+
+

मन्त्रिपरिषद् विस्तारमा खगराजको विलम्ब : मन्त्री र मन्त्रालय टुंग्याउनै सकस

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ ५ गते ८:००

४ माघ, पोखरा । २५ पुसमा गण्डकीको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले आफ्नै पार्टी एमालेका सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाए ।

२९ पुसमा विश्वासको मत पनि लिएका उनले अहिलेसम्म मन्त्रिपरिषदको बिस्तारको छाँटकाँट देखाएका छैनन् । ‘केही दिनभित्रै हुन्छ, हतार के छ र ? सबैले थाहा पाइहाल्छन् नि ! ‘ मुख्यमन्त्री अधिकारी भन्छन् ।

मुख्यमन्त्री अधिकारीले मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषदमा भागबन्डा मिलाउने तयारी गरेका छन् ।

एमालेका एक प्रदेश सभा सदस्यका अनुसार मन्त्रालयको संख्या १२ बाट ९ वटासम्ममा झार्ने तयारी छ ।

प्रदेशमा धेरै मन्त्रालय बनाएर खर्च मात्र बढाएको भन्दै आलोचना भइरहेका बेला उनले मन्त्रालय घटाएर सहानुभूति लिन खोजेका छन् । ‘केन्द्रबाटै पनि मन्त्रालय घटाउन निर्देशन आएको छ । तयारीअनुसार ९ मन्त्रालय रहन सक्छ,’ एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘नत्र भागबण्डा मिलाउनै पनि सकस छ ।’

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि मन्त्रालयको संख्या ९ नै हुन सक्ने बताउँछन् । ‘दुई अंकबाट झार्ने नै कुरा भइरहेको छ तर ९ भन्दा तल नहुन सक्छ,’ चुमानले भने ।

मन्त्रालयको संख्या टुंगिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री अधिकारीको तयारी छ । एमालेका एक नेताका अनुसार १० माघभित्र मन्त्रिपरिषद् विस्तार हुनेछ ।

९ मन्त्रालय कायम राख्दा एमालेले पाँच, माओवादीले तीन र राप्रपाले एक मन्त्रालय लिन सक्ने एमालेका प्रदेशसभा सदस्य गोविन्द नेपाली बताउँछन् । तर माओवादीको चिहृनबाट चुनाव जितेका गोरखाका फणिन्द्र देवकोटाले आफ्नै दल नेपाल समाजवादी पार्टीको कोटाबाट मन्त्री हुन खोजिरहेका छन् ।

‘माओवादीले ३ मन्त्रालय पाउँदा पनि उनको दाबी छ’, माओवादीका एक सांसदले भने, ‘होइन भने माओवादीले ३ लिने र नेसपाका तर्फबाट छुट्टै मन्त्रालय दाबी पनि भइरहेको छ ।’ माओवादीबाट संसदीय दलका नेता चुमान मन्त्री भइसकेकाले अब दुई जना मात्र मन्त्री बन्नेछन् । जसमा सुशीला सिम्खडा र कुसुम बुढामगरमध्ये एक जना र म्याग्दीका सांसद रेशमबहादुर जुग्जाली मन्त्री हुने पक्काजस्तै छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेबाटै मन्त्रीको टुंगो लगाउन सकस छ । यसअघि गण्डकी प्रदेश र केन्द्रमा समेत सरकारको नेतृत्व गरिरहेकै दलले अर्थ मन्त्रालय नलिँदा मनमुटाव बढेको भन्दै यसपटक अर्थ मन्त्रालय एमालेमै राख्ने योजनामा मुख्यमन्त्री अधिकराी छन् ।

एमालेबाट दोस्रो पटक प्रदेश सभामा चुनाव जित्ने एकमात्र सांसद रोशन गाहामगरले अर्थ मन्त्रालयमा दाबी गरिरहेका छन् । तर, उनलाई खगराजले विश्वासको मत लिनुअघि पाटीं संसदीय दलको प्रमुख समेतक बनाएका छन् । गाहाले भने आफू मन्त्री हुने दाबी गर्दै आइरहेका छन् ।

बागलुङबाट निर्वाचित सांसद लिलबहादुर थापाले पनि मन्त्री दाबी गरिरहेका छन् । नेकपा विभाजनमा माओवादीबाट एमालेमै बसेका थापा पोलिटब्यूरो सदस्य हुन् ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाका राजनीतिक सल्लाहकार र एमाले केन्द्रीय सदस्यसमेत रहेका गोविन्द नेपालीले पनि मन्त्रीको दाबी गरिरहेका छन् । तर, उनलाई संसदीय दलको प्रमुख सचेतक बनाएर रोशनलाई मन्त्री बनाउनेबारे छलफल भइरहेको एक एमाले नेताले बताए ।

एमाले केन्द्रीय लेखा समिति सदस्य तथा नवलपुरबाट प्रत्यक्ष चुनाव जितेकी पदमा जिसीलाई मन्त्री बनाउन मुख्यमन्त्री खगराजलाई दबाव रहेको एक नेताले बताए । कास्कीबाट मुख्यमन्त्री बाहेक अर्का एक जना मन्त्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।

अशोक राईहरुसँगै एमाले छाडेका र जनता समाजवादी पार्टी हुँदै एमाले फर्किएर चुनाव जितेका गणेशमान गुरुङ पनि मन्त्रीको आकांक्षी छन् । कास्की-१ (२) का सांसद वेदबहादुर गुरुङ पनि मन्त्री हुन सक्ने चर्चा कास्कीमा छ । तर, मुख्यमन्त्री नै त्यही क्षेत्रको भएकाले उनी नहुने एमालेकै नेताहरु बताउँछन् ।

विश्वासको मत लिनुअघि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका खगराज फेरि काठमाडौं पुगेर मन्त्रालय टुंग्याउने चर्चा नेताहरुबीच थियो । तर, खगराज भन्छन्, ‘कसलाई मन्त्री बनाउने भनेर टुंग्याउनकै लागि प्रधानमन्त्री र अध्यक्षलाई भेट्न जानुपर्दैन, त्यो यहीँबाट हुन्छ ।’

२ सिट जितेको राप्रपाबाट एक जना मन्त्री भइसकेको भए पनि अर्को पनि पाउनुपर्ने दाबी गरेको छ । तर, राप्रपाले एउटामात्रै मन्त्री पाउने नेताहरुको भनाइ छ । मन्त्रालय घटाउने तर प्रदेश सभा संसदीय समितिलाई ४ बाट ६ सम्म पुर्‍याउनेबारे पनि छलफल भइरहेको एमालेका एक सांसदले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?