+
+
पोखरामा अस्तव्यस्त ट्राफिक :

ठूला बाटोमा साँघुरा पुल, सधैं दुर्घटनाको जोखिम

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ २८ गते ७:४७

२८  माघ, पोखरा । पोखराको बसपार्क रहेको पृथ्वीचोकमा बिहीबार भएको स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भयो । दुर्घटनास्थल नजिकैको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भयो ।

एकजनाको ज्यानै जाने गरी बिहीबार दुर्घटना भएको पृथ्वीचोक ‘पर्यटकीय सहर’ पोखराको बसपार्क क्षेत्र पनि हो । बसपार्क क्षेत्रमा सवारीको भिडभाड हुने ठाउँमा दुर्घटना भएको भए पनि त्यसको एक कारकमध्ये नजिकै रहेको चाइनिज पुलले परिचित सेती पुल हो । पुलबाट हुइँकिँदै आएको बसले ठक्कर दिँदा ती युवतीको मृत्यु भएको थियो ।

६ लेनमा फैलिएको बसपार्क हुँदै जाने पृथ्वीराजमार्गको मुखैमा २ लेनको साँघुरो पुल हुँदा सधैं ट्राफिक जाम त हुन्छ नै, दुर्घटनाको जोखिम पनि उच्च छ । सडक विस्तार भएर ६ लेन पुगिसक्दासमेत २०२७ सालमा चिनियाँ सरकारको सहयोगमा बनेको पुलको हालत उस्तै छ । त्यसमाथि बर्सेनि जीर्ण बन्दै गइरहेको छ ।

बिहीबार दुर्घटना भएको क्षेत्र बसपार्कमात्रै नभएर, अस्पताल, ट्राफिक कार्यालय, सस्तोबजार एकै ठाउँ हुँदा सधैंभरी भिडभाड रहन्छ । जसका कारण दैनिक सानाठूला दुर्घटना भइरहन्छन् । साँघुरो पुल हुँदा पोखरा रंगशाला क्षेत्र (बुद्धचोक)बाटै जाम हुन सुरु गर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वीचोक, बसपार्कदेखि प्रस्तावित नयाँ बसपार्क लामेआहालसम्म ७ महिनामा २० वटा ठूला दुर्घटना भएका छन् । तर, साना दुर्घटनाको कुनै तथ्यांक छैन ।

‘पृथ्वीचोक बसपार्क क्रसिङ प्वाइन्ट भएकाले सवारी साधन स्पिड त कमै हुन्छ । जसका कारण ज्यानै जाने दुर्घटना कम छन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख प्रकाश शाह स्वीकार्छन्, ‘तर, साना दुर्घटना भने भइराखेका छन् ।’

सबैभन्दा व्यस्त रहने पृथ्वीचोकक