+
+

चर्चित दक्षिण कोरियाली हास्य अभिनेता नेपालमा, पोखरा पुगेर गुरुङ पोशाकमा सजिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ११:३८

काठमाडौं । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान पर्यटन प्रवर्द्धनको लागि नेपाल भ्रमणमा आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत रहेका उनी कोरियाली कलाकारको टोलीसहित काठमाडौं आइपुगेका हुन् ।

पर्यटन बोर्डका अधिकारीले उनलाई स्वागत गर्दै सुखद् नेपाल घुमघामको कामना समेत गरेका थिए । कोरियाली फिल्म र टेलिभिजन सिरिजमा हास्य कलाकारको रुपमा समेत चर्चित उनले पर्यटकीय नगरी पोखरा र अन्नपूर्ण क्षेत्र समेत भ्रमण गर्ने पर्यटन बोर्डले जनाएको छ ।

उनको नेपाल भ्रमणको उद्देश्य दक्षिण कोरियाली पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्नु रहेको बोर्डले जनाएको छ । दक्षिण कोरियाली टीभी सिरिज ‘ग्याग कन्सर्ट’मा उनले गरेको अभिनय स्ल्यापस्टिक, एक्रोबेटिक स्टन्टको रुपमा चर्चित छ । ‘ल अफ द जंगल’मा उनले बाँच्न सक्ने सीप सिकाएका छन् जुन दर्शकमाझ प्रख्यात छ ।

लास्ट प्रेजेन्ट, द म्याजिक पुलिस, बारबारी झाङ, माइ वाइफ इज ग्याङस्टर ३, थ्री किम्स, ब्याटफिल्ड हिरोज, सुपरमंकी रिटन्र्स उनका चर्चित फिल्महरु हुन् । सन् २०१३ मा प्रतिष्ठित फोब्र्स म्यागजिनले उनलाई दक्षिण कोरियाका शक्तिशाली सेलिब्रिटीको ३६ औं स्थानमा राखेको थियो ।

अभिनेता किम पोखरामा गुरुङ सांस्कृतिक पोशाकमा सजिएको तस्वीर सार्वजनिक भएको छ । आइतबार काठमाडौंको हायात होटलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता अनमोल केसी लगायतसँग उनले भेटेका छन् ।

पर्यटन बोर्डले यो दशकलाई भ्रमण दशकको रुपमा मनाइरहेको छ, जसअनुसार कोरोना महामारीपछि नेपालको पर्यटन लयमा फर्कन लागेको सन्देशको रुपमा उसले अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिएको छ । जसअनुसार पहिलो सेलिब्रिटीको रुपमा चर्चित टर्किस अभिनेता अल्टन डुज्याटन गत वैशाख २० गते काठमाडौंमा आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?