+
+

रात्रिकालीन टेबल टेनिस : पाटनमा फर्किएको विरासत

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ ९ गते ७:५१

९ माघ, काठमाडौं । सांस्कृतिक परम्पराको निरन्तरतामा पाटन देशका अन्य क्षेत्रको तुलनामा अग्रणी छ । समुदायस्तरबाट हुने गरेका सकारात्मक प्रयासको सूचीमा अहिले थपिएको छ– रात्रिकालीन टेबल टेनिस ।

पाँच दशकअघिदेखि पाटनका बहाः (चोक)हरुमा हुने रात्रिकालीन टीटीलाई संस्कृतिका रुपमा विकास गर्ने ललितपुर जिल्ला टेबल टेनिस संघको प्रयासमा स्थानीय तह र समुदायले साथ दिएका छन् ।

ओलम्पिक मान्यताप्राप्त खेल विधा टेबल टेनिस इण्डोर खेल हो । बास्केटबल र फुटसलको लोकप्रियता बढ्नुअघि विद्यालय र क्याम्पसमा टेबल टेनिस सबैभन्दा चर्चित खेलविधा हुने गरेको थियो । अहिले पाटनले टेबल टेनिसलाई आफ्नो मौलिक संस्कृतिको हिस्सा बनाउने प्रयास गरिरहेको छ ।

ललितपुर महानगरपालिकाको कुनै खुला स्थानमा टेन्ट टाँगेर राथिको समयमा टेबल टेनिस प्रतियोगिता आयोजना हुन थालेको चार वर्ष भएको छ । ललितपुर मेयर कप नाम दिइएको यो प्रतियोगितामा उमेर समूह, राष्ट्रिय खेलाडीदेखि भेट्रान्ससम्मका विधा समावेश गरिएका छन् । १२ नम्बर वडामा आयोजना भएको चौथो संस्करण गत हप्ता सम्पन्न भएको छ ।

२०३० को दशकदेखि पाटनमा रात्रिकालीन टेबल टेनिस प्रतियोगिता सुरु भएको सिनियर खेलाडीहरु बताउँछन् । त्यो समयमा हरेक टोलमा सिमेन्टका हरिया बोर्डहरु हुन्थे । ब्याट र बलका लागि आर्थिक भार नपर्ने भएकाले पनि धेरैको आकर्षण टेबल टेनिसमा थियो । पाटनका सुन्धारा, मापाल, कुटीसौगल, पुल्चोक, त्यागलमा पालैपालो हरेक वर्ष टेबल टेनिस प्रतियोगिता आयोजना हुने गरेको थियो ।

‘हाम्रो समयमा मनोरन्जनका अरु साधनहरु थिएन । प्रतियोगिता भएको समयमा साँझ परेपछि मान्छेहरु खेल हेर्न भेला हुन्थे । ४/५ सय मान्छेहरु खेल हेर्न आउने । होहल्ला गर्ने । रमाइलो छुट्टै थियो,’ २०३९ सालमा मापालमा आयोजित रात्रिकालीन प्रतियोगिताका विजेता पन्नाकाजी शाक्यले स्मरण गरे ।

पन्नाकाजी आफ्नो समयमा पाटनका स्टार खेलाडी हुन् । रात्रिकालीन प्रतियोगितामा नियमित सहभागी हुने र उपाधि जित्ने उनलाई देखेर धेरै युवाहरु प्रेरित भएका छन् । पन्नाकाजीले भलै राष्ट्रिय टिमबाट खेलेनन् तर उनको खेल हेरेर उत्साहित हुने राजेन्द्र कपाली, रविन्द्र शाक्यहरु नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुगे ।

झण्डै पाँच दशक अगाडिको पाटनको टेबल टेनिस माहोललाई फर्काउन ललितपुर जिल्ला टीटी संघको प्रयासका लागि पन्नाकाजी खुसी व्यक्त गर्छन् । संघका पूर्व सहसचिवसमेत रहेका उनले भने, ‘पाटनमा टीटीको त्यो माहोल फर्काउनका लागि मेयर कप सुरु भएको हो । टीटी खेलको माहोल रंगशालापछि सबैभन्दा धेरै कतै थियो भने त्यो पाटनमा मात्र हो । पाटनको मापाल, सुन्धारा र नागबहाल त सबैभन्दा धेरै गतिविधि हुने ठाउँ हो ।’

