+
+

खोपीका महामन्त्रीहरू

पार्टीमा महामन्त्रीको सक्रियताले नौलो रक्तसञ्चार हुने र पार्टीले जनबोली बोल्ने अपेक्षा राखेका कार्यकर्ता राणाकालका जनता जस्तै निमुखा र विचरा बन्न पुगे । विद्रोह गर्नेहरू अनुशासनको कारबाहीमा परे । महामन्त्रीहरू द्रौपदीको वस्त्र तान्दा पनि बोल्न नसक्ने पाण्डव जस्ता लाचार बन्दै गए ।

लक्ष्मी विलास कोइराला लक्ष्मी विलास कोइराला
२०७९ माघ ९ गते १७:४५

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डेनले पदबाट राजिनामा दिएको घोषणा गरिन् । उनले भनिन्, ‘६ वर्षसम्म देशको नेतृत्व तहमा काम गरें । मैले सोचेको, देखेको भिजन प्रयोग गरें । अब मेरो भिजन न्यूजिल्याण्ड र न्यूजिल्याण्डका जनताको लागि पर्याप्त नहुन सक्छ । त्यसकारण म प्रधानमन्त्रीको पदबाट राजिनामा गर्छु र आगामी आम निर्वाचनमा उम्मेदवार पनि हुने छैन ।’

तिनको मनमा पटक–पटक प्रधानमन्त्री बन्ने लोभ किन आएन होला ? त्यहाँ पनि कारगेड सुविधा त छ होला नि ! नराम्रै काम गरे पनि उनलाई चुनाव लड्ने स्वतन्त्रता त थियो होला ! राजनीतिक छलकपट नजानेर र पदमा टाँसिने लिसो नपाएर त होइन, राजनीतिबाट अलग बस्न बाध्य भएकी ? हाम्रो देशको राजनीतिक भाषामा उनको निर्णयलाई कसरी लिन्छौं ? ‘उनी निकम्मा हुन् र निर्वाचन जित्ने भए पो उठ्ने साहस गर्दथिन् !’

आदरणीय पाठकहरू, न्यूजिल्याण्डकी प्रधानमन्त्रीको राजिनामाको सोझो अर्थ म लगाउँदिनँ र घुमाउरो अर्थ आफैं खोज्नुहोला । म केवल यो प्रसङ्गलाई नेपालको राजनीतिक समाजमा केही सन्देश दिन सक्ला कि भनेर मात्र जोड्न खोज्दैछु । नेपालमा एउटा पुरानो राजनीतिक दल छ– नेपाली कांग्रेस । यो पार्टीले विख्यात दार्शनिक बीपी कोइरालालाई आफ्नो आदर्श व्यक्ति, नेता मान्ने गर्दछ । देश र जनताका लागि पार्टीले राम्रा काम गरेको इतिहास पनि कांग्रेसको साथमा छ ।

अहिले पनि कांग्रेस नेपालको राजनीतिमा सक्रिय देखिन्छ, तर खस्कँदो साख लिएर । पार्टी सञ्चालनको लागि पार्टीको संरचना, इतिहास र विधिविधान पनि छ । निर्वाचन प्रयोजनको लागि बेलाबखतमा पार्टीको महाधिवेशन हुने पनि गर्दछ । विधानअनुसार कुरा गर्दा तृणमूल कार्यकर्ताबाट चुनिएका सक्रिय कार्यकर्ताहरूले महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत सदस्य चुन्ने पनि गर्दछन् ।

यहाँ कांग्रेसका धेरै पदाधिकारीको चर्चा गर्न म खोजिरहेको छैन, दुई महामन्त्रीको विषयमा मात्र चर्चा गर्ने धृष्टता गरिरहेको छु । नेपाली कांग्रेसको विधान, २०१७ ले पार्टीको केन्द्रीय समितिमा दुई महामन्त्री रहने व्यवस्था गरेको छ । दुवै महामन्त्री केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुन्छन् ।

विधान अनुसार महामन्त्री पार्टीको प्रमुख प्रशासनिक पद हो । पार्टीका सम्पूर्ण प्रशासनिक कामकारबाही महामन्त्रीले पार्टीको मुख्य सचिवमार्फत गर्ने–गराउने व्यवस्था विधानले गरेको देखिन्छ । विधानले केन्द्रीय कार्य समितिको बैठकका निर्णयहरू प्रमाणित गर्ने, निर्णय कार्यान्वयन गर्ने, सूचना प्रवाह गर्ने र पार्टीलाई सक्रिय र गतिशील बनाउने जिम्मेवारी पनि दिएको छ । र, महामन्त्री केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय संसदीय समितिका पदेन सदस्य पनि हुन्छन् र समितिका बैठकमा सहभागी हुने र छलफल गर्ने पनि गर्दछन् ।

