+
+

सांसद अरुण चौधरीले ६ महिना कैद भुक्तान नगरेको खुलासा, जुनसुकै बेला पक्राउ पर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते २१:०१

१६ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी फौजदारी कसुरमा दोषी ठहर व्यक्ति भएको खुलेको छ । उनीमाथि जिल्ला अदालत कैलालीबाट ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय गर्ने र ८ लाख १९ हजार रुपैंया भराउने फैसला भएको हो ।

अरुणसहित ३ जना विरुद्ध मुद्दा चलेको थियो । तीनजना आरोपितहरु नै प्रहरीसमक्ष आत्मसमर्पण नगरी फरार भएका थिए । उनीहरु प्रहरीमा आत्मसमर्पण नगरेको र अदालतमा समेत नगएकाले फैसला अन्तिम भई बसेको छ । फैसला कार्यान्वयनका क्रममा उनीहरु जतिबेला पनि पक्राउ हुन सक्छन् ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतिपुरका महादेव बजगाईको आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र बिर बहादुर चौधरी विरुद्ध मुद्दा हाले । अनि ८ लाख ७५ हजार रुपैंया क्षतिपुर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान थिए ।

जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालिन मुलुकी ऐन बमोजिम मुद्दा प¥यो । आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसुर अपराधलाई स्वीकार गरी बसेको’ ठहर ग¥यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसुर गरेको ठहर गर्यो ।

९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र बिर बहादुर चौधरीलाई ६÷६ महिनाको दरले कैद सजाय भयो । क्षति भएको ८ लाख १९ हजार रुपैंया तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।

२०७४ सालमा लम्कीचुँहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसीरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ को सांसद बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?