+
+
सन्दर्भः विश्व दाल दिवस :

किन घटिरहेछ प्रोटिनको खानी दालको उत्पादन

केही दशक अघिसम्म हामी दाल बालीको उत्पादनमा प्रायः आत्मनिर्भर थियौं । पछिल्ला दशकहरूमा मागमा भएको वृद्धिको तुलनामा उत्पादन वृद्धि हुन नसक्दा अहिले हामी विभिन्न प्रकारका दाल एवं दालजन्य वस्तु आयात गर्छौं । आर्थिक वर्ष २०७७/७८ मा २१ अर्ब ४५ करोडको दालजन्य पदार्थ आयात भएको पाइन्छ ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०७९ माघ २७ गते ११:५४
Photo Credit : Pixabay

कुपोषण मानवपुँजी विकासको लागि एक प्रमुख अवरोध हो। युनिसेफका अनुसार विश्वमा पाँच वर्षमुनिका ५० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्युको अप्रत्यक्ष कारण कुपोषण रहने गरेको छ ।उसका अनुसार नेपालमा न्यून पोषणको कारण वार्षिक २५ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ जुन उक्त उमेर समूहको कूल मृत्युको करिब ५२ प्रतिशत हुन आउँछ।

राष्ट्रिय जानसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षण सन् २०२२ का अनुसार नेपालमा पाँच र्ष मुनिका ४३ प्रतिशत बालबालिका र १५ देखि ५९ वर्षका ३४ प्रतिशत महिला रक्त अल्पताबाट ग्रसित छन् । पशुपन्छीजन्य प्रोटिनको उपभोगमा उल्लेख्य वृद्धि भएता अझै पनि प्रोटिनयुक्त खानाको कम उपभोग न्यून पोषण र रक्तअल्पताको प्रमुख कारण रहेको अध्ययनहरूले देखाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार आर्थिक वर्ष २०७२/७३ मा दालको प्रतिव्यक्ति प्रतिवर्ष उपभोग १२.७२ किलो ग्राम रहेको थियो जुन विश्व स्वास्थ्य संगठनको सिफारिस (प्रतिवयस्क प्रतिदिन ६० देखि १२० ग्राम) को तुलनामा निकै कम रहेको छ।

हामीले उपभोग गर्ने दाल र दालजन्य गेडागुडीहरू वानस्पतिक प्रोटिनको प्रमुख स्रोत भएको र नियमित मासु खान नसक्ने आर्थिक अवस्था कमजोर भएका वर्गले पनि उपभोग गर्न सक्ने भएकोले यसलाई ‘गरिबको लागि मासु’ पनि भन्ने गरिन्छ ।

उदाहरणको लागि भटमासमा ४५ प्रतिशतसम्म प्रोटिन पाइन्छ । प्रोटिनको अलावा मसुरो, रहर, मास, भट्मास, सिमी, चना, मुँग, केराउ लगायतका दालजन्य गेडागुडीमा क्यालसियम, पोटासियम, फोलेट, जिङ्क, फलाम र म्यानेसियमलगायतका खनिज पदार्थ र वि १, वि २ र वि ३ भिटामिनहरू पाइने भएकाले दालको उपभोगले बालबालिका र युवायुवतीको शारीरिक र बौद्धिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउँछ । साथै उल्लेखित पोषक तत्वको साथै दालमा पाइने हुँदा फाइवरले शरीरमा कोलेस्टोरलको मात्रा घटाउन, रगतमा चिनीको मात्रा कम गर्न तथा पाचन प्रणालीलाई तन्दुरुस्त राख्न समेत मद्दत पुर्‍याउने हुँदा पोषण र स्वास्थ्यका दृष्टिले दाल र दालजन्य गेडागुडी निकै महत्वपूर्ण मानिन्छन् । दालजन्य बाली र यसका उप उत्पादनहरू पशुपन्छीको दानाको रूपमा पनि उपयोग गरिन्छ र व्यवसायिक पशुपालनको क्रम बढेसँगै भटमास लगायतका दालबालीका उत्पादन दानाको प्रयोग हुने क्रम बढेको पाइन्छ ।

डा. रामकृष्ण श्रेष्ठ

दालजन्य बालीहरू माटोको उर्वराशक्ति व्यवस्थापन गर्न र जलवायु परिवर्तनको असर कम गर्नमा पनि उपयोगी छन् । यस्ता बालीहरूले वायुमण्डलमा रहेको नाइट्रोजन तत्व स्थिरीकरण गरी माटोमा नाइट्रोजनको मात्रा बढाउँछ । नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोग कम गरी उत्पादन लागत घटाउन दालजन्य बालीको खेतीले मद्दत पुग्छ । रासायनिक मलको प्रयोगको कारणले हुने हानिकारक हरितगृह ग्याँसको उत्सर्जन कम गर्नमा समेत मद्दत पुर्‍याउँछन् भने माटोको स्वास्थ्य सुधारमा समेत योगदान पुर्‍याउँछन् ।

