+
+

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते २०:५८

२९ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताए । उनले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गरे । उनले भने, ‘मिलेर देश बनाऔँ ।’ उनले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले विकेन्द्रिकरणको उच्चरुप सङ्घीयता भएको बताए । उनले यसबारे भएका नकारात्मक टिप्पणीहरुको सबैले मिलेर जवाफ दिन आग्रह गरे । उनले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्क्त गर्दै प्रदेश सरकार शान्ति सुरक्षा, प्रदेशको कोष वृद्धि, प्रदेश संरचनाको स्थायित्वमा विशेष ध्यान दिने बताए । उनले भने, ‘विगतमा समृद्धिको यात्रामा भएका सबै कामको निरन्तरता दिने र प्रदेशको नाम सकेसम्म सहमति र सहकार्यबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउँछु ।’

सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त संभावन, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गरे । उनले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्णसमर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुन आग्रह गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने बताए । उनले कांग्रेस प्रतिपक्षमा रहेपनि लोकतन्त्रको मूल्य र मान्यतमा रही संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्ने धारणा राखे ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने भन्दै सरकारको स्थायित्वको कामना गरे । उनले सरकारको नीति तथा कार्यक्रम आइनसकेकाले समर्थन गर्न नसक्ने भन्दै प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । प्रदेशसभको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?