+
+

पर्सामा माघ ९ र १० गते बालबालिकाका लागि फाइजर खोप अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते २०:०८

३ माघ, वीरगञ्ज । पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ ।

जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पालिकाका विद्यालयहरुमा खोप केन्द्र राखी खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

‘जिल्लामा दोस्रो मात्रा खोप लिन बाँकी १८ हजार ५ सय बालबालिका छन्, यसबीचमा ४ वर्ष पुरा गरेर पाँच लागेका ४ हजार जति बालबालिका थपिएको अनुमान छ ।’ उनले भने ‘२२ हजार डोज फाइजर खोप हामीसँग छ । त्यसलाई १४ वटै पालिकामा वितरण गर्छौ ।’

पर्साको कालिकामाई, पकहाँमैनपुर, जिराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका लगायत कतिपय पालिकामा खोप बढी बालबालिकामा लागिसकेको भएपनि सिस्टममा अपडेट नगर्दा समस्या भईरहेको उनको भनाई छ।

‘कतिपय पालिकामा रेडक्रस, बागमति सेवा समाज, बिजामले पनि खोप अभियान सञ्चालन गरेको छ ।’ जनस्वास्थ्य अधिकृत ठाकुरले भने ‘ तर अनलाईनबाट सिस्टममा ईन्ट्री गरिदिँदैनन् ।’

पर्सामा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ९९ हजार ८ सय २९ जना बालबालिका रहेको अनुमान छ । जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कुनैपनि बालबालिका खोप लगाउनबाट वञ्चित हुन नपरोस भन्नेमा स्वास्थ्यकर्मी सचेत हुनुपर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साहले समयमै पालिकामा आवश्यक खोप पठाउन कार्यालय तयारी अवस्थामा रहेको बताउँदै स्वास्थ्य कर्मी परिचालनको योजना बनाउन पालिकाका स्वास्थ्य संयोजकहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?