त्यसैगरि यी बालीहरूलाई धान, मकै, गहुँ लगायतका बालीहरूको तुलनामा कम पानी आवश्यक पर्ने भएकोले सिँचाई सुविधा नभएको क्षेत्र तथा पानी कम पर्ने क्षेत्रमा पनि अन्य बालीको तुलनामा सफलतापूर्वक खेती गर्न सकिन्छ। अन्य बालीसँग मिश्रित र एकल बालीको रूपमा तथा छापो बालीको रूपमा यसको खेती गरिँदा यी बालीहरूले जमिन ढाकिराख्ने भएकाले भूक्षय कम गर्नुको साथै जमिनमा चिस्यान कायम राख्नमा सहयोग पुग्छ । जमिनमा बायोमास थप गरी माटोको उर्वराशक्ति र गुण सुधारमा समेत मद्दत पुग्छ भने कार्बन उत्सर्जन कम गर्न र कार्बन सञ्चितीकरणमा समेत योगदान गर्छन् । विभिन्न प्रकारका दाल बालीको खेती गर्दा कृषि जैविक विविधता संरक्षणमा मद्दत पुग्नुको साथै बालीमा लाग्ने विभिन्न रोग तथा किराहरूको प्रकोप कम हुन्छ ।

दाल र दालबालीको बहुआयामिक महत्वलाई दृष्टिगत गरी संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष फेब्रुअरी १० लाई विश्व दाल दिवसको रूपमा मनाउन सुरु गरिएको छ । यो दिवस मनाउनुको मूल उद्देश्य दालको महत्वबारे प्रचारप्रसार गरी उत्पादक कृषक र आम उपभोक्ताको सचेतना अभिवृद्धि गर्नु हो । साथै सम्बद्ध सरोकारवालाबीच यस्तो बाली प्रवर्द्धनको आवश्यकता र अवसर एवं विद्यमान समस्या र तिनको समाधानको उपायबारे अन्तरक्रिया एवं विमर्श गरी यसको खेती र उपभोग बढाउन मद्दत गर्नु हो ।

यस वर्षको दाल दिवसको नारा ‘पल्सेस् फर सस्टेनेबल फ्यूचर अर्थात ‘दिगो भविष्यको लागि दाल’ रहेको छ । यो नाराले दिगो खाद्य तथा पोषण सुरक्षा र दिगो कृषि उत्पादन प्रणालीको विकासमा दाल र दालजन्य बालीको महत्व दर्शाएको पाइन्छ ।

दाल नेपाली भान्साको एक अभिन्न अंग रहिआएको छ । नेपालमा दालको उपभोग बढेको भए पनि अपेक्षित रूपमा दालबालीको खेती र उत्पादन बढ्न सकेको छैन । पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा दालबाली खेती हुने क्षेत्रफल करिब उस्तै रहेको तर उत्पादन सामान्य रूपले वृद्धि हुँदै आएको पाइन्छ। नेपालमा खेती गरिने क्षेत्रफलको करिब १० प्रतिशत जमिनमा दालबाली खेती गरिन्छ । आर्थिक वर्ष २०७७/७८ मा करिब ३ लाख १५ हजार हेक्टरमा दालजन्य बालीको खेती भई ३ लाख ९४ हजार मेट्रिक टन उत्पादन भएको पाइन्छ । केही दशक अघिसम्म हामी दाल बालीको उत्पादनमा प्रायः आत्मनिर्भर थियौं । पछिल्ला दशकहरूमा मागमा भएको वृद्धिको तुलनामा उत्पादन वृद्धि हुन नसक्दा अहिले हामी विभिन्न प्रकारका दाल एवं दालजन्य वस्तु आयात गर्छौं । आर्थिक वर्ष २०७७/७८ मा २१ अर्ब ४५ करोडको दालजन्य पदार्थ आयात भएको पाइन्छ ।

आशातीत रूपमा दालबालीको खेती विस्तार एवं उत्पादन वृद्धि नहुनुमा विभिन्न कारण जिम्मेवार छन् । उन्नत जातको बीउको अभाव लगायतको कारण उत्पादकत्व कम भइरहेको छ । बढी उत्पादन दिने उन्नत जातहरूबारे आम कृषकमा जानकारी कम हुनाको कारण उन्नत जातको प्रयोग कम भइरहेको छ । रोगकिराको प्रकोप र मौसमी प्रतिकूलता बढिरहेको छ । लागतमा तीव्र वृद्धि हुँदा यसको तुलनामा प्रतिफल न्यून भइरहेका छन् ।

दालबालीको खेती गर्ने क्रम घट्दै जाँदा कतिपय दालबाली एवं रैथाने जातहरू नै लोप हुने खतरा समेत बढेको छ। विगतमा पाखो बारीमा सफलतापूर्वक उत्पादन गरिने मास, गहत, विभिन्न प्रकारका भटमास एवं सिमी, मस्याङ लगायतका दालबालीको खेती उल्लेख्य रूपले घटेको पाइन्छ । यस्ता रैथाने दालबाली एवं तिनका जातहरूको संरक्षण गर्न नसकिएमा खाद्य पोषण सुरक्षा र कृषि जैविक विविधतामा ठूलो असर पर्ने निश्चित छ ।

