+
+

देउवाले रामचन्द्रलाई बनाउलान् त राष्ट्रपतिको उम्मेदवार ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ माघ १६ गते २१:३२

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ र, अहिलेकै संसदीय समीकरण कायम रहे सत्तारुढ गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित छ ।

तर नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न रस्साकस्सी चर्को छ । आकांक्षीहरु आफू उम्मेदवार भए जित्ने दाबी समेत गर्छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले शुक्रबार स्थायी कमिटी बैठकबाटै राष्ट्रपतिमा सहमतिको पहल गर्ने निर्णय गरेपछि त कांग्रेसभित्र राष्ट्रपति पद पाउने आशा झन् बढेको देखिन्छ ।

जबकि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने १० पुसमा निर्णय भइरहँदा राष्ट्रपति पद एमालेले लिने सहमति भएको थियो ।

२६ पुसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै माओवादी नेताहरुले राष्ट्रिय सहमति भन्न थालेका थिए । प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचन अघि कांग्रेससहित दलहरुको बैठक राखे भने शुक्रबार पार्टी कमिटीबाटै निर्णय गरेपछि कांग्रेस नेताहरु उत्साहित भएका छन् ।

कांग्रेसमा राष्ट्रपतिको सम्भावित उम्मेदवारकै रुपमा भने ४ मंसिरको आमचुनाव अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सबैभन्दा बढी चर्चामा थियो । त्यसबेला माओवादी केन्द्रसहितका पाँच दल कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले पौडेललाई संभावित राष्ट्रपतिकै रुपमा समेत हेरिएको थियो । तर शेरबहादुर देउवा र प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्ने सहमति जुट्न सकेन । प्रचण्डले अप्रत्यासित निर्णय गर्दा कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । सबै पदबाट बाहिरिएर कांग्रेस विपक्षी कित्तामा धकेलियो ।

संसदको सबभन्दा ठूलो दल भएर पनि सत्ताबाट बाहिरिनु परेको कांग्रेसले २६ पुसमा विपक्षी दलको भूमिकामा रहने, तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्‍यो । त्यससँगै कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारमा पौडेल एक्लै रहेनन् ।

९ माघको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिए । आकांक्षी नेताहरु भनेर देउवाले पौडेलसँगै आफ्नो नाम लिएपछि सिटौलाले पनि लबिइङ तीव्र बनाएका छन् ।

तर अहिले पनि देउवाको रोजाइमा पौडेलकै नाम रहेको एक शीर्ष नेता बताउँछन् । किनकि संसदीय दलकाे चुनावकै क्रममा देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिएको स्रोतको दाबी छ ।

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र महामन्त्री गगनकुमार थापा भिडेका थिए । ५ पुसमा उम्मेदवारी दर्ताका क्रममा पौडेल, देउवाको प्रस्तावक बसे । संस्थापन समूहका एक नेताका अनुसार त्यो दिन बिहान भएको एउटा छलफलमा पौडेलले देउवाको प्रस्तावक बस्न आनाकानी गरेका थिए तर उपसभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाँण लगायतका नेताहरुले पौडेललाई मनाएका थिए । ‘संसदीय दलको चुनावमा देउवाको प्रस्तावक बनाउने क्रममा उहाँलाई राष्ट्रपति बनाउने वचन दिइएको हो’, एक नेता भन्छन् ।

राष्ट्रपति पदको प्रतिबद्धता पाएपछि पौडेल देउवाको प्रस्तावक मात्रै बसेनन्, संस्थापन इतर समूह भनेर चिनिएका आफू निकट रहेका सांसदहरुकाे मत समेत मागेका थिए । उनले गगनले पाउने केही भोट देउवातिर खसाएको नेताहरु बताउँछन् ।

देउवासँग पौडेलको सामीप्यता भने २०७८ मंसिरमा भएको १४औं महाधिवेशनपछि बढेको हो । त्यो महाधिवेशनमा सभापतिकै आकांक्षी भए पनि संस्थापन इतर समूहमा साझा सहमति जुट्न नसकेको भन्दै पौडेल प्रतिस्पर्धामा आएनन् । उनी डा. शेखर कोइराला समूहमा पनि खुलेनन् । दोस्रो चरणको चुनावका क्रममा त उनले देउवालाई जिताउन भूमिका समेत खेलेका थिए ।

त्यसयता देउवासँग नजिक भएका पौडेलले तत्कालीन गठबन्धन जोगाउन सक्रियता देखाएका थिए । पौडेल, गठबन्धनका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय समन्वय समितिको संयोजक नै बनेका थिए । निरन्तर सहयोगको बदला देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर गुन तिर्न खोजेको कतिपय कांग्रेस नेता बताउँछन् । ‘प्रधानमन्त्री र पार्टी सभापति बन्न उहाँले बल गरे पनि सक्नुभएन’ संस्थापन पक्षका नेता भन्छन्, ‘रामचन्द्र दाइ राष्ट्रपति भइदिए हुनेथियो भन्ने सहानुभूति उहाँप्रति छ । सभापति सकारात्मक देखिनुहुन्छ ।’

राष्ट्रपति पदकै आकांक्षामा पौडेलले माओवादीसहितको गठबन्धन जोगाउन हरसम्भव प्रयास गरेका थिए । चुनावपछि पनि पौडेलले प्रचण्डलाई पटकपटक संवाद गरे । स्रोतका अनुसार, अहिले पनि पौडेल प्रधानमन्त्री प्रचण्डसँग संवादमा छन् । ५ माघमा पनि उनी प्रचण्डलाई भेट्न बालुवाटार नै पुगेका थिए ।

राष्ट्रपतिको उम्मेदवार बन्न पौडेल जत्तिकै सक्रियता सिटौलाले पनि देखाएका छन् । आफू उम्मेदवार हुने अवस्था बने प्रचण्डलाई ‘कन्भिन्स’ गराउन सक्ने उनको दाबी छ । साथै माओवादीको समर्थन जुट्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवार चयनबारे देउवाको निर्णयले मात्रै हुने परिस्थिति छैन ।

‘प्रचण्डले पौडेल हुन्न, सिटौला उठाउनुस् भने देउवाले त्यही गर्ने हुन्’ सिटौला निकट एक नेता भन्छन्, ‘सिटौला हुन्न, पौडेल उठाउनुस् भने उही उम्मेदवार हुने हो ।’

कांग्रेसका कतिपय नेता भने सभापति देउवाले अहिले नै कुनै व्यक्तिलाई अघि सार्ने अवस्था नरहेको र अन्तिम समयमा उम्मेवारको निर्णय लिंदा प्रतिस्पर्धीले तयारी गर्न नपाउने चिन्ता व्यक्त गर्छन् । ‘कांग्रेसको उम्मेदवार तपाईं हो भनेर कसैलाई भनिदिए तयारी गर्ने अवस्था बन्ने थियो’ संस्थापन इतरका नेता भन्छन्, ‘मनोनयन गर्ने बेला पुगेर उम्मेदवार बनाउँदा तयारी गर्न समय हुँदैन ।’

राष्ट्रपति निर्वाचित हुन कुल मतभार ५२ हजार ६२८ को बहुमत २६ हजार ३५४ पाउनुपर्छ ।  कांग्रेससँग १६ हजार २२१ र एमालेसँग १५ हजार २३३ मत छ । माओवादी केन्द्रसँग ७ हजार ७४५ मत छ । त्यसैले माओवादी केन्द्र, कांग्रेस वा एमाले जतातिर ढल्किन्छ, त्यही दलले राष्ट्रपति पाउने संभावना बढी छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?