 
																			९ माघ, धनगढी । रेशम चौधरी रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमाथि दबाव बढाउन थालेको छ । कुनै पद नलिएर मुख्यमन्त्री, सभामुख र उपसभामुखमा एमाले र नेकपा माओवादीलाई समर्थन जनाएको नाउपाले चौधरी रिहाइको विषयलाई प्रदेश सरकार र गठबन्धनको शीर्ष नेतृत्वमाथि दबाव बढाउदै लगेको छ ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावल नागरिक उन्मुक्ति पार्टीले उठाएको मुद्दाको विषयमा गठबन्धनको शीर्ष तहमा समझदारी खोज्न काठमाडौँमा छन् । मुख्यमन्त्री रावलले २७ माघभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टीक ७ प्रदेशसभा सदस्यको मत पाउनु अनिवार्य छ । त्यसैले आफूले विश्वासको मत लिने बेलासम्म नागरिक उन्मुक्तिको साथ पाउने वातावरण बनाइदिन आग्रह गर्न रावल काठमाडौं गएका हुन् ।
माओवादी संसदीय दलका नेता समेत रहेका मन्त्री खगराज भट्ट, नाउपा संसदीय दलका नेता रामेश्वर चौधरीसहितका सांसदलाई साथमा राखेर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गरेका छन् । मुख्यमन्त्री रावल उनीहरुलाई लिएर शनिबार अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
बालकोटमा रावलले नागरिक उन्मुक्ति पार्टीले उठाएका माग, मुद्दा संघीय सरकारसँग सम्बन्धित भएकाले पूरा गर्न भूमिका खेलिदिन आग्रह गरेका थिए भने नाउपाका प्रदेशसभा सदस्यहरुले समेत डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइको प्रक्रिया चाल्नुपर्ने भनेका थिए । सोमबार प्रदेशका मुख्यमन्त्री र मन्त्रीसँगै प्रधानमन्त्री निवास बालुवाटर पुगेका नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सोही माग दोहोर्याएका थिए ।
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीसँगको भेटमा रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन गर्न सचेत गराइएको नाउपाले जनाएको छ । दुवै जनासँगको भेटमा सहभागी नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले माग, मुद्दाका सम्बन्धमा सकारात्मक प्रतिक्रिया पाएको बताए ।
‘उहाँहरुले हाम्रो पार्टीले उठाएका माग, मुद्दाका सम्बन्धमा सकारात्मक छौँ भन्नुभएको छ । तिनलाई पूरा गर्न केही समय लाग्छ भन्ने जवाफ दिनुभएको छ,’ चौधरीले भने, ‘तर हामीले त्यसका लागि न्यूनतम प्रक्रियाको सुरुवात त हुनुपर्छ भन्ने कुरा राखेका छौँ । हेरौं उहाँहरुको भूमिका कस्तो रहन्छ ।’
चौधरीका भनाइमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले विश्वासको लिनु अगावै रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।
सत्तारुढ गठबन्धनले प्रस्ताव गरेको उपसभामुख पद समेत नलिएर सभामुख र उपसभामुखमा एमाले र माओवादीका उम्मेदवारलाई मतदान गरेको नाउपाले मुख्यमन्त्रीले विश्वासको मत लिन धेरै समय बाँकी भएकाले अहिले नै कुनै निर्णय लिइसकेको छैन । नागरिक उन्मुक्ति पार्टीका नेताहरुसहित भएको बालकोट र वालुवाटार भेटबारे भने नेकपा एमाले र माओवादीका प्रदेशसभा सदस्य तथा नेताहरु बोलेका छैनन् ।
भेटमा सहभागी एक नेताका अनुसार रेशम चौधरीको रिहाइको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण अदालती प्रक्रियाबाटै टुंगोमा पुर्याउनुपर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहमत भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई समेत विश्वासको मत दिने पक्षमा देखिएको छ । सोही कारण सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम स्थगित गरेर नागरिक उन्मुक्ति पार्टीका सांसदहरु धनगढी फर्किने तयारीमा छन् ।
माओवादी र एमालेले सरकारमा आउन प्रस्ताव गरेपनि नाउपाले आन्तरिक छलफलपछि मात्र निर्णय लिने जवाफ फर्काएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका २९ जना प्रदेशसभा सदस्यको समर्थन पाएर एमालेका रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीका भीमबहादुर भण्डारी सभामुख भएपछि रावलको पक्षमा २८ जना सांसद छन् । माओवादीका १० (सभामुख बाहेक), एमालेका १०, नाउपाका ७ र राप्रपाका एक जना सांसद छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4