+
+

कांग्रेसलाई अर्को झट्का

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ माघ ५ गते २०:२५

५ माघ, काठमाडौं । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखमा प्रतिस्पर्धा गर्‍यौं । सँगसँगै प्रतिनिधिसभा भित्र प्रतिपक्षी बेञ्च सशक्त गर्दै लगेका छौं ।’ लेखककै भनाइलाई विश्वास गर्ने हो भने केही दल आफ्नो पक्षमा खुल्नुलाई कांग्रेसले उपलब्धी ठानेको छ ।

प्रमुख सचेतक लेखकले भनेझैं आज संसदमा कांग्रेसको साथमा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गरी चार पार्टी एकै ठाउँ उभिए । उनले यसलाई चुनावअघिकै परिदृश्यसँग दाँजिहेरे । ‘करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं,’ उनले भने ।

चुनाव अगाडि यी चार दल र माओवादी केन्द्र एउटै गठबन्धनमा थिए । तर, चुनावपछि फेरिएको समीकरणबाट घिमिरे सभामुख भए । कांग्रेसबाट इश्वरी न्यौपाने सभामुखका उम्मेदवार थिइन् । तर, न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत नै हुन पाएन ।

बिहीबार भएको मतदानमा घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुँदा विपक्षमा १०० मत प¥यो । २७५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित हुन बहुमत अर्थात, १३८ मत भए पुग्थ्यो । सके चुनाव जित्ने नसके मतान्तर कम गर्ने कांग्रेसको प्रयास थियो ।

सभामुखको चुनाव जित्न कांग्रेसलाई सत्तारुढ दल माओवादी केन्द्रको साथ आवश्यक पर्दथ्यो । तर, प्रधानमन्त्रीमा विश्वासको मत दिएका कारण माओवादी केन्द्रले सभामुखमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्ने कतिपय कांग्रेस कार्यकर्ताको चाहना बुधबार नै सकिएको थियो ।

सभामुखको उम्मेदवारी दर्तामा माओवादीले एमालेका घिमिरेलाई समर्थन गरेको थियो । तर, सभामुखको उम्मेदवारी दर्ताका क्रममा कतै नखुलेको जसपाले पनि बिहीबार कांग्रेसलाई साथ दिएन ।

बिहीबार भएको मतदानमा घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

बाँकी रहेका कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले घिमिरेको विपक्ष (न्यौपानेको पक्ष) मा मतदान गरे । अर्थात, सभामुखमा कम मतान्तर काम गर्ने कांग्रेसको प्रयास पनि असफल भयो । कांग्रेस जसपा र केही स्वतन्त्र सांसदको साथ लिने प्रयासमा थियो तर, सकेन । बुधबार सभामुखको उम्मेदवारी दर्ता गरिसकेपछि पनि कांग्रेस संसदीय दलको कार्यालमा जसपाका नेताहरु पुगेका थिए । त्यसअनुसारको परिणाम बिहीबार भएको सभामुखको निर्वाचनमा देखा परेन ।

अर्थात, चुनाव अगाडिको कांग्रेस नेतृत्वको गठबन्धन टुट्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस कार्यपालिका र व्यवस्थापिकाको नेतृत्व लिनबाट चुकेको छ । प्रधानमन्त्री र सभामुख दुबै पद लिन संसदको बहुमत भए पुग्थ्यो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस कार्यपालिका र व्यवस्थापिकाको नेतृत्व लिनबाट चुकेको छ । प्रधानमन्त्री र सभामुख दुवै पद लिन संसदको बहुमत भए पुग्थ्यो । दुबै पदमा निर्वाचित भइसकेपछि हटाउन दुई तिहाइ बहुमत आवश्यक छ ।

दुबै पदमा निर्वाचित भइसकेपछि हटाउन दुई तिहाइ बहुमत आवश्यक छ । कांग्रेसले चाहेर अब यी दुबै पदमा दुई तिहाइ पुर्‍याएर अगाडि बढ्न गाह्रो छ । संसदमा १२ वटा दलको प्रतिनिधित्व छ । त्यसमध्ये प्रधानमन्त्री र सभामुख लिने दल एमाले (७९) र माओवादी केन्द्र (३२) एकातिर हुँदा अर्कोतिर दुई तिर दुई तिहाइ बहुमत पुग्दैन ।

तथापि, सभामुखको निर्वाचनमा गठबन्धन टुटाउने प्रयासमा केही सफलता मिलेको कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन् । उनका अनुसार वर्तमान सत्ता गठबन्धन टुटाउने मिसन सभामुखमा थियो जो पूरा भएको छ । नेता भण्डारी भन्छन्, ‘आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ ।’

उस्तै अभिव्यक्ति कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको पनि छ । जनताले सरकार र शितल निवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको उनको भनाइ छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभामुखको निर्वाचनमा सोचे अनुसारको परिणाम हासिल गर्न नसकेको स्वीकार गर्छन् । तर, अबको मिसन राष्ट्रपति भएको र राष्ट्रपतिको चुनावमा मिसन पुरा हुने उनको दाबी छ । नेता पौडेल भन्छन्, ‘सभामुखमा यस्तै भयो । राष्ट्रपतिको बेला आएको छैन ।’

वरिष्ठ नेता पौडेल सभामुखको निर्वाचन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार दुई नेताबीच आधा घन्टा संवाद भएको थियो । पौडेल स्वयं राष्ट्रपति पदका आकांक्षी छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?