+
+

उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो

नुनुता राई नुनुता राई
२०७९ माघ १३ गते २०:३८

१३ माघ, काठमाडौं । राष्ट्रिय सूचना आयोगले अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने आदेश जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको परीक्षामा मर्यादा विपरीत कार्य भएको फोटो भिडियो खिचेर जानकारी गराउने धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले उनले गरेको काम मर्यादा विपरीत नभएकाले उनीमाथि विश्वविद्यालयले कुनै कारबाही गर्न नमिल्ने आदेश दिएको हो ।

क्याम्पसको परीक्षा शाखामा कार्यरत भण्डारीले परीक्षार्थीको उत्तरपुुस्तिका सट्टापट्टा भएको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले उल्टै सरितालाई नै निलम्बन गरेको थियो ।

सरिताले परीक्षामा हुने मर्यादा विपरीत कार्य रोक्ने प्रयास गर्दा त्रिविले आफूमाथि अन्याय गरेको भन्दै राष्ट्रिय सूचना आयोग उजुरी दर्ता गरेकी थिइन् ।

जसमाथि सुनुवाइ गर्दै आयोगले भण्डारीले वेथिति, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्टारलाई भण्डारीको निलम्बन फुुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नु पर्ने पारिश्रमिक, सुविधा लगायत सुबिधा समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ को उपदफा (३) मा त्यसरी सूचना दिएको कारणले कुनै पनि त्यस्ता सार्वजनिक निकायका कर्मचारीलाई दायित्व बहन गराउने गरी सजाय गरिने वा नोक्सानी पुर्‍याइने छैन भनी किटानी व्यवस्था विपरीत छ,’ प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ तथा सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीले जारी गरेको आदेशमा भनिएको छ ।

‘सार्वजनिक निकायले आफ्नो निकायमा भएको वा भइरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता, र प्रचलित कानून बमोजिम अपराध मानिने कार्यको सूचना दिन प्रोत्साहन गर्नु पर्नेमा अन्यथा गरिएको निर्णयले त्यस्तो सूचना दिने कार्यलाई निरुत्साहित गराउने निश्चित छ । तसर्थ, पुनरावेदकलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयबाट भएको निलम्बन फुकुवा गर्न, निज कार्यरत पदमा निजको करार अवधि थप वा जे जसो गर्नु पर्ने हो गरी नियमित गर्न तथा यस अवधिमा प्राप्त गर्नु पर्ने पारिश्रमिक, सुविधा लगायत रोकिएको वा भुक्तानी नभएको भए उपलब्ध गराउनु’ भन्ने निर्देशन दिएको छ ।

आयोगले माघ ६ गते नै रजिष्टार कार्यालयलाई आदेश कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ । आयोगले निर्देशन दिएको पाँच दिन वितिसक्दा पनि रजिष्टार कार्यालयले चासो नदिएपछि भण्डारीले रजिष्टार कार्यलयमा बुधबार आयोगको निर्देशन कार्यान्वयन गर्न अनुरोध गर्दै निवेदन दिएकी छिन् । उनी भन्छिन् ‘आयोगले न्याय दिएको छ । रजिष्टार कार्यालयले आयोगको निर्देशन कार्यान्वयन गरेर न्याय दिन्छ भन्ने आशा छ ।’

के थियो घटना ?

२०७७ फागुन १० फागुन गते धनकुटा बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायको पाठ्यक्रम तथा मूल्यांकन (इडी ४३१) परीक्षा सञ्चालन भइरहेको समयमा उत्तरपस्तिका सट्टापट्टा गरिरहेको देखेपछि परीक्षा शाखाकी मुख्य कार्यालय सहायक सरिता भण्डारीले फोटो खिचिन् । त्यसअघि पनि त्यस्ता घटना हुँदै आएको देखिरहेकी कर्मचारी भण्डारीले क्याम्पस प्रमुखलाई पटक पटक सुनाएकी थिइन् तर उल्टै धम्क्याउने अथवा प्रमाण माग गर्ने गरेका थिए । पटक पटक यस्तो भएको देखेपछि सरिता र अर्का कर्मचारी हुमराज राउतले अब देखे फोटो खिच्ने योजना बनाए ।

सोही अनुसार सहायक क्याम्पस प्रमुख तथा सहायक केन्द्राध्यक्ष समेत रहेका रुद्रप्रसाद पोख्रेलले उत्तरपुस्तिका सट्टापट्टा गरेको देखेपछि दुई जना भएर पालैसँग तस्विर खिचे । तत्काल क्याम्पस प्रमुख कहाँ सरिताले प्रमाण पेस गरिन् । तर सरिताले स्याबासी पाउनको सट्टा जागिर खाइदिने धम्की मात्रै पाइनन् प्रमुख लगायत ६ जनाले कोठामा थुनेर उनैलाई बस्तुगत प्रश्नको उत्तर लेख्न लगाए ।

