+
+

केन्द्रीय समितिको बैठकबाट किन भागिरहेका छन् देउवा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते २०:२०

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक १५ माघका लागि तय भएको थियो ।

तर मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना निकालेर ‘विशेष कारणवश’ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारिएको थियो ।

कांग्रेसको विधानअनुसार हरेक २–२ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो । पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन ।

नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा राष्ट्रपति निर्वाचन अगाडि बैठक राख्ने पक्षमा छैनन् ।

१० पुसमा आफ्नो नेतृत्वको गठबन्धन छाडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको समर्थनमा सरकार बनाएका थिए । त्यसको दुई दिनपछि कांग्रेसले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक सन्दर्भबारे छलफल गर्न २२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

तर बैठकको मिति नजिकिँदै गर्दा संस्थापन पक्षका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन लाइनमा उभिए । त्यही कारण सभापति देउवाले केन्द्रीय समिति २८ गतेलाई सारेर संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाए । २६ पुसमा दुई महामन्त्री सहित पाँच नेताको फरक मतका बाबजुद प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराए ।

त्यसयता पनि सभापति देउवाले पटक–पटक अहिले पदाधिकारी त कहिले पूर्वपदाधिकारी समेतको बैठक राखे । तर केन्द्रीय कार्यसमितिको बैठक राख्न चाहेका छैनन् ।

नेताहरुका अनुसार देउवाले राष्ट्रपतिको निर्वाचन नहुँदासम्म बैठक नगर्न चाहनुको कारण छ ।

पहिलो, अहिले बैठक बस्दा सत्ता गठबन्धन जोगाउन नसकेको अपजस खेप्नुपर्छ । यदि राष्ट्रपति कांग्रेसले लिन सक्यो भने ‘ड्यामेज कन्ट्रोल’ हुनेछ । त्यसैले उनको अहिलेको प्राथमिकता राष्ट्रपतिको नजिता पार्टीको अनुकुल बनाउनु छ । यसका लागि उनले उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुलाई प्रधानमन्त्री र माओवादी नेताहरुसँग संवाद गर्न खटाएका छन् ।

अर्को कारण चाहिँ माओवादी अध्यक्ष प्रचण्डलाई नचिढ्याउनु पनि भएको नेताहरु बताउँछन् । किनकी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनसँग चुनाव लडेर एमालेसँग मिलेर सरकार बनाएकोमा प्रचण्डको आलोचना हुनसक्छ । यसले प्रचण्डलाई चिढ्याउने र राष्ट्रपति निर्वाचन पनि प्रभावित हुने भएकाले पनि देउवाले तत्काल बैठक राख्न नचाहेका हुन् ।

‘आफ्नो विरुद्धमा उठ्ने सक्ने आवाजलाई रोक्ने र प्रचण्डलाई विश्वासमा राखिराख्ने देउवाको सोंच देखिन्छ,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, ‘अप्रत्यासित कारणले राष्ट्रपति कांग्रेसले प्राप्त भयो भने त जस लिने उनैले हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?