राजनीतिक घटनाक्रमको सन्दर्भमा समयले धेरै कोल्टो फेर्दै गयो । राजतन्त्र गएर गणतन्त्र आयो । एकात्मक शासनको ठाउँ संघीयताले लियो । नेपाली जनताको चाहना, माग र आवश्यकता तीव्र गतिमा बदलिंदै गए । जनता र राजनीतिक कार्यकर्ताहरूले हरेक दलले नागरिक चासोका बारेमा बोलुन् र काम गरुन् भन्ने चाहना राख्न थाले । दलभन्दा जनताका पक्षमा बोल्ने व्यक्ति वा दललाई अँगाल्न मतदाताले रोज्न थाले । यसरी वर्तमानले निर्माण गर्दै गरेको इतिहासले राजनीतिक दलहरूलाई बदलिन दबाव दिइरहेको छ । र, नेपालका हरेक पुराना राजनीतिक दल परिवर्तनको प्रसव वेदनामा छट्पटाइरहेका पनि छन् ।

परिवर्तनको लागि नेपाली कांग्रेसका कार्यकर्ताको ठूलो समूह सक्रिय छ । पुराना नेताहरू काम गर्न नसक्ने भएको बुझाइ, कार्यकर्ताको छ । उनीहरूको दृष्टि आफ्नो वरिपरि मात्रै घुम्छ । कार्यकर्ता पार्टीमा नयाँपन दिन आतुर छन् । पार्टीलाई प्रतिस्पर्धी बनाउन जागरुक छन् ।

तर, भर्खरै नेपाली कांग्रेसको महाधिवेशन भयो । महाधिवेशनले सभापतिमा पुरानै नेतृत्वलाई निरन्तरता दियो । महामन्त्री पदमा सक्रिय र परिवर्तनकारी दुई युवकले जिते । दुई महामन्त्रीको विजयबाट नेपाली कांग्र्रेसका कार्यकर्ता उत्साहित भए । त्यसको ओभर फ्लो प्रभाव अन्य राजनीतिक दलमा सर्नेछ भन्ने आशाहरू पनि पलाए । नेपाली कांग्रेस पार्टी बाहेकका अन्य पार्टीहरूले युवा महामन्त्रीको विजयलाई गम्भीरतापूर्वक पनि लिए ।

अफसोच, दुई कनिष्ठ युवक महामन्त्री पदमा चुनिएसँगै नेपाली कांग्रेसका पहिलो पुस्ताका नेताहरूसँगै दोस्रो तहका नेताहरू तर्सिए । पार्टीमा पुस्तान्तरण हुने भयले आफ्नो भविष्य समाप्त भएको देखे । विस्तारै उनीहरूबीच अव्यक्त रूपमा ‘गुटसन्धि’ हुँदै गयो र उनीहरू सभापतिको कोटरीमा गोलबन्द हुन पुगे । उनीहरूले बोकेको कथित नेतृत्व परिवर्तनको नारा हालका लागि असान्दर्भिक बन्न गयो । समग्र पुराना नेताहरू महामन्त्रीका असहयोगी बन्दै गए ।

भयग्रस्त पहिलो पुस्ताका नेता र दोस्रो पुस्ताका नेताहरूले साङ्लो बनाए र महामन्त्रीहरूलाई घेरा हाल्दै गए । सुविधाजनक बहुमत भएका सभापति क्यूब बने । पार्टीमा महामन्त्रीको सक्रियताले नौलो रक्तसञ्चार हुने र पार्टीले जनबोली बोल्ने अपेक्षा राखेका कार्यकर्ता राणकालका जनता जस्तै निमुखा र विचरा बन्न पुगे । विद्रोह गर्नेहरू अनुशासनको कारबाहीमा परे । महामन्त्रीहरू द्रौपदीको वस्त्र तान्दा पनि बोल्न नसक्ने पाण्डव जस्ता लाचार बन्दै गए ।

