+
+

२४ उद्योगलाई भारतबाट ३० हजार मेट्रिकटन गहुँ आयात गर्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १९:१७

५ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मैदा उद्योगहरुले आर्थिक वर्ष २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगहरुलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा विवरण गरिएको केसीले बताइन् । ‘पहिलो चरणमा हामीले २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयात अनुमति दिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छौं,’ सहप्रवक्ता केसीले भनिन्, ‘मैदा उद्योगहरुको गरेको सिफारिसको आधारमा उत्पादन हेरेर कोटा सिफारिस गरिएको हो ।’

मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिकटनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबै भन्दा धेरै मैदा आयातको अनुमति रुपन्देहीको घराना फुड्सले पाएको छ । यो उद्योगले २ हजार ३७५ मेट्रिकटन गहुँ आयातको कोटा पाएको छ । यस्तै सबै भन्दा कम गहुँको कोटा जय श्री फ्लोर मिल्स रुपन्देहीले पाएको मन्त्रालयले जनाएको छ । यो उद्योगले जम्मा ८२ मेट्रिकटन गहुँ आयातको अनुमति पाएको छ ।

बाँकी रहेको २० हजार मेट्रिकटन कोटाको गहुँ आयातका लागि थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा माग भएर आएका सबै उद्योगलाई दामासाही भाग लगाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । आयात अनुमति सिफारिस भएको उद्योगहरुले आगामी चैत दोस्रो सातासम्म ती गहुँ आयात गरिसक्नु पर्ने छ ।

रुस युक्रेन युद्धका कारण विश्व आपूर्ति शृखंला बिग्रिए पछि गत जेठमा सम्भावित भोकमरीको आंकलन गर्दै भारतले खाद्य वस्तु निर्यातमा रोक लगाउन सुरु गरेको थियो ।

सोहीअनुसार भारतले जेठमा गहुँ निर्यातमा रोक लगाएको थियो । गहुँको आयात रोकिए पछि नेपाली मैदा उद्योगहरु मारमा परेपछि सरकारले भारतलाई गहुँको आयात खोल्न आग्रह गरेपछि भारतले निश्चित परिमाणमा गहुँको कोटा जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?