+
+

वैदेशिक व्यापारमा २२ प्रतिशतको संकुचन, भन्सार ७४ अर्बले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:४८

९ माघ, काठमाडौं । चालु आथिक वर्षको ६ महिनामा मुलुकको कुल अन्तर्राष्ट्रिय व्यापारमा २२ प्रतिशत घटेको छ । समग्र व्यापार घट्दा त्यसको असर भन्सार राजस्वमा पनि देखिएको छ ।

चालु आर्थिक वर्षको पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँबराबर पुगेको छ । जुन अघिल्लो महिनाकोभन्दा एक खर्ब ४१ अर्बले धेरै हो भने गत वर्षको यसै अवधिकोभन्दा २ खर्ब ४४ करोड ७१ लाख रुपैयाँले कम हो ।

गत वर्ष समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा गत वर्षको तुलनामा आयात २० प्रतिशतले ओरालो लाग्दा निर्यात पनि ३२ प्रतिशतले घटेको छ ।
पुससम्म नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जबकि गत वर्ष यस्तो आयात ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको थियो ।

गत वर्ष एक खर्ब १८ अर्बको वस्तु निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको समीक्षा अवधिमा जम्मा ८० अर्ब ८० करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

समग्र व्यापारमा आएको संकुचनका कारण गत वर्षको तुलनामा व्यापार घाटा पनि डेढ खर्बले घटेको भन्सार विभागले जनाएको छ । गत वर्ष ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको व्यापार घाटा समीक्षा अवधिमा ७ खर्ब ११ अर्ब ८५ करोडमा सीमित छ । जुन १९.१५ प्रतिशतले कम हो ।

आलु वर्षको पुससम्म कुल भन्सार राजस्व संकलन एक खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँमा सीमित छ । जुन गत वर्षको तुलनामा ७४ अर्ब ७६ करोड रुपैयाँले कम हो । गत वर्ष पुससम्म २ खर्ब ५७ अर्ब ६० करोडबराबर भन्सार राजस्व संकलन भएको थियो ।

धेरै आयात के भए ?
भन्सार विभागकाअनुसार आर्थिक वर्षको ६ महिना अवधिमा सबै भन्दा धेरै मूल्यको आयात डिजेलको छ । नेपालले पुसम्म ७० अर्ब १० करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ ।

३३ अर्ब ५३ करोड रुपैयाँको पेट्रोल आयात भएको छ भने धेरै आयात हुने वस्तुको तेस्रो सूचीमा खाना पकाउने ग्यास छ ।

पुसम्म नेपालले २८ अर्ब २० करोड रुपैयाँ खाना पकाउने ग्यास आयात गरेको छ । यस्तै २३ अर्बको कच्चा सोयबिनको तेल आयात हुँदा १९ अर्ब २२ करोड रुपैयाँ फलामको कच्चा पदार्थ -स्पन्ज आइरन) खरिदमा खर्च भएको छ ।

निर्यात भएका प्रमुख वस्तु

यो ६ महिनामा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुको सूचाीमा भटमास र माम तेलको हिस्सा अग्रस्थानामा छ । यस अवधिमा नेपालले ८ अर्ब ९८ लाख रुपैयाँ बराबरको सोयाबिनको प्रशोधित तेल निर्यात गरेको छ ।

७ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रशोधित पामोलिन निर्यात भएको छ भने ५ अर्ब ४६ करोड रुपैयाँको कार्पेट र टेक्स्टटाइल पनि नेपालले निर्यात गरेको छ ।

यस्तै नेपालबाट धेरै निर्यात हुने पाँचौ वस्तुमा अलैंची छ । साउनदेखि पुससम्म मात्रै नेपालले ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अलैची निर्यात गरेको छ ।

भन्सार विभागकाअनुसार यस अविधमा नेपालले १५२ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गर्दा १२७ वटा मुलुकसँगको व्यापार घाटामा छ भने २५ मुलुकसँगको व्यापार मात्रै नाफामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?