+
+

फिल्म ‘सरी मम’ भोलिदेखि काठमाडौंमा, दर्शक फकाउन निर्माताले ल्याए अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १६:४७

काठमाडौं । लागुऔषध दुर्व्यसनविरुद्धको कथावस्तुमा निर्माण भएको फिल्म ‘सरी मम’ भोलि (विहीबार)देखि काठमाडौं उपत्यकामा रिलिज हुने भएको छ । फिल्म हेर्न टिकट काटेका दर्शकले आकर्षक अफर प्राप्त गर्न सकिने निर्माताले जनाएका छन् ।

निर्माण कम्पनी एनएफआई क्रियसनले आमा र छोराबीचको प्रेमलाई चित्रण गर्ने गरी टिकटक बनाउँदा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । सरीमम ह्यासट्याग उल्लेख गरेर टिकटक भिडियो बनाउने उत्कृष्टलाई पुरस्कार दिइने उल्लेख छ । निर्माता विनोद लामाले माघ महिनाभरलाई अफर लागु हुने बताए ।

दुईवटा टिकट किन्दा दर्शकले एक टिकट सित्तैंमा पाउने पनि निर्माण टिमले बताएको छ । हलसँगको सहकार्यमा यो अफर ल्याइएको निर्देशक नवीन बोगटीले जानकारी दिए । बसुन्धरामा रहेको चिरायु अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

तन्नेरी दर्शकलक्षित यो फिल्मले लागूऔषध विरुद्धको सन्देश दिन्छ । पहिलो चरणमा उपत्यका अन्तर्गतका हलमा मात्रै फिल्म लाग्ने र त्यसपछि प्रदेशलक्षित गरेर सातै प्रदेशमा फिल्मलाई रिलिज गर्ने निर्माता लामाले जानकारी दिए । ‘हाम्रो फिल्म सामाजिक सन्देशमूलक फिल्म हो, बालबच्चा र किशोर भएका हरेक परिवारका सदस्यले यो फिल्म हेर्नैपर्ने अभियान लिएर देशव्यापी सन्देश पुर्‍याउने उद्देश्य छ,’ उनले भने ।

फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतको अभिनय छ । फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?