+
+

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १२:४३

काठमाडौं । शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् ।

फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा लेखिरहेका छन् । गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो नभईसके पनि फिल्ममा प्रदीप र आर्यन रहने पक्का भइसकेको छ । स्क्रिप्ट लेखन सकिएपछि २०८१ सालको कात्तिकदेखि फिल्म छायांकन गर्ने योजना छ ।

यसै साता अनलाइनखबरसँग कुरा गर्दै अभिनेता खड्काले निर्देशक राउतको फिल्ममा आफू हुने बताएका थिए । गत शनिबार धुलिखेल रिसोर्टमा पुगेका राउत र सिग्देलले यो फिल्मलाई लिएर छलफल समेत गरेका थिए । दलाल, देवयानी र शहीद फिल्ममा अभिनय गरेकी विमलाले फिल्म निर्माण गर्न लागेकी हुन् ।

फिल्ममा गंगालालले राणाशासनविरुद्ध गरेको विद्रोह गरेदेखि उनलाई २१ वर्षको कलिलो उमेरमा गोली हानेर मृत्युदण्ड दिएकोसम्मको घटनाक्रमलाई चित्रण गरिनेछ । यसलाई बायोपिक नभएर पल्टिकल ड्रामा जनरामा राखिएको छ । निर्देशक राउतले गंगालालको जीवनमाथिको यो फिल्मअघि एक लभस्टोरी फिल्म निर्देशन गर्ने तयारी गरेका छन् ।

शहीद गंगालाल श्रेष्ठ

गंगालाल श्रेष्ठ (विक्रम सम्वत् १९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए ।

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उनी काठमाडौं फर्किए । वि.सं. १९९४मा उनले दरबार हाई स्कुलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्रि-चन्द्र कलेजमा आईएस्सी पढ्दै थिए ।

गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलाप हुन्थे । राणा सरकारले गंगालालाई शुक्रराजको सभामा (वि.सं. १९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासनविरुद्ध बोले बापत पक्राउ परी छुटे । दशरथ चन्दको संगतबाट प्रजापरिषद्को सदस्यता लिएका उनी राणा शासन विरोधी गतिविधिमा सक्रिय भए ।

प्रजापरिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते उनी पक्राउ परे । उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो । उनकी पत्नीको नाम हसिनादेवी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?