+
+

राष्ट्रपति भण्डारी वसन्त श्रवणमा सहभागी, के सुनाइन्छ उनलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते ११:१८

१२ माघ, काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा हरेक वर्ष आयोजना हुने वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत सहभागी हुने प्रचलन छ ।

वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकाेमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।

वसन्त श्रवणमा के हुन्छ ?

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन राष्ट्र प्रमुखलाई सुनाउने गरिएको छ ।

वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।

हनुमानढोका दरबार संग्रहालय संरक्षण विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत् व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।

उनका अनुसार परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ–आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।

उनका अनुसार श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अद्भुत र अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि म ऋतुहरुमध्ये वसन्त हुँ भनेका छन् ।

त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाग्देवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?