+
+

बर्डफ्लू पीडित किसानलाई दुई साताभित्रै राहत

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ माघ २७ गते १८:२७

२७ माघ, काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने भएका छन् । कानुनी जटिलताको कारण देखाउँदै सरकारले भुक्तानी रोक्दा आर्थिक अवस्था बिग्रिएको भन्दै करिब तीन सय पोल्ट्री किसानहरु आन्दोलित भएका थिए ।

तर, चौतर्फी आलोचना पछि सरकारले २९९ जना किसानको क्षतिपूर्ति तिर्नका लागि प्रक्रिया अघि बढाएको छ । कृषि मन्त्रालयले प्रस्ताव गरेको ५८ करोड ५२ लाख रुपैयाँ बराबर रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको छ ।

किसानको राहतका लागि अर्थ मन्त्रालयले राय दिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले राहतका लागि आवश्यक रकम निकासाका लागि बिहीबार अर्थ मन्त्रायबाट राय पाएको बताए ।

‘अर्थबाट राहत वितरणका लागि केही सुझावसहित राय पाएका छौं,’ सञ्जेलले भने, ‘अब छिट्टै सबै प्रक्रिया पुरा गरेर फाइल मन्त्री परिषद्‍मा पेश गर्छौं ।’

अब बस्ने मन्त्रिपरिषद्‍ले किसानको राहतबारे कानुनी जटिलता टुंग्याउने गरी फाइल पेश हुने मन्त्रालयले जनाएको छ । राहतबारे मन्त्रिपरिषद्‍ले गर्ने निर्णय पछि मन्त्रालयले राहत रकम किसानलाई वितरणका लागि प्रदेशमा निकासा गर्ने छ ।

मन्त्रालयकाअनुसार प्रदेशले उक्त रकम प्राप्त गरेपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्डफ्लू नियन्त्रण समितिले पीडित किसानसँग निवेदन माग गर्नेछ । उनीहरुको माग र बर्डफ्लू नियन्त्रणका बेला तयार भएको मुचुल्काका आधारमा किसानको खातामा राहत रकम पठाइने छ ।

मन्त्रालयले सकेसम्म एक दुई दिनमै मन्त्रिपरिषद्‍बाट प्रक्रिया टुंग्याउन लागि परेकाले किसानले कम्तीमा दुई साता भित्रै राहत पाउने सक्ने मन्त्रालयले जनाएको छ । यसअघि नै अर्थ मन्त्रालयबाट विभिन्न राहत शीर्षकमा विनियोजन गरेको रकम र आत्मनिर्भरताका लागि कृषि कार्यक्रमका लागि छुट्याइएको रकमबाट किसानलाई राहत वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

पशुसेवा विभागको विवरणअनुसार २०७८ माघ यता फैलिएको बर्डफ्लूका कारण २९९ जना किसानको फर्मको पन्छी नष्ट गरिएको थियो । पन्छीबाट मानिसमा सर्नसक्ने घातक बर्डफ्लू नियन्त्रणका लागि सरकारले राहत सम्बन्धी मापदण्ड बनाएको थियो । ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरुको राहत दिने मापदण्ड, २०७८’ अनुसार गत १३ माघ २०७८ देखि २ साउन २०७९ सम्म बर्डफ्लू रोग नियन्त्रण गर्ने क्रममा नष्ट गरिएका वस्तुहरुको राहतका लागि करिब ५८ करोड लाग्ने देखिएको छ । प्रतिकिसान कम्तीमा १२ लाख देखि २ करोडसम्म राहत पाउनु पर्ने अवस्था रहेको विभागको भनाइ छ ।

विभागले मन्त्रालयमा पठाएको विवरणअनुसार बर्डफ्लूका कारण बागमती प्रदेशमा मात्रै ५१ करोड ९४ लाख ८२ हजार ९७९ रुपैयाँ ८ पैसा राहात वितरण गर्नु पर्नेछ । प्रदेश एकमा ५८ लाख ५ हजार ३०८ रुपैयाँ, मधेश प्रदेशमा २ लाख ४४ हजार १४७ रुपैयाँ ५ पैसा, गण्डकी प्रदेशमा एक लाख ३७ हजार १४१ रुपैयाँ २५ पैसा र कर्णाली प्रदेशमा ६ लाख ९१ हजार ९६५ रुपैयाँ राहत किसानले पाउनु पर्ने छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?