+
+

नारायणी नदीमा ‘मिनी पानी जहाज’ भोलिदेखि सञ्चालन हुने

सुवास पण्डित सुवास पण्डित
२०७९ पुष ३० गते २०:१५

३० पुस चितवन । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो ।  तर कोरोना महामारीका कारणले समयमा क्रुजको निर्माण सकेर सञ्चालन गर्न नसकिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन् । क्रुजसिपमा ३ तला छ ।

प्रबन्ध निर्देशक कँडेलका अनुसार एक घण्टासम्म नारायणी नदीमा क्रुजमा यात्रुलाई सयर गराउने योजना छ । क्रुज चढेको टिकट ७ सय तोकिएको छ ।

ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन् ।

क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्रहरु सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ ।

पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन गरिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए । डिजाइन परिवर्तन गर्दा एक करोड लागत र वजन १० टन थप भएको कम्पनीको भनाइ छ ।

हरेक यात्रुको १० लाख बराबरको बीमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । क्रुजसिप निर्माणमा १५ करोड भन्दा बढी खर्च भएको छ ।

क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । तर यतिबेला पानीको सतह निक कम भएकाले केही किलोमिटर मात्र चलाइने छ ।

क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्नेछ । यहाँ बैठक पनि गर्न मिल्ने छ ।

दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिपमा भारतको केरलाका प्राबिधिकले तयार गरेका हुन् । क्रु सदस्य १५ जना रहनेछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?