+
+

स्ववियु चुनावको मुखमा अखिल क्रान्तिकारीलाई आफ्नै विवादको भारी

रामकुमार डिसी रामकुमार डिसी
२०७९ माघ १७ गते १५:२३

१७ माघ, काठमाडौं । विद्यार्थी संगठनहरु ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी तयारीमा लागेका छन् । दलको लोकप्रियता नाप्ने ‘मिनी चुनाव’का रुपमा लिइने स्ववियु चुनावलाई दल र विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

तर तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन भने चरम विवादका बीच स्ववियु चुनावको तयारीमा लाग्नुपर्ने बाध्यतामा छ। उसलाई स्ववियु चुनावको तयारी भन्दा संगठनभित्रको विवाद भारी भएको छ ।

अखिल क्रान्तिकारीको संस्थापन पक्षविरुद्ध उपाध्यक्ष पवन कार्की समूहले समानान्तर गतिविधि गरिरहेको छ । स्ववियू चुनाव घोषणा भएसँगै कार्की समूृहले समानान्तर गतिविधि झन् तीव्र पारेको छ । ६ माघमा कार्की समूहले सबै जिल्ला र क्याम्पसमा संगठन विस्तारको घोषणा गर्‍यो ।

कार्की समूहले संस्थापन पक्षबाट नेताहरु तान्ने रणनीति समेत बनाएको छ । ‘त्यहाँ भएका सबै साथीहरुलाई यता आउन भनेका छौं’ कार्कीले भने, ‘हामी एक्लै भए पनि अगाडि बढ्छौं । विचार मिल्नेहरुसँग गठबन्धन गर्ने कोसिस समेत गर्छौं ।’

विद्रोही पक्षले देशभर संगठन बनाएपछि संस्थापन पक्षले पनि त्यसको काउन्टरमा नेताहरुको कार्यविभाजन घोषणा गरेको छ । १० माघमा सर्कुलर जारी गर्दै संस्थापन पक्षले स्ववियु चुनावका लागि प्रदेश इञ्चार्ज र क्याम्पस कमाण्डर तोकेको छ । अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘सिंगो केन्द्रीय समितिको कार्यविभाजन गरेर हामीले पदाधिकारी बैठकबाट एकल रुपमा चुनाव लड्ने तयारी गरिरहेका छौं ।’ उपाध्यक्ष नारायण खनालले घोषणापत्र लेखनको जिम्मेवारी पाएका छन् भने अर्का उपाध्यक्ष मिलन एमसीलाई प्रचारको जिम्मेवारी दिइएको छ ।

संस्थापन पक्षमा पनि एकरुपता छैन । उपाध्यक्ष इन्द्र भुसाल लगायतले पोखरा विश्वविद्यालयको आर्थिक लेनदेनमा आफ्नै संगठनको नेतृत्वलाई आरोप लगाएपछि विवाद बढ्दै गएको छ । समानान्तर गतिविधि र संस्थापक्षभित्रै देखिएको विवादले स्ववियु चुनावमा असर पर्ने विद्यार्थी संगठनका नेताहरु बताउँछन् ।

विवाद समाधान पार्टी नेतृत्वको हातमा

संगठनको विवाद समाधान आफ्नो हातमा नरहेको अध्यक्ष सिंह बताउँछिन् । उनी भन्छिन्, ‘अब हाम्रो वशमा छैन, विवाद मिलाउन मैले मेरोतर्फबाट गर्ने सबै प्रयास गरिसकेको छु ।’

अब पार्टीले नै विवाद मिलाउनुपर्ने उनको भनाइ छ । पार्टीको जारी स्थायी समिति बैठकबाट यसबारे केही निर्णय हुने अपेक्षा सिंहले गरेकी छिन् ।

समानान्तर गतिविधि चलाइरहेका कार्कीले पनि पार्टीप्रति नै अपेक्षा राखेका छन् । ‘पार्टीको बैठक चलिरहेको छ, त्यसबाट केही निर्णय हुन्छ भन्ने अपेक्षा हामीलाई छ’ कार्कीले भने, ‘पार्टीले ठोस निर्णय गरेन भने हामी हाम्रो संगठनलाई अगाडि बढाउँछौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लाएक्लै र दुवै पक्षलाई सँगै राखेर पटक–पटक छलफल गरेका छन् । तर विवाद समाधान हुनसकेको छैन ।

दुवै पक्षले एक अर्कालाई पार्टी अध्यक्षको निर्देशन नमानेको समेत आरोप लगाइरहेका छन् । लामो समयदेखि चल्दै आएको अखिल क्रान्तिकारीको विवादले माओवादी केन्द्रको केन्द्रीय समितिमा समेत प्रवेश पाएको थियो ।

त्यसपछि १९ असारमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्ययन गरेर सुझाव दिन संगठनका पूर्वअध्यक्ष रमेश मल्लको अध्यक्षतामा नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको समिति बनाएको थियो ।

समितिले ४ साउनमा प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । समितिले संस्थापन पक्षले गरेको कारबाही फिर्ता लिने र असन्तुष्ट समूहको समानान्तर समिति खारेज गर्ने, दुवैलाई मिलाएर तदर्थ समिति बनाउने र राष्ट्रिय सम्मेलन आयोजना गर्ने, उमेर हद लागू गर्नेलगायतका सुझाव दिएको छ ।

उक्त प्रतिवेदन १२ साउनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेश गरिएको थियो । तर, त्यसको ६ महिना बितिसक्दा पनि निर्णय भएको छैन ।

संगठनभित्र जटिल समस्या भएकाले समाधान गर्न समय लागेको अखिल क्रान्तिकारीका इन्चार्ज समेत रहेका माओवादी केन्द्रका सचिव हितमान शाक्य बताउँछन् ।‘चुनाव अघि नै विवाद मिलाउने कुरा भएको छ’ उनले भने, ‘केही जटिल समस्या थिए, अब विद्यार्थी साथीहरुसँग छलफल गरेर मिलाउने भन्ने कुरा भएको छ ।’

विवादको श्रृंखला

२०७८ को असोज १४–१६ सम्म काठमाडौंमा भएको २२औं राष्ट्रिय सम्मेलनबाटै अखिल क्रान्तिकारीमा विवाद सुरु भएको थियो ।

सम्मेलनले पदाधिकारी र केन्द्रीय समिति समेत निर्माण गर्न नसकी अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्दै सकिएको थियो ।

त्यसको करिब दुई महिनापछि १९९ सदस्यीय केन्द्रीय समिति घोषणा भएको थियो । २७ मंसिरमा गरिएको केन्द्रीय समितिको घोषणा विधानविपरीत भएको भन्दै कार्की समूहले हलमै नाराबाजी गरेको थियो ।

नाम घोषणा विधि, पद्धति र मापदण्ड अनुसार नभएको, आफ्नो नजिक भएकालाई राख्ने, अरुलाई हटाउने गरिएको आरोप कार्की समूहले लगाएको थियो ।

त्यसपछि कार्की समूहले १८ असार २०७९ असारमा १९९ जनाको समानान्तर केन्द्रीय कमिटी घोषणा भएको थियो ।

गत ५ वैशाखमा अखिल क्रान्तिकारीले भर्चुअल भेला आयोजना गरिएको थियो । प्रचण्डले प्रशिक्षण दिएको भेलामा ४१ जनाको पदाधिकारी घोषणा गरिएको थियो ।

पदाधिकारी घोषणामा पनि कार्की समूहले असन्तुष्टि जनाएको थियो । कार्की महासचिव हुन चाहन्थे तर उनलाई उपाध्यक्ष बनाइएको थियो । त्यसपछि कार्कीले त्यसमा असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यो बीचमा कार्कीले छुट्टै भेला आयोजना गरेका थिए । अनुशासनहीन काम गरेको भन्दै संस्थापन पक्षले उनलाई निलम्बन गरेको थियो । कार्की समूहले तत्काल दुवै पक्षको समिति खारेज गरेर राष्ट्रिय सम्मेलनमा जानुपर्ने माग गर्दै आएको छ ।

विवाद समाप्त गर्ने कोसिस गर्ने भन्दै ५ असारमा अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक आयोजना गरिएको थियो । तर, त्यो बैठकबाट विवाद समाधानउन्मुख हुनुको साटो उल्टो झन् बढेको थियो । दुई पक्षबीच त्यहाँ हात हालाहाल समेत भएको थियो । त्यसयता विवाद मिलाउने प्रयास समेत भएको छैन ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?