चौथो संस्करणमा यसपल्ट भेट्रान्सतर्फ ६० वर्षमाथि उमेरसमूहमा १९ नम्बर वडाका जगदीश्वरप्रसाद जोशीले स्वर्ण जिते । उनी जिल्ला टीटी संघका उपाध्यक्षसमेत हुन् । टेबल टेनिस खेलमा बालबालिकालाई हौसला बढाउन आफूले खेलेको उनले बताए ।

मोबाइल र टेलिभिजनको सुविधाले बच्चाहरुमा सामाजिक समस्या देखिन थालेको छ । उनीहरु घरबाहिर निस्कन नरुचाउने र खेल गतिविधिमा सहभागी नहुँदा समुदायमा दीर्घकालीन असर पर्नसक्ने जोखिम सोचेर प्रतियोगिता आयोजना भएको जोशीको भनाइ छ ।

‘सुरुमा बच्चाहरुलाई घरबाट निकाल्नै गाह्रो हुन्छ । निकालिसकेपछि र खेल्न सिकाएपछि उनीहरु घर जानै मान्दैनन् । सकेसम्म बच्चाहरुलाई मोटिभेट गर्नका लागि खेलिरहेका छौं,’ उनले भने, ‘हाम्रो जोश जाँगर देखेपछि उनीहरु पनि खेल्न उत्सुक हुन्छन् । अहिलेका बच्चाहरुलाई जसरी भए पनि घरबाट बाहिर निकाल्नुपर्ने भएको छ ।’

संस्कृतिको निरन्तरता

पाँच दशकअघि टोलका एउटा सिमेन्टेट बोर्डमा आफूआफू मिलेर खेल्दै जाँदा टेबल टेनिसले प्रतियोगिताको स्वरुप लिएको हो । यसले पाटनका भित्री टोलको पहिचानमात्र भएन खेलाडी उत्पादन, समुदायको रहनसहन, खानपानको प्रचार तथा एउटै शहरका टोलबीच भाइचाराको सम्बन्ध पनि बढ्दै जान थाल्यो ।

मनोरञ्जनको साधन कम हुँदा दिनभर काममा व्यस्त रहने पाटनबासी साँझमा भोजसहित टेबलटेनिसको रमाइलोमा झुम्ने गर्थे । दर्शक संख्यालाई मध्यनजर गरेर पनि साँझमा प्रतियोगिता सुरु गरिएको हो ।

रात्रिकालीन टेबल टेनिस खेलेर राष्ट्रिय टिमसम्म पुगेका राजेन्द्र कपाली स्मरण गर्छन्, ‘प्रतियोगितामा खेलाडी संख्या बढ्दै जाँदा दर्शक पनि धेरै हुन थाले । परिवारका एक जनाले खेल्दा सबै सदस्य र आफन्तहरु पनि हौसला बढाउन आउँछन् । आफ्ना मान्छेहरु अगाडि खेलेर जित्नुको आनन्द बेग्लै हुन्थ्यो ।’

त्यो समयमा हरेक टोलले पालैपालो प्रतियोगिता आयोजना गर्ने नियम नबनाइए पनि व्यवहारमा लागू भइरहेको हुन्थ्यो । सुन्धारा, मापाल, कुटीसौगल, पुल्चोक, त्यागललगायतका टोलहरु यस्तो प्रतियोगिता आयोजना गर्नेमा अग्रणी मानिन्थे । पहिला एउटा टेवलमा खेल हुनथ्यो । खेलाडीहरु पनि सीमित थिए । यो प्रतियोगिताले ललितपुरबाट राष्ट्रिय खेलाडी उत्पादनमा प्रत्यक्ष फाइदा पुगेको राजेन्द्र स्वीकार्छन् ।

‘हाम्रा अग्रजहरु पनि यसैगरी खेल्नुहुन्थ्यो । उहाँको खेल हेरेर हामी पनि टीटीमा आकर्षित भएका हौं । खेलाडी भनेपछि छुट्टै सम्मान हुने,’ राजेन्द्र भन्छन्, ‘विशेष गरी मलाई पनि के महशुस भयो भने यो खेलमा लाग्यो भने त सबैले सम्मान गर्ने रहेछ । ठूलो मान्छे बनिँदो रहेछ ।’

ललितपुरबाट राष्ट्रिय टिममा पनि उपस्थिति बाक्लिन थालेको छ । पाटनलाई टेबल टेनिसको शहरका रुपमा स्थापित गर्ने उद्देश्यको प्रतिफलका रुपमा पूर्व राष्ट्रिय खेलाडी राजेन्द्रले लिएका छन् ।

