+
+

जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

धनुषामा दुईसहित पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १४:०५
जनकपुरस्थित मृतकको घर र भारतमा फेला परेको शव ।

८ माघ, जनकपुरधाम । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णुको हत्या भएको हो ।

आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव फेला परेको छ । दुईसाता अघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।

गत पुस २७ गते एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए ।

तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।

आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

‘अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले मात्र सुनेर हामीलाई समयमा जानकारी दिएनन् । त्यसकारण दुर्भाग्यवश हामीले बचाउन सकेनौं’, एसपी खड्काले भने ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

‘शव कानुनी प्रक्रिया पुर्याएर ल्याउन यहाँबाट प्रहरीटोली उता पुगेको छ । को को घटनामा संलग्न छन् भन्ने डिटेल खुलिसकेको छ । पाँचजना पक्राउ परिसकेका छन्’ एसपी खड्काले अनलाइनखबरसँग भने ‘चारजना फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?