
News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियामा बसोबास गर्ने आर्यन सिग्देलकी भाञ्जी आर्हीले अंग्रेजी गीत 'टक्सिक ट्रुथ' सार्वजनिक गरेकी छन्।
- गीत 'टक्सिक ट्रुथ' आर्ही र म्यागी एल बान्र्सले लेखेका हुन् र फोसिल र नेप्सेकले सङ्गीत तयार पारेका छन्।
- भिडियोमा आर्ही फिचर्ड छिन् र दीपेन्द्र केसीले निर्देशन गरेका छन्, जसमा इन्स्टलेशन आर्ट र भिएफएक्स प्रयोग गरिएको छ।
काठमाडौँ । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् ।
अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् ।
गीतमा डार्क पप, हिपहप र नेपाली/एसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।
‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन् ।
बाल्यकालदेखि नै गीतसङ्गीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । उनले भनिन्, ‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो । मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ । गीतसङ्गीतको यही पक्षले मलाई यो पेशामा अगाडि बढ्न प्रेरित गरेको छ ।’
‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा सुरु गरेकी आर्हीले सङ्गीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् ।
भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेशन आर्टको प्रयोग गरिएको बताए ।
भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका हुन् । भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया 4