+
+

३८ वर्षपछि भुवनले खुलाए ‘कुसुमे रुमाल’ र दीपा झाबारेका रोचक किस्सा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १३:५७

काठमाडौं । ३८ वर्षपछि अभिनेता भुवन केसीले आफ्नो सुपरहिट फिल्म ‘कुसुमे रुमाल’लाई लिएर रोचक खुलासा गरेका छन् । सन् १९८५ मा रिलिज भएको यो फिल्मको नायिकामा तृप्ति नाड्कर नभएर सुरुमा दीपा नारायण झाले साइन गरिसकेको उनले बताए ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएकी नेपाली तथा बलिउड पाश्र्वगायिका समेत रहेकी झाकै सामुन्ने भुवनले यस्तो खुलासा गरेका हुन् । ‘मेरो झण्डै हिरोइन हुन् दीपा । दीपा र म कुसुमे रुमालको हिरो हिरोइन थियौं । यो नयाँ कुरा भन्दैछु,’ भुवनले भने ।

उनले अगाडि भने, ‘तृप्तिसँगको भेटपछि दीपाले नायिका बन्ने सोचबाट पछि हटेपछि तृप्तिले मौका पाएकी हुन् । नायक नायिकाको रुपमा साइन गरेका थियौं पहिला । फोटोसुट पनि प्रमोद प्रधानले गरेका थिए । हिरोइन भएको भए पनि सफल हुन्थिन् उनी ।’

त्यतिबेला दीपा एयर इण्डियाकी एयरहोस्टेस थिइन् । साथै, दीपा कुसुमे रुमालको निर्मात्री समेत भएको खुलासा भुवनले गरे । आर्थिक अभावमा निर्माताले फिल्मको निर्माण अगाडि बढाउन नसकेको बेला दुःख देखेर आफूले लगानी गरेको समेत दीपाले बताइन् । ‘त्यो फिल्मको फस्ट प्रोड्युसर पनि दीपा नै थिइन्,’ भुवनले भने । दीपाले पनि भनिन्, ‘उहाँहरु अड्किनुभएको थियो, दुःख लागेर मैले आर्थिक सहयोग गरेकी हुँ ।’

केही साताको नेपाल भ्रमणका लागि दीपा झा काठमाडौं आइपुगेकी छन् । पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि उनी आएकी हुन् । चलचित्र विकास बोर्ड अन्तर्गतको कल्याणकारी कोषका लागि उनले पाँच लाखभन्दा बढी रकम सहयोग गरेकी छन् । चर्चित गायक उदितनारायणकी पत्नी समेत रहेकी दीपाले थुप्रै नेपाली गीत गाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?