+
+

‘यस्तो पनि हिरो’ भनेर खिसिट्युरी गर्नेलाई जितुको जवाफ : फिल्म हेरेर मात्र भन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १८:१६

काठमाडौं । ‘यस्तो पनि हिरो हुन्छ ?’ अभिनेता जितु नेपाललाई यतिबेला सामाजिक सञ्जालमा यो प्रश्नले खेदो खनिरहेको छ । हरेक पोस्ट र अन्तर्वार्तामा उनले यो प्रश्नको सामना गरिरहेका छन् । जितु लिड हिरो भएर बनेको कमेडी र सोसल ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा उनले आफूलाई खिसिट्युरी गर्नेलाई जवाफ दिए ।

उनले भने, ‘युट्युबमा यस्तो पनि हिरो भनेर भन्नुहुन्छ । यस्तो भन्नुभन्दा पहिले फिल्म हेरेर मात्र भन्नुस् ।’ फिल्म नहेरिकनै यस्तो उस्तो भनेर नभन्न उनले दर्शकलाई आग्रह गरे । ‘छक्कापञ्जा’ समूहबाट बाहिरिएपछि जितुले पहिलोपटक ‘ह्यारीकी प्यारी’मा सोलो हिरो भएर काम गरेका छन् । ‘छक्कापञ्जा’ श्रृंखलामा उनी सहायक भूमिकामा थिए ।

आफू होचो भएको कारण फिल्मको काममा कुनै असर नपुगेको उनले बताए । ‘एकदमै इमोसनल सिनमा केहीबेर गाह्रो भयो । हाइट यताउता भन्ने महसुस भएन । फिल्ममा म होचो र साम्राज्ञी अग्लो नै देखिनुपथ्र्यो । यसले गर्दा मलाई त्यस्तो केही फिल भएन । तर फिल्म नै नहेरिकन हाइट नभएको मान्छे पनि हिरो भनेर भन्नुभएन । फिल्म हेरेर मात्र जवाफ दिनुहोला,’ उनले भने ।

लिड हिरोमा आफूलाई कास्ट गर्दा ठूलै जिम्मेवारी भएको समेत उनले बताए । ‘सुरुमा म पनि हिरो हुन्छु र भन्ने लागेको थियो । कथा नै त्यस्तै भएपछि मलाई लिड रोल दिइयो । त्यसपछि जिम्मेवारीबोध भयो,’ उनी भन्छन्, ‘आगामी फिल्ममा पनि हिरोकै रुपमा काम गर्नेछु । हिरो भएको मान्छेले साइडरोल गर्न मिलेन । प्रधानमन्त्री भएको मान्छे मन्त्री हुने कुरा भएन ।’

‘ह्यारीकी प्यारी’ भिन्न खालको सिचुएसनल कमेडी भएको जितुको भनाइ छ । ‘यसमा यसमा मलाई कमेडी बनाइएको छैन । यो फरक खालको कमेडी छ । हामीले नर्मल्ली फिल्म हेर्दा पनि मान्छेलाई हँसाउँछ । सिचुएसनले मान्छेलाई हँसाएको छ । कमेडीमा फरक ट्रेण्ड ल्याउँछ कि । हामीले हँसायौं भन्ने थाहा छैन तर दर्शकलाई हँसाउँछ,’ उनी सुनिए । छक्कापञ्जाले निर्माण गरेको आफ्नो इमेजलाई मेटेर नयाँ स्थापना गर्नु चुनौतीपूर्ण भएको उनले बताए ।

यसबाहेक जितुको मुन्द्रेको कमेडी शो प्रसारण तयारीमा छ भने उनी दिनेश डीसीसँग मिलेर फिल्म निर्माणको तयारीमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?