यस कार्यक्रममा बाँझो जग्गा उपयोग गरी दालबालीको खेती गर्न चाहने कृषकलाई नगद अनुदान, उन्नत बीउमा अनुदान, स्थानीय दाल उद्योगलाई कच्चा पदार्थको रूपमा दालजन्य उत्पादन बिक्री गरे बापत कृषकलाई उत्पादनमा आधारित नगद अनुदान लगायतका सहायताको व्यवस्था गरेको छ ।

त्यसैगरि दालको निर्यात मार्फत् विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना विद्यमान रहेता पनि यसको धेरै फाइदा लिन सकिएको छैन । केही वर्ष अघिसम्म नेपाली मसुरो बंगलादेश लगायतका देशमा निर्यात हुने प्रमुख कृषि उपज थियो । अन्तर्राष्ट्रिय बजारमा नेपाली दालको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदा पछिल्ला वर्षहरूमा निर्यात क्रमिक रूपले ओरालो लाग्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा दालको निर्यात केवल ५६ करोडको हाराहारी रहेको छ । यस्तो निर्यात आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३० करोड रहेको थियो ।

अर्कोतर्फ, विगतमा उल्लेख्य संख्यामा रहेका अधिकाँश साना तथा मझौला दाल उद्योगहरू क्रमशः बन्द हुँदै गएका छन् । त्यस्ता उद्योगका दालबाली प्रशोधन मिलहरू पुराना प्रविधिमा आधारित भएकोले नोक्सानी बढी र गुणस्तर कम हुने अवस्था छ । तिनले नयाँ तथा ठूला आधुनिक मिलहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । परिमाणतः अधिकाँश त्यस्ता मिलहरू बन्द हुने क्रम बढ्दै जाँदा बजारमा आयातित दाल एवं आयातित कच्चा पदार्थमा आधारित दालको बाहुल्यता बढेको पाइन्छ ।

दालबालीको अनुसन्धान तथा विकास एवं प्रवर्द्धनमा सरकारी क्षेत्रबाट विभिन्न प्रयासहरू नभएका होइनन् । यस बालीसम्बद्ध अनुसन्धानको लागि नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत एक अलग्गै राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रम क्रियाशील रहेको छ । यसले नयाँ जात एवं प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेलिआएको छ । दालबालीको उत्पादन वृद्धि गरी आन्तरिक माग पूरा गर्नुको साथै निर्यातको अवसर पनि विद्यमान रहेको सन्दर्भमा तिनै तहका सरकारहरूले दालबाली प्रवर्द्धनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिआएको पाइन्छ ।

नेपाल सरकारले प्रदेश सरकारहरू र स्थानीय तहसँगको सहकार्यमा दालबालीको उत्पादन वृद्धि गरी देशमा व्याप्त कुपोषण कम गर्ने र स्वदेशी मिलको लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा नै उत्पादन गरी तयारी दाल र कच्चा पदार्थको आयात कम गर्ने रणनीति अन्तर्गत दालबाली प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यस कार्यक्रममा बाँझो जग्गा उपयोग गरी दालबालीको खेती गर्न चाहने कृषकलाई नगद अनुदान, उन्नत बीउमा अनुदान, स्थानीय दाल उद्योगलाई कच्चा पदार्थको रूपमा दालजन्य उत्पादन बिक्री गरे बापत कृषकलाई उत्पादनमा आधारित नगद अनुदान लगायतका सहायताको व्यवस्था गरेको छ ।

कृषकको उत्पादन खरिद गर्ने स्थानीय दाल उद्योगलाई पनि अनुदानको व्यवस्थाको अलवा मिलको स्तरोन्नतिको लागि सीमित पुँजीगत सहयोगको समेत व्यवस्था गरिएको छ। यस्तो सुविधा र अनुदान, कार्यक्रम लागू भएका स्थानीय तहहरू र प्रदेश अन्तर्गतका जिल्लास्थित कृषि कार्यालयहरूबाट उपलब्ध गराइन्छ । सरकारले कार्यक्रम कार्यान्वयनको उपलब्धिको आधारमा यसलाई विस्तार गर्दै लगिने नीति लिएको छ।

तसर्थ विश्व दाल दिवसको अवसरमा आम कृषक, उद्योगी, उपभोक्ता र सरोकारवालाहरूले दालबालीको विकास र प्रवर्द्धनको लागि आआफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धता गर्नु आवश्यक देखिन्छ । दालबाली प्रवर्द्धनमा सम्बन्धित सबै पक्षहरूबीच सहकार्य हुन सकेमा देशमा व्याप्त कुपोषण र खाद्य असुरक्षा कम गर्नमा मद्दत पुग्नुका साथै कृषकको आयआर्जनमा समेत योगदान पुग्ने र दाल तथा दालजन्य पदार्थको आयात कम हुने अपेक्षा गर्न सकिन्छ । यसको साथै जलवायु परिवर्तन अनुकूलित दिगो कृषि उत्पादन प्रणाली स्थापित गर्नमा समेत सघाउ पुग्न जाने छ । विश्व दाल दिवसले यस दिशामा अघि बढ्न सवै सरोकारवालालाई प्रेरणा दिने नै छ ।

(लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?