+
+

कर्मचारीको सरुवा बढुवाका लागि बिचौलिया आए कारबाही गर्छु : अमनलाल मोदी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १५:०७

१३ माघ, विराटनगर। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा बढुवाको फाइल बोकेर बिचौलिया आए कारबाही गर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बिचौलिया आए कारबाही गर्ने बताएका हुन् ।

मोदीले कर्मचारी सरुवाका लागि आफूलाई ठूला नेताले पनि दबाब दिइरहेको बताए । सुशासन कायम गर्न मन्त्रालयदेखि नै सुरु गरेको बताउँदै बिचौलियालाई कारबाही गर्ने बताए ।

‘विचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने गरेको छ । यदि कसैले त्यस्तो गरे कारबाहीको भागिदार बनाउने भनेको छु,’ उनले भने ,‘ जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको छु ।’

उनले कर्मचारीलाई एउटै क्षेत्रमा मात्रै बस्न पनि नदिइने बताए । ‘सबै ठाउँमा कर्मचारी पुर्‍याउने मेरो अभियान छ,’ उनले भने, ‘हाम्रै मन्त्रालयमै क्रोनिक रुपमा वर्षौं वर्ष बसेका छन् । यसलाई हामीले सुधार गर्छौं ।’

उनले कर्मचारी सरुवाका लागि ठूला नेताबाट नै दबाब आइरहेको गुनासो गरे । ‘१० वर्ष सांसद हुँदा मैले कर्मचारी मेरो पालिकामा सारिदेउ भनिनँ,’ उनले भने,‘ अहिले नाम त भन्दिन ठूला-ठूला नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा परेका स्थानीय तहमा यो कार्यकारीलाई पठाउनु पर्‍यो र हटाउन पर्‍यो भन्दै आइरहेका छन् ।’ कर्मचारीको सरुवा बढुवा नीतिगत ढंगले सामधान गर्ने उनको भनाइ छ ।

दुई महिनाभित्र ऐन

मन्त्री मोदीले दुई महिना भित्र संघीय निजामती सेवा ऐन ल्याउने तयारी भएको बताए । जारी अधिवेशनबाटै पारित हुने गरी २ महिनाभित्रै ऐन ल्याउनका लागि आफूले प्रयास गरिरहेको उनले बताए ।

‘२ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं, संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ,’ उनले भने। उनले ऐनमा कर्मचारीको उमेर हदको विषय टुङ्गो लगाउन सकस परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?