसपछि अस्पतालमा मेरो होश खुल्दा दाहिने हातको पञ्जा थिएन । त्यसदिन म खूब रोएकी थिएँ ।

त्यो घटनापछि मेरो जीवनमा अन्धकार छाउँँदै गयो । बमले हातसँगै मेरा खुसी, सपनाहरू पनि खोसिएका थिए । मलाई किन यस्तो भएको होला भनेर सोचिरहन्थें । तर त्यसो हुनुमा मेरो कुनै गल्ती थिएन ।

सबैभन्दा मलाई गाह्रो स्कुल पढ्दा भयो । १० कक्षामा पढ्दासम्म पनि मैले आफ्नो हात लुकाएर बसें । साथीहरूले थाहा पाए भने घृणा गर्छन् कि भनेर कसैलाई भन्न सकिनँ । बमले खाइदिएको मेरो हात कसैले देख्छन् कि भन्ने डर भित्रभित्र भइरहन्थ्यो । यसरी स्कुल पढ्दाका दिन मेरा दिन साह्रै तनावका बीच बिते । कैयौं दिन र रात मैले रोएरै बिताएकी छु ।

सानोमा मलाई म पनि द्वन्द्वपीडित हो भन्ने थाहा थिएन । हुर्कदै गएपछि थाहा पाएँ, म पनि द्वन्द्वपीडित नै रहेछु । अहिले तीन÷चार वर्ष मात्रै भयो होला मैले आफूलाई द्वन्द्वपीडित भनेर चिन्न पाएको । दुःखको कुरा के छ भने म द्वन्द्वपीडित भए पनि कुनै राहत र क्षतिपूर्ति भने पाएकी छैन ।

द्वन्द्वले मेरो जीवन बर्बाद गरिदियो तर यो सरकार मलाई द्वन्द्वपीडित ठान्दैन । अहिलेसम्म मैले द्वन्द्वपीडित भनेर कुनै परिचयपत्र पाएकी छैन । परिचयपत्र नपाएपछि राहत क्षतिपूर्ति पाउने कुरै भएन । अहिले ब्याचलर तेस्रो वर्षमा पढिरहेकी छु । मलाई अहिले पढाइमा समस्या भइरहेको छ । सरकारले मलाई पढाइमा सहयोग गरे मलाई सजिलो हुनेथियो ।

यस्तो घटनामा पर्ने म एक्ली छैन । २०६३ सालमा शान्ति–सम्झौता भएपछि यस्ता घटनामा परेर अंगभंग भएका म जस्ता थुप्रै द्वन्द्वपीडित हुनुहुन्छ । उहाँहरूको अवस्था पनि मेरो जस्तै नराम्रो छ । हामी न राज्य पक्षमा थियौं न विद्रोही पक्षमा । तैपनि हामीले गल्तीविनाको सजाय भोग्नुपर्‍यो । त्यसमा हाम्रो कुनै दोष थिएन ।

विना कुनै कारण अञ्जानमा द्वन्द्वका बेला राखिएको विस्फोटक पदार्थ पड्किएर घाइते भएकाहरूलाई राज्यले हेरेको छैन । अहिलेसम्म द्वन्द्वपीडितसम्म ठानेको छैन । न त जीवन निर्वाह भत्ता दिएको छ न अपाङ्गता भएका अरूलाई दिइने सामाजिक सुरक्षा भत्ता नै दिएको छ ।

जबकि २०६३ सालअघि घाइते भएकाहरूलाई द्वन्द्वपीडित ठानेको छ । शान्ति–सम्झौतापछि बारुदी विस्फोटमा परेका घाइतेलाई द्वन्द्वपीडित नमान्न कसरी मिल्छ ? यो राज्यले हामीलाई ठूलो अन्याय गरेको हैन र ?

आखिर हामी पनि त्यही द्वन्द्वका पीडित हौं । द्वन्द्व भएका बेला होस् या त्यसको पछि घाउ त एउटै हो नि ! राज्यले यो कुरा किन नबुझेको होला ? यस्तो नीतिले हामीलाई पीडा दिएको छ । हामीलाई द्वन्द्वपीडितको सूचीमा नराखेर अन्याय भएको छ । हामीलाई त्यो सूचीमा समावेश गरेर जीवन निर्वाह भत्ता र क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो माग छ ।

(सशस्त्र द्वन्द्वपछि बारुदी विस्फोटमा परेर दायाँ हातको पञ्जा गुमाएकी अनिता चौधरीसँग अनलाइनखबरका आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?