जंगबहादुर राणाले कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्वपछि देशको राजकीय शासनाधिकार आफ्नो हातमा लिए । राजाहरूको सम्मान राख्दै उनीहरूलाई खोपीभित्र सीमित गरिदिए । त्यसपछि ‘खोपीका राजा’ भन्ने आहान चल्न थाल्यो । राजाहरूको ‘श्री ५ महाराजाधिराज’ भन्ने पद थियो । राणा नियन्त्रित कार्यक्रमहरूमा सम्मानपूर्वक तोपको सलामी खान्थे । सनदपत्रमा लालमोहर ठोक्थे । सुख–सुविधामा लैस हुन्थे । तर, समाजमा भैरहेको परिवर्तनको केही जानकारी पाउँदैनथे । पाए पनि केही गर्न सक्दैनथे । समाजको सम्बन्धमा केही भन्न र गर्न खोजे षड्यन्त्रपूर्वक मारिन्थे पनि । राजाका पक्षमा कोही बोल्दैनथ्यो, र कोही बोल्न पनि खोज्दैनथ्यो ।

राणाकालमा खोपीका राजासँग कोही डराउँदैनथे । सबै राणाको पछि लाग्थे । जयजयकार गर्दथे । पाउनेले पाउँथे । नपाउनेहरू पनि भविष्यमा पाइन्छ कि भनेर चाकरीमा जी–हजूरी गरिरहन्थे । नेपाली कांग्रेसमा त्यही रीत दोहोरिएको छ । प्रजातान्त्रिक भनिएको पार्टीमा महामन्त्रीको सार्थक भूमिका हुनुपर्ने हो । अल्पमत भएकै कारणले लखेटिनुपर्ने होइन । आफैं आफ्नो भविष्य कोर्न, लेख्न नसक्ने र ‘डेटएक्स्पायर’ नेताहरूको जमात सभापतिको पक्षमा र महामन्त्रीको विपक्षमा उभिन पुग्यो ।

युवा महामन्त्रीहरू प्राकृतिक अधिकारको सार्थक प्रयोग गर्न नसक्ने भएर बीपी स्मृति भवनको खोपीमा ‘खोपीका महामन्त्री’ मात्र बन्न पुगेको देखिन्छ । उनीहरू विचरा ‘खोपीका महामन्त्री’ बनेका छन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको राजिनामाबाट हाम्रो देशका राजनीतिक दलका स्थापित नेता–कार्यकर्ताले सकारात्मक शिक्षा लिन कठिन छ । हामीकहाँ राजनीतिक पेशा अँगाल्नेहरूका लागि विकल्प पनि त छैन, रोजीरोटीको । नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई स्मृति भवनको खोपीमा सीमित हुन बाध्य बनाउनु नेपालको राजनीतिक समाजमा अनौठो यथार्थ बनेको छ । देख्दा महामन्त्रीहरू पदका धनी छन् । लेखिएको अधिकार पनि छ, देखाउने सम्मान छ, तर राणाकालका राजालाई झैं । सबैले नेपाली कांग्रेसका महामन्त्री भनेका नै छन् । सभापतिका निर्णयहरूमा सही ठोकेकै छन् । तर के गर्ने ? उनीहरूको मनोदशा कस्तो होला ? उनीहरूले के सोचेका होलान् र के गर्छन् होला ?

महामन्त्रीद्वयले बुझ्नुपर्ने चुरो कुरो पार्टीमा हिजोसम्म ‘दाइ’ भनेकाहरूको सहयोग र समर्थन तपाईंहरुको लागि कदापि निस्वार्थ र दिगो हुनेवाला छैन ।

मलाई सम्झना भएको सत्य हो भने कुनै कालखण्डमा नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला थिए । गिरिजाप्रसाद कोइराला कुनै जिल्ला भ्रमणमा गए भने त्यो जिल्लाभर छुट्टै प्रकारको राजनीतिक हलचल आउँथ्यो । पार्टीका नेता–कार्यकर्ता, विपक्षी राजनीतिक दल, प्रशासन, व्यापारी, बुद्धिजीवी चनाखो बन्थे । अब के हुन्छ, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण उनको पार्टीभित्रको दबदबा उस्तै थियो ।

किन र कसरी ? एउटा प्रश्न उठिरहन्थ्यो र उत्तर आइरहन्थ्यो । उनी जनता र कार्यकर्ताबीच भिजेका थिए । संगठनमा पकड थियो । होचा मान्छेहरूको कुरा सुन्दथे । जनताको आडमा नेताहरूसँग भिड्थे । महामन्त्रीद्वयलाई गिरिजाको उचाइले राजनीतिक नेतालाई नेताको होइन, जनताको प्रिय हुनुपर्दछ भन्ने सन्देश दिइरहेको हुनुपर्छ । गिरिजाले देश र जनताको लागि के कति योगदान दिए त्यसको अनुसन्धान र विश्लेषण भविष्यमा हुँदै जाला, तर उनी बाँचुञ्जेल राजनीति उनको वरिपरि नै घुमिरहेको थियो । ‘खोपीका महामन्त्रीहरू’ ले यो सम्झेर केही दर्शन बनाउन सक्नेछन् कि ?

