+
+

‘बजार बिगार्नेमा राष्ट्र बैंकदेखि बालेनसम्म’

नगद मार्जिन मार्फत विदेशबाट उधारोमा सामान ल्याएर बिक्री गरेपछि पैसा तिर्न पाइने व्यवस्था राष्ट्र बैंकले भत्काइदियो । काठमाडौंमा साना व्यवसायीलाई लखेटेर बालेनले हाम्रो लगानी भएको बजारमा हस्तक्षेप गरे । सबै मिलेर झ्यालढोका थुनेर हामीमाथि डण्डा चलाए । 

दुर्गाराज श्रेष्ठ, व्यवसायी दुर्गाराज श्रेष्ठ, व्यवसायी
२०७९ माघ १६ गते १०:२७

अहिलेको समस्याबारे बुझ्न हामीले ७ देखि ८ वर्षयताको राज्यको आर्थिक नीति हेर्नुपर्छ । बाबुराम भट्टराई अर्थमन्त्री भएपछि सरकारले बजेट र आर्थिक वृद्धिको लक्ष्य नेपालमा ठूलो हुन थाल्यो । यसलाई म नेपालमा महत्वाकांक्षा सुरुवातको रूपमा लिन्छु । सरकार महत्वाकांक्षी भएपछि व्यापार व्यवसाय गर्नेमा यस्तो हुटहुटी नहुने कुरै भएन ।

यसपछि अध्ययन र बजारको मागअनुसार व्यापार गर्नुपर्नेमा देखासिकी गर्ने होडबाजी चल्यो । एउटै र उस्तै प्रकृतिका व्यापारका लागि एउटै गल्लीमा १० वटा पसल भए । होलसेल पनि यस्तै भए । आयातकर्ता पनि यस्तै भए । तर, अब वस्तुको माग र खपत गर्ने उपभोक्ता बढेनन्, उनीहरूको क्रयशक्ति बढेन । यसले बजारमा माग भएन । माग नभएपछि व्यापार भएन । व्यापार नभएपछि यसको विकल्प रोज्नुपर्दथ्यो तर साना ठूला सबै व्यवसायीले उधारो दिएर व्यापार गर्न थाले ।

दैनिक उपभोग्य र अरू वस्तु उधारोमा पाएपछि उपभोक्ताले खपत नगर्ने कुरा भएन । फरक–फरक पसल चहारेर उधारोमा कारोबार गर्दै गए । उपभोक्ताको क्रयशक्ति सामान्य छँदासम्म ठिकै टिक्यो । तर, कोभिड महामारी, रूस–युक्रेन युद्धका कारण आर्थिक प्रणालीमा ठूलो समस्या देखियो ।

त्यसबाट धेरै मानिसको आर्थिक अवस्थामा समस्या आयो भने राज्य र बैंकिङ प्रणालीहरू पनि जनताको समस्या समाधानमा भन्दा आफ्नो सुरक्षामा केन्द्रित भए । फलस्वरुप उधारोका उपभोक्ता किराना पसलसँग भागे, किराना पसल होलसेलसँग भागे, होलसेल सप्लायर्ससँग भागे ।

अहिले सप्लायर्स बैंक र वित्तीय संस्थासँग भाग्नुपर्ने अवस्था बनेको छ । अध्ययन नगरी भएको व्यवसाय, राज्यको संरक्षण गर्ने नीतिको अभाव जस्ता समस्याले साना–ठूला सबै व्यापारी डुब्ने अवस्था बन्यो ।

करिब एक वर्षदेखि नै यो समस्या थियो । यस्तो अवस्थामा सरकार र राष्ट्र बैंकले बजारको समस्या हेरेर आर्थिक र मौद्रिक नीतिमा आवश्यक कदम चाल्नुपर्ने थियो । तर, आन्तरिक बजारलाई चलायमान बनाउने, शेयर बजार प्रभावित बनाउनेदेखि आयातमा नगद मार्जिन जस्ता मौद्रिक नीति राष्ट्र बैंकले अघि सारिदियो ।

यो नीतिले बल्लबल्ल बाँचेका व्यवसायी र साना व्यवसायमा संकट सुरु भयो । यो संकटसँग व्यवसायी जुध्दै गर्दा व्यापारको चक्र बिग्रिने गरी काठमाडौंका मेयरले साना व्यापारी लखेट्ने नीति लिए । विकल्प विनाको उनको यो कदमले हजारौं मानिस विस्थापित भए । त्यसको असर सहकारीमा देखिन सुरु भयो ।

यही छेकोमा राष्ट्र बैंक यो सबै परिस्थिति बिगार्न थप एक कदम अघि बढ्यो । यतिका वर्षसम्म ऋण व्यवस्थापनका लागि सहयोगी बनेको चालु पूँजी कर्जालाई नियन्त्रण गर्न केन्द्रीय बैंकको मार्गदर्शन आयो । यो व्यवस्था ठिकै थियो होला तर बजारको अवस्था अनुसार यो तत्काल कार्यान्वयन कति ठिक थियो भन्ने मात्रै गभर्नरले सोचेको भए सायदै बजारमा साना व्यवसायी यति मारमा पर्ने थिएनन् ।

नगद मार्जिन मार्फत विदेशबाटै उधारोमा सामान ल्याएर बिक्री गरेपछि मात्रै पैसा तिर्न पाइने व्यवस्था भत्काएर नगद राखेर मात्रै आयातको व्यवस्था आयो । चालु पूँजी कर्जा मार्गदर्शन मार्फत व्यवसायको ऋण व्यवस्थापनको बाटो नै बन्द गरियो । यसले देशैभरको आयात, वितरण, बिक्री र खपतमा आधा ह्रास आयो ।

अझ सबैभन्दा ठूलो खपतको बजार रहेको काठमाडौंमा व्यवसायीले लगानी गरेका साना व्यवसायीलाई बालेनले लखेटेपछि बजारको पैसा उठ्न छोड्यो । हामीलाई सबै मिलेर कोठामा झ्यालढोका थुने अनि राज्यले डण्डा चलायो ।

मेरो विचारमा बजार अझै विकराल बन्ने सम्भावना देखिएको छ । हामी आन्दोलित भएका छौं । तर, हाम्रो कुरा कसैले सुन्दैन । सरकारसँग उधारो कारोबार सुधारका लागि ऋण असुली कानुनको लागि गरेको पहल पनि खेर गइरहेको छ । हामी व्यवसायीहरू मारमा छौं ।

(नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका उपाध्यक्ष श्रेष्ठसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?