+
+

साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाल तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १९:३१

१९ माघ, काठमाडौं । बंगलादेशमा भोलिदेखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक र कप्तानले बताएका छन् ।

बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक यामबहादुर गुरुङ र कप्तान प्रीति राईले नेपालले च्याम्पियनसिपका लागि राम्रो तयारी गरेको बताउँदै मैदानमा प्रदर्शनका लागि तयार रहेको बताए ।

यसअघि यू-१८ र यू-१९ फर्म्याटमा भएको च्याम्पियनसिप यस पटक यू-२० फर्म्याटमा हुन लागेको हो ।

अर्को वर्ष हुने एएफसी यू-२० महिला च्याम्पियनसिको लागि यस वर्ष हुने छनोटलाई मध्यनजर गर्दै साफ पनि यू-२० लेभलमा हुन लागेको हो । जसमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि दाबेदार भएर पनि नेपालले उपाधि जित्न सकेको थिएन । यसपटक त भारत र बंगलादेश नेपाल भन्दा बलियो देखिएको छ भने भुटानले पनि आफ्नो प्रदर्शनमा सुधार गरिरहेको छ । त्यसैले उपाधि जित्नु नेपालका लागि ठूलो चुनौती नै छ ।

नेपालका प्रशिक्षक र कप्तानले पनि उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । कप्तान राईले विपक्षी टिमहरु राम्रो रहेको भन्दै राम्रो नतिजा ल्याउन मिहिनेत गर्नुपर्ने बताए । ‘यो प्रतियोगिताको लागि हाम्रो तयारी राम्रो भएको छ । आयोजक बंगलादेशलाई घरेलु मैदानमा फाइदा छ । भर्खर यू-१७ विश्वकप खेलेर भारतले राम्रो अनुभव लिएको छ । भुटानले पछिल्ला वर्षहरुमा प्रगति गरेको छ । त्यसैले हामीले राम्रो नतिजाका लागि कडा मेहनत गरेर खेल्नुपर्छ ।’

पहिलो पटक महिला टिम हेरेका प्रशिक्षक गुरुङले सबै टिमको स्तर उस्तै रहेको र प्रदर्शन मैदानमा देखाउने बताए । ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । सहभागी चार राष्ट्र समान र प्रतिस्पर्धात्मक छन् । बंगलादेशलाई घरेलु मैदानमा फाइदा हुन सक्छ,’ गुरुङले भने, ‘तर मलाई विश्वास छ प्रतियोगिताको नतिजा मैदानमा देखिनेछ र हाम्रो टिम प्रदर्शनका लागि तयार छ ।’

फेब्रुअरी ३ देखि ९ सम्म हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरु हुनेछ ।

त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ । नेपालले दोस्रो खेल फेब्रुअरी ५ मा भुटान र तेस्रो खेल फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई टिमबीच फेब्रुअरी ९ मा फाइनल खेल हुनेछ । सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । २०२१ मा बंगलादेशमै भएको यू१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने राम्रो अवसर रहेपनि चुकेको थियो ।

गतवर्ष भारतमा भएको भारतमा भएको यू-१८ च्याम्पियनसिपमा भने नेपाल भारत र बंगलादेश मात्र सहभागि थियो र डबल राउण्ड रोविनमा खेलेको सबै चार खेलमा नेपाल पराजित भएको थियो । त्यसबेला पनि नेपालको कप्तान प्रीति राई नै थिइन् ।

त्यसबेला खेलेका मध्ये प्रितिसँगै गोलकिपर सावित्री किसन लिला जोशी, मिडफिल्डर कुमुस खतिवडा, दिपा शाही, सुनकला राई, मनमाया दमाई, अन्जली मचामसी, साराह बज्राचार्य, सरस्वती हमाल, फरवार्ड अमिसा कार्मी र गरिमा राई, डिफेण्डर सविना चौधरी, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई (कप्तान) अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, अन्जली चन्द ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?