+
+

उपप्रधानमन्त्री लामिछानेले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मी

आर्यन धिमाल आर्यन धिमाल
२०७९ पुष ३० गते १४:४९

३० पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गरेका थिए ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरेका छन् । माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

अधिकारकर्मीहरुले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् । ‘गृहमन्त्रीज्यूबाट चिसोमा नबसिदिनुहोस्, माग सम्बोधन गर्न तयार छौँ, कुनै त्रुटि छ भने भन्नुहोस् शङ्का लागेको छ भने पनि जानकारी दिनुहोस् हामी फेरि हेर्छौं, अनुसन्धान गर्छौं’, भेटघाटमा सहभागी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘कमजोरी भए त्यो पनि भन्नुहोस्, गल्ती गर्नेलाई कारबाही गर्न तयार छौँ भन्ने कुराहरू भयो ।’

उक्त भेटमा आन्दोलनरत रुवी खानलगायतका प्रतिनिधिहरूले उक्त घटनाको सन्दर्भमा न्यायिक जाँचबुझ आयोग गठन गरे मात्रै आन्दोलन स्थगित गर्ने बताएका थिए । यसअघि गृहमन्त्री लामिछानेले आन्दोरनरत पक्षलाई आन्दोलन छाडेर अनुसन्धानमा सघाउन अनुरोध गरेका थिए ।

सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विशेष टोली परिचालन गरी घटनाबारे छानबिन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि स्थगित गर्न उपप्रधानमन्त्री लामिछानेले आग्रह गरेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?