+
+

भूकम्पले टर्की र सिरियामा धेरै क्षति किन भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ११:५६

२४ माघ, काठमाडौं । सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।

सोमबार टर्कीको गाजियानटेप भन्ने स्थानमा ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसपछि पनि साना–ठूला परकम्प जारी छन् । भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएका समाचारहरु आइरहेका छन् । ती समाचारसँगै प्रश्न पनि उब्जिएको छ, यति धेरै क्षति किन भयो ?

बीबीसीका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १८ किलोमिटर तल थियो । त्यसैले ठूला–ठूला भौतिक संरचनाहरु भत्किएका छन् । युनिभर्सिटी कलेज लण्डनमा रिस्क एण्ड डिजास्टर रिडक्सन इन्सटिच्युटका हेड प्रोफेसर जोआना फाउरे वाकरका अनुसार पछिल्लो रेकर्ड हेर्दा यति शक्तिशाली भूकम्प १० वर्षको अवधिमा दुईपटक र त्यसभन्दा अघिको दशकमा चार पटक आएको छ । तर यसपटक बढी क्षति पुगेको छ ।

गत सोमबारको भूकम्प बिहानको समयमा आएको थियो । त्यतिबेला मानिसहरु घरभित्रै सुतिरहेका थिए । त्यसैले पनि धेरैजसोको घरभित्रै च्यापिएर मृत्यु भएको छ । कमजोर भौतिक संरचना पनि क्षतिको अर्को कारण रहेको बीबीसीले उल्लेख गरेको छ ।

युनिभर्सिटी अफ पोर्ट्समाउथका भोल्क्यानोलोजी एण्ड रिस्क कम्युनिकेसनका अध्यता डा. कार्मेन सोलाना भन्छन्, ‘दक्षिण टर्की र खासगरी सिरियामा आवासीय भवनहरु टाढाटाढा छन् । त्यसैले मानिसहरुको ज्यान जोगाउनका लागि राहत तथा बचाउमै अधिक निर्भर रहनुपर्छ । गम्भीर घाइते भएकाहरुको ज्यान जोगाउन २४ घण्टा निकै महत्वपूर्ण हुन्छ । ४८ घण्टा बित्यो भने जिउँदो रहने सम्भावना निकै कम हुन्छ ।’

बीबीसीले लेखेअनुसार गाजियानटेप यस्तो आवासीय क्षेत्र हो, जहाँ बिगत दुई सय वर्षदेखि ठूलो भूकम्प वा खतराको कुनै संकेत देखिएको थिएन । त्यसैले भूकम्पका धक्का आउने स्थानहरुको तुलनामा यहाँ पूर्वतयारी कम थियो । त्यसैले बढी क्षति भएको हुनसक्ने अनुमान छ ।

भूकम्प किन आउँछ ?

पृथ्वीको तल्लो भागमा अलग–अलग प्लेट हुन्छन् जुन एकअर्कासँग जोडिएका हुन्छन् । प्राय यी प्लेटहरुमा हलचल भइरहेको हुन्छ । हलचल हुनेबेला एकअर्कामा घर्षण हुन्छ । कहिलेकाहिँ हलचल यति धेरै हुन्छ कि एउटा प्लेट अर्को प्लेटमाथि चढ्छ । त्यसबाट पृथ्वीको सतहमा पनि धक्का महसुस हुन्छ । भूकम्पको कति शक्तिशाली थियो भनेर त्यसको तीव्रता म्याग्निच्युडमा नापिन्छ ।

भूगर्भविदका अनुसार अरेबियन प्लेट उत्तरतर्फ सरिरहेको छ र एनोतोलियन प्लेटसँग यसको घर्षण भइरहेको छ । प्लेटहरुबीचको घर्षण नै भूकम्पको कारण हो । यसैको कारण १३ अगष्ट १८२२ मा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो जुन गत सोमबार आएको ७.८ म्याग्निच्युडको तुलनामा कम शक्तिशाली हो ।

१९ औं शताब्दीमा आएको भूकम्पले यस क्षेत्रमा निकै क्षति पुगेको थियो । अलेप्पोमा मात्रै सात हजार जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एक वर्षसम्म क्षति पुग्नेगरी परकम्प आइरहे । सोमबारको भूकम्पपछि पनि परकम्प जारी छ र यो क्रम लामो समयसम्म जारी रहनेछ ।

–बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?