क्याम्पस प्रमुख होमबहादुर बस्नेत, तत्कालीन सहायक क्याम्पस प्रमुखहरु रुद्रप्रसाद पोख्रेल, दिनेश अधिकारी, सूर्यदीपप्रसाद यादव र विद्यार्थी कल्याण प्रमुख मानबहादुर भण्डारी र प्रशासन प्रमुख रुपक प्रधानले कोठामा थुनेर बस्तुगत प्रश्नउत्तरमा परीक्षार्थीको रोल नम्बर (९०२६७) सहित उत्तरमा चिन्ह लगाउन लगाएको उनी बताउँछिन् । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले उत्तरपुस्तिकाको चाङबाट उत्तर लेखिएको उत्तरपुस्तिका भने निकालेर गोजीमा राखेको सरिताको भनाइ छ । पाठ्यक्रम तथा मूल्यांकन (इडी ४३१) क्याम्पस प्रमुख होमबहादुर बस्नेतले पढाउने विषय हो ।

त्यसको भोलिपल्ट अर्थात फागुन ११ गते क्याम्पस प्रमुख होमबहादुर बस्नेतले आफ्नो कार्यकक्षमा बोलाएर त्यहि फोटो खिचेको कारण जागिर खाइदिने धम्की दिए । परीक्षा शाखाबाट पुस्तकालयमा उनलाई सारियो ।

त्यसपछि सरिताले त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई फोन गरेर घटनाको विवरण सुनाइन् । नियन्त्रक जोशीले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयको सहायक परीक्षा नियन्त्रक नन्द न्यौपानेलाई यथार्थ बुझ्न धनकुटा पठाए ।

न्यौपानेले सबैसँग बुझे तर निचोड निकाल्न सकेनन् । सहपरीक्षा नियन्त्रक न्यौपानेले सरिताको पनि कुरा सुने । तर त्यहाँ आफ्नो विरुद्ध धेरै भएकोले उनी निष्कर्षमा पुग्न नसकेको अनुमान गर्छिन सरिता । न्यौपानेले निचोड निकाल्न नसक्ने भएपछि पनिका बल्खुबाटै दुई कर्मचारी धनकुटा पुगे ।

विष्णुप्रसाद वाग्ले र अर्जुन खड्काले धनकुटा पुगेर प्रतिवेदन तयार गरे । तर त्यो प्रतिवेदन पनि सरिताको पक्षमा बनेन भन्ने २०७८ साल चैत ४ गते बसेको त्रिवि कार्यकारी परिषदको निर्णयले पुष्टि गर्छ । उक्त बैठकले सरिता र सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेललाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि परीक्षा नियन्त्रण कार्यलयले यो मुद्दा पार लगाउन नसक्ने भन्दै केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धान गर्न जिम्मा दियो । ब्यूरोले जिल्ला प्रहरी कार्यालय धनकुटालाई छानबिन गर्न अनुरोध गर्‍यो ।

जिल्ला प्रहरी कार्यलयले प्रतिवेदन तयार गर्‍यो । प्रहरीले छानबिन प्रतिवेदन वैशाखमा नै सीआईबीलाई पठाएको भन्ने सरिताले सुचना पाइन् । प्रहरीले बनाएको प्रतिवेदन बुझ्न कोशिस गरिन् तर सरिताको पहुँच पुगेन ।

धनकुटा जिल्ला प्रहरीको प्रतिवेदनपछि पनि सरिताको सुनुवाइ भएन । किनभने उनको करार सेवा असार मसान्तमा नवीकरण हुनुपर्ने थियो । त्यहि कारण आलटाल गरिएको सरिताको जिकिर छ ।

त्रिविको नियमानुसार तीन महिनाभन्दा बढी शिक्षक तथा कर्मचारीलाई निलम्बन गर्नुहुँदैन । तर त्रिविले नै उक्त नियम उल्लंघन गर्‍यो  । मंसिरमा आएर त्रिवि कार्यकारी परिषद्ले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने तत्कालीन सहायक क्याम्पस प्रमुख तथा सहायक केन्द्राध्यक्ष रुद्रप्रसाद पोख्रेललाई कारबाही गर्दै विराटनगर डिग्री क्याम्पस सरुवा गर्यो र ‘सरिता भण्डारी त्रिवि सेवामा नै नरहेकोले उनको विषयमा निर्णय गर्न नपर्ने’ भन्ने निर्णय गर्‍यो ।

तर सरिताको भनाइ अनुसार पोख्रेलले त्यसअघिदेखि नै विराटनगर सरुवाको माग गरिरहेका थिए । त्रिविले उक्त निर्णय पनि प्रहरी प्रतिवेदनको आधारमा गरिएको भन्ने सुनेको उनी बताउँछिन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?