‘मैले खेल्ने् समयमा १/२ जनामात्र थियो । तर, अहिले महिला र पुरुष गरेर ८–१० जना नै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुगेका छन्,’ उनले थपे, ‘१३औं साग (सन् २०१९)मा ललितपुरबाट ४ खेलाडी समावेश थिए । राष्ट्रिय प्रतियोगितामा पनि ललितपुरका थुप्रै खेलाडीहरु छन् ।’

स्थानीय तहले अपनत्व लिएपछिको सहजता

चार वर्षअघि जिल्ला टेबल टेनिस संघले रात्रिकालीन प्रतियोगितालाई ब्यूँताउने निर्णय गर्दा यसको महत्व र अनुभव लिएका पूर्व खेलाडीहरु उत्साहित थिए । पाटनको बहालमा खेलेर तथा खेलेको देखेर हुर्किएकाहरु उच्चपदमा पुगेका पनि छन् । कोहि स्थानीय प्रतिनिधि बनेका छन् । संघको प्रस्तावलाई महानगरपालिका र वडाका प्रतिनिधिले अपनत्व लिएपछि रात्रिकालीन टेबल टेनिसले पुनर्जीवन पाएको हो ।

ललितपुर मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगितामा ललितपुर महानगरपालिकाभित्रका बासिन्दाले मात्र सहभागिता जनाउन पाउँछन् । सबै वडालाई पालैपालो प्रतियोगिता आयोजना अधिकार दिइन्छ । यसअघिका तीन संस्करण क्रमशः ११, १६ र २० नम्बर वडाले आयोजना गरेको थियो ।

यसपल्ट १२ नम्बर वडामा पर्ने मंगलबजारको हःखाःमा प्रतियोगिता आयोजना भयो । अर्को वर्ष ११ नम्बर वडाको खोल्चा पुखुः टोलले आयोजनाको अधिकार पाएको छ । ‘११ नम्बर वडामा यसअघि आयोजना भइसकेको भए पनि अहिले टोल फरक छ । नयाँ वडाले आयोजना अधिकार दावी नगरेपछि पुरानैलाई दिइएको हो,’ जिल्ला टेबल टेनिस संघका सदस्यसमेत रहेका पूर्व राष्ट्रिय खेलाडी पुरुषोत्तम बज्राचार्यले अनलाइनखबरसँग भने ।

प्रतियोगिताको आयोजनाका लागि वडा आफैंले बजेट छुट्याएको हुन्छ । नगरपालिकाले पनि सहयोग गर्छ भने प्रायोजकहरु पनि खोजिन्छ । समुदायको प्रयास र स्थानीय सरकारको साथले समाजमा भाइचारा बृद्धि, संस्कृतिको संरक्षण र स्थान पहिचान र नयाँ खेलाडी उत्पादनको काम यो प्रतियोगिताले गरिरहेको छ ।

यसले हाम्रो खेल संस्कृतिको संरक्षणमा सहज भएको छ । हामीले यसलाई निरन्तरता दिन सकिरहेका थिएनौं । जस्तै अहिले वडा नम्बर १२ को हःखाःमा आयोजना गरिरहेका छौं । त्यसले हामीलाई मंगलबजारको संस्कृति र रहनसहनको पनि प्रचार भइरहेको छ,’ रात्रिकालीन प्रतियोगिता खेलेर हुर्किएका दक्षिण एसियाली खेलकुद (साग) पदक विजेता बज्राचार्य भन्छन्, ‘कतिपय बहाः (चोक)बारे हामीलाई पनि थाहा हुँदैन । हामीले नाग बहाः, न बहाः इखाः छेँमा गर्यौं । यसले स्थानीय संस्कृतिका साथसाथै त्यो ठाउँको पहिचानमा पनि सजिलो भएको छ ।’

राष्ट्रिय खेलाडी इभाना थापाले पनि रात्रिकालीन प्रतिस्पर्धामा नियमित सहभागिता जनाउँछिन् । आफ्नै टोलमा परिचित मान्छेहरुका अगाडि खेल्दा रमाइलो लाग्ने गरेको उनले सुनाइन् । ‘टोलका सबैजना हेर्न आउनुभएको हुन्छ । सबैजनाले चिन्नुहुन्छ । घरका मान्छेहरु पनि हेर्न आउनुहुन्छ । यहाँ खेल्दा अलि धेरै खेल्न सक्छुजस्तो लाग्छ,’ उनले भनिन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?