+
+

क्यान बोर्ड बैठकका एजेण्डा : नेपाल टी-२० लिग र सन्दीपको निलम्बन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १९:३१
सन्दीप लामिछाने

१६ माघ, काठमाडौं । बढ्दो विवादका बीच नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति (बोर्ड) बैठक मंगलबार पोखरामा बस्दैछ ।

कार्यसमितिका करिब ४० प्रतिशतले नेतृत्वको राजीनामा मागेको दुई दिनपछि बस्न लागेको बैठकका एजेण्डा अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, एक सदस्यले दिएको जानकारीअनुसार नेपाल टी–२० लिगको समीक्षा, सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे बोर्ड बैठकमा छलफल हुनेछ ।

खेलाडीको पारिश्रमिक, श्रम स्वीकृतिबिना विदेशी खेलाडीको सहभागिता र मुख्य साझेदार कम्पनी नै स्पट फिक्सिङमा संग्लग्नलगायतका कारणबाट चर्को विवादमा तानिएको नेपाल टी–२० लिगको समीक्षा कार्यसमिति बैठकको मुख्य एजेण्डा हुनेछ ।

नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा भित्र्याइएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौताको भविष्यबारे बोर्ड बैठकले निर्णय गरी आसन्न साधारण सभामा लैजाने तयारी भएको छ । क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो ।

लाइसेन्स शुल्कबापत ८ वर्षमा ३३ करोडको सम्झौता हुँदा पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ क्यानले पाउनुपर्ने थियो । प्रतियोगिताअघि नै आउनुपर्ने रकमको झण्डै आधा रकम अहिलेसम्म आएको छैन । ९–२७ पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ । यसो हुँदा क्यान नेतृत्वलाई सम्झौता रद्ध गर्न दबाव बढेको छ ।

आइतबारमात्र बोर्डका ७ जना सदस्यले सार्वजनिक कार्यक्रम गरी कार्यसम्पादन समितिमा रहेका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित पाँच जनाको राजीनामा माग गरेको छ । क्यानको विधानअनुसार वर्षमा बढीमा चारपल्ट बोर्ड बैठक बस्न पाइन्छ । दैनिक काम कारबाहीको अधिकार पाएको कार्यसम्पादन समितिले अधिकार दुरुपयोग गरी महत्वपूर्ण निर्णयमा पनि बोर्डलाई जानकारी नदिएको असन्तुष्ट कार्यसमिति सदस्यहरुको दावी छ ।

बोर्ड बैठकले नाबालिग बलात्कार अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्नेबारे पनि निर्णय गर्दैछ । बलात्कार अभियोगमा गत असोज २० मा पक्राउ परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि गत पुस २९ गते उनी धरौटीमा रिहा भएका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत फागुन २ देखि त्रिवि क्रिकेट मैदानमा हुन लागेको नामिविया र स्कटल्याण्डसम्मिलित शृंखलाका लागि गत शुक्रबार घोषणा गरिएको २८ सदस्यीय प्रारम्भिक टिममा सन्दीप समावेश छैनन् । मंगलबारको बैठकले सन्दीपको निलम्बन फुकुवासँगै उनलाई टिममा समावेश गर्ने/नगर्नेबारे पनि निर्णय गर्नेछ ।

क्यानले एसियन क्रिकेट काउन्सिल (एसीसी)को कार्यक्रमअन्तर्गत अहिलेसम्मकै ठूलो क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ । आगामी अप्रिल महिनाका लागि प्रस्ताव गरिएको एसियन प्रिमयर कपका लागि नेपालको प्रस्तावमा एसीसी सहमत भइसकेको एक सदस्यले जानकारी दिए ।

मंगलबारको बोर्ड बैठकले १० टिमको सहभागिता रहने सो प्रतियोगिताबारे आवश्यक निर्णय गर्ने पनि ती सदस्यले बताए । प्रतियोगितामा एसीसी अन्तर्गतका एशोसिएट टिमहरुको सहभागिता रहनेछ । उपाधि विजेता टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रका टिमसँग एसिया कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?