राणाको खोपीमा बस्ने राजाका पनि चलायमान बन्ने, स्वतन्त्र हिंड्ने, आफ्नो विचार देशमा लागू गर्ने इच्छाहरू थिए होलान् । राजाहरूका विचार, सिद्धान्त, भिजन, मिसन राणाको अँगेनामा जलेर खरानी भए । ती राजाहरू आफ्नो ‘श्री ५’ ले अधिकार, विचारले सम्मान नपाउँदा र स्वतन्त्र हुन नसक्दा कति पीडामा थिए होलान्, सजिलै अनुमान र अनुभूति गर्न सकिन्छ । तर, खोपीमा बस्दाबस्दै पनि राजा त्रिभुवनले जनतासँग जोडिन चाहे, प्रयास गरे र जोडिए पनि । जनताका समस्या बुझे । जनताका चासोसँग साक्षात्कार भए । त्रिभुवनको मनमा आफ्नो र आफ्नो वंशको लागि मात्रै भए पनि विद्रोहको भावना जाग्यो । विद्रोहमा सामेल भए । आफूलाई स्थापना गर्न सके त । यस दृष्टान्तले ‘खोपीका महामन्त्री’हरूलाई केही शिक्षा दिन सक्छ कि ?

नेपालको राजनीतिमा परिवर्तनको चाहनाले एकाएक आकार लियो । राजनीतिक निर्वाचनमा स्वदेशका मतदातामाथि विदेशमा बसेका छोराछोरी, श्रीमान् वा श्रीमती ‘ब्रेड विनर’ हरूको नियन्त्रण बढयो । राजनीतिक फ्रस्टेशन अनुभूत गरेका युवा ‘बे्रड विनर’ ले राजनीतिक विचारलाई तिलाञ्जली दिंदै कोल्टो फेरे । दशकौं पार्टीको सिद्धान्त र झण्डा बोकेका महामन्त्रीहरू भन्दा जन्मन नपाउँदै राजनीतिक चेतसम्म नभएकाहरूले राजनीतिको बजारमा जादूगरी सफलता पाए । नयाँ राजनीतिक पार्टीको उभार परम्परागत राजनीतिक दलका लागि चुनौती बन्न पुग्यो । यस घटनाले पुराना राजनीतिक दलका युवा नेताहरूको मनमा नौलो राजनीतिक रक्तसञ्चार त पक्कै गरेको होला । ‘खोपीका महामन्त्रीहरू’का लागि पनि घटनाले भविष्यको बाटो के हुने ? भन्नेमा केही शिक्षा त दिएकै छ कि ?

कांग्रेसका महामन्त्रीहरू पढेलेखेका, देशदेशावर घुमेका, बुझेका र उमेर भएका छन् । उनीहरूसँग विचार, सिद्धान्तको ज्ञान, देश विकासको भिजन र मिसन पनि छ । जनतालाई बुझाउन र प्रतिस्पर्धीहरूलाई चुनौती दिन सक्ने वाक् क्षमता पनि छ । जनताको काम गर्ने अन्त्यहीन जाँगर छ । बलियो पार्टीको महामन्त्री पद पनि छ ।

तैपनि महामन्त्रीहरूको विचारले जनता र कार्यकर्ताको मन जित्न सकेन । वाक्पटुता र लालित्य बोलीले जनताको चित्त बुझाउन सकेन । जनताको मनले दैनिक चासोहरू खोज्दो रहेछ । युवाहरूको भावना छुन खोज्दो रहेछ । महामन्त्रीहरूले आफूले बोकेको भिजन, मिसन जनताका मनको होइन रहेछ भन्ने बुझ्न ढिलो गर्न हुन्न । जनताका काम गर्नुस्, जनता तपार्इंहरूको पछाडि लामबद्ध हुनेछन् । यसले, राजा त्रिभुवनको विद्रोही मन बुझेर र जनताको मन जित्ने काम पहिल्याएर पार्टीभित्र अलग ढंगले सोच्ने, काम गर्ने र पकड बढाउने बाटो महामन्त्रीहरूलाई देखाउला कि ?

राजनीतिक नेता बनाउने जनताले हो । ठूला नेताको चाकडीमा बनेको नेता दिगो हुँदैन । नेपाली कांग्रेसमा टुप्पे नेताको बोलवाला छ । यस परिपे्रक्ष्यमा नेपाली कांग्रेसका महामन्त्रीहरूले दलको सिद्धान्त र विधि विधानभन्दा माथि उठेर जनताका सवालमा सोच्नु, बोल्नु र विद्रोह गर्नुपर्छ । संसदमा बोल्दा पार्टीको ह्वीप लाग्ला, तर जनताको कुरो पार्टीको विधि र कानुनभन्दा माथि हुन्छ । ह्वीप सडकमा लाग्दैन । किसानको बारीमा, उद्योगीको कारखानामा, मजदुरको नाम्लोमा, रोजगारीका लागि अरब र मलेसिया जाने युवाको मनमा ह्वीप लाग्दैन ।

देशका कुनाकाप्चा पुगेर संगठन गर्न, महिला, ज्येष्ठ नागरिकको समस्यामा बोल्दा, युवाहरूका रमाइला कार्यक्रममा भाग लिंदा पनि ह्वीप लाग्दैन । धुलो भयो, बिग्रेको बाटो बनाऊ भन्दा, महामारी व्यवस्थापन गर भन्दा, स्वास्थ्य, शिक्षा सेवा राम्रो बनाऊ भन्दा पनि ह्वीप लाग्दैन । नागरिकका दुःखहरूको पक्षमा बुलन्द आवाज बनाउँदा आत्तिनु पनि पर्दैन । देश र जनताको लागि काम गर्ने व्यक्तिलाई जनताले न्याय दिन्छन् । ‘खोपीका महामन्त्री’ हरू खोपीबाट बाहिर निस्कन खोजे बाटाहरू बगे्रल्ती भेटिन्छन्, प्रयास गर्ने हो कि ?

पार्टीभित्र महामन्त्रीहरूको संघर्षपूर्ण विरासत छ । महामन्त्रीहरूको भ्वाइसले पार्टीमा मान्यता पाउने आशा गर्ने हो । आशा गर्नेहरूले पनि कहिलेसम्म धैर्य गर्ने ? आदेश निर्देशको मात्रै काम गर्ने अनि देश र जनताका लागि काम गर्न पार्टीले दिएन, सभापतिले दिएनन् भनेर बस्ने बेला छैन । पार्टीभित्र आफ्नो स्पेस बनाउन नसक्ने हो भने महामन्त्रीहरूको उज्यालो छवि छिटै स्खलित भएर जानेछ । तसर्थ, संघर्षमा खरो उत्रन महामन्त्रीहरूले आफूलाई जनताको पक्षमा डढाउनुपर्छ, चिनाउनुपर्छ ।

भर्खर सम्पन्न संसदीय दलको नेताको निर्वाचन र सरकारलाई विश्वासको मत दिने घटनाले महामन्त्री पदमा विजय हुनासाथ साथमा लागेका र इतर नेताहरू बीच स्वार्थ मिल्न पुगेको घटना महामन्त्रीहरूका लागि चानचुने चुनौती होइन । झन् महामन्त्रीहरूको सहकार्यले सबैलाई झस्काएको पनि छ । महामन्त्रीको सफलता दलका सिनियर नेताहरूका लागि चुनौती बन्ने पनि छ । यो हेक्का ‘खोपीका महामन्त्री’ हरूलाई पक्कै होला ।

पार्टीभित्र महामन्त्रीहरूको अगाडि अस्तित्वको लडाईं सुरु भएको छ । महामन्त्रीहरूको एजेण्डामा गाउँ–शहरका जनतासँग नाता बढाउने र ‘दाइ’ पहिलो पुस्ताका नेता र दोस्रो पुस्ताका नेताहरूलाई परास्त गर्न संगठन विस्तारमा भिड्नुपर्ने पक्षले महत्व पाएको छ । आपसी एकताको महत्व झन् आकासिएको छ । यस घडीमा महामन्त्रीद्वयको अगाडि पार्टीभित्र अस्तित्वको साझा लडाईं लड्ने कि ? पाँच वर्षसम्म ‘खोपीको महामन्त्री’ बनेर पलायन हुने ? दुईमध्ये एक, के गर्ने हो ? छिट्टै बोल्ड निर्णय लिने बेला आएको प्रष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?