+
+

लिलाम हुँदै ‘बट्टा नै नखोलिएको’ पहिलो आइफोन, मूल्य ५० हजार डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ९:२१

स्मार्टफोन पूरानो हुँदै जाँदा तीव्र रुपमा ह्रासकट्टी हुने प्रडक्ट हो । तर कतिपय स्मार्टफोन यस्ता हुन्छन् जो डेढ दशक पुरानो हुँदासमेत त्यसको मूल्य उल्टै कैयौं गुणा बढ्छ । सन् २००७ मा बजारमा आएको एउटा यस्तै आइफोन अहिले कम्तिमा ५० हजार डलरमा लिलाम हुँदैछ ।

सन् २००७ मा एप्पलको पहिलो आइफोनको लञ्च भएसँगै स्मार्टफोनको बजारमा क्रान्ति नै भएको थियो । अमेरिकाकी क्यारिन ग्रिनले पनि त्यहीँ एउटा आइफोन उपहार प्राप्त गरेकी थिइन् । उनले उपहार पाएको त्यो आइफोन खास कारणले गर्दा प्रयोग गर्न पाइनन् । जुन अहिलेसम्मै प्याक्ड छ र नयाँ छ । १६ वर्षअघि बजारमा आएर पनि अहिलेसम्म प्रयोग नगरिएको र बट्टा नै नखोलिएको त्यही आइफोन अन्ततः लिलाम बिक्री गर्ने निर्णय उनले गरेकी छिन् ।

पहिलो संस्करणको आइफोनमा त्यसबेलाका विभिन्न अत्याधुनिक फिचर उपलब्ध थिए । जसमा ३.५ इन्चको टचस्क्रिन, २ मेगापिक्सेलको क्यामरा तथा सफारी वेब ब्राउजर जस्ता फिचर छन् । त्यसबेला ५ सय ९९ डलर मूल्य तोकिएको आइफोनमा ४ जिबी स्टोरेज उपलब्ध छ ।

त्यो आइफोन प्रयोग गर्नु सायद सबैका लागि सपना पूरा हुनुजस्ते थियो । तर ग्रीनले भने त्यो आइफोन प्रयोग गर्न पाइनन् । किनकी त्यो बेला अमेरिकामा टेलिकम कम्पनी AT&T को नेटवर्कसँग आइफोन आबद्ध थियो । तर ग्रीन भने Verizon कम्पनीको मोबाइल नेटवर्क प्रयोग गर्दथिन् । त्यहीँ कारणले लामो समयसम्म उक्त आइफोन आफ्नो खुद्रा बक्समै बन्द रहनु पर्‍यो र झण्डै १६ वर्षपछि पनि उनीसँग रहेको पहिलो आइफोन अहिलेपनि बक्समा प्याक्ड छ ।

अबचाहिँ सो आइफोनको लिलामी हुने क्रममा छ । लिलामीमा उक्त आइफोनको मूल्य कम्तिमा ५० हजार डलर पर्ने अनुमान गरिएको छ । LCG Auction ले सो लिलामी गर्दैछ । बिहीबारबाट सुरु हुने लिलामी फेब्रुअरी १९ सम्म चल्नेछ ।

एउटा यस्तै प्रयोग नभएकेा र बट्टा नै नखोलिएको आइफोन ebay मा १० हजार डलरमा बिक्री भएको देखेपछि उनले आफ्नो आइफोन पनि लिलाम गर्ने विचार गरेकी हुन् । उसो त सन् २०१९ मै एक टेलिभिजन शो का क्रमम ग्रीनको उक्त फोनको मूल्य पाँच हजार डलर तोकिसकिएको थियो । त्यसबेला उनले अझै केही वर्ष पर्खिने निर्णय गरिन् । गत वर्ष जब एउटा यस्तै बट्टा नै नखोलिएको पूरानो आइफोन ४० हजार डलरमा लिलाम भएपछि चाहिँ उनले आफ्नो आइफोनसमेत बेच्ने टुंगोमा पुगेकी हुन् । आफूले चाहेको भए आइफोनलाई अझै केही वर्षसम्म राख्न सक्ने भए पनि अहिले पैसाको खाँचो भएको हुनाले बेच्न आँटेको उनको भनाइ छ ।

आइफोन बिक्री गर्ने सोँच पलाएसँगै उनले LCG Auctions  नामक लिलाम कम्पनीसँग सम्पर्क गरिन् । सो कम्पनी पनि ग्रीनकेा आइफोन लिलामीमा राख्न सहमत भयो । पूर्णतः नयाँ तथा ठीकठाक अवस्थामा रहेको त्यो पहिलो आइफोनको लिलामीका क्रममा पहिलो बोली नै न्यूनतम २५ सय डलरबाट सुरु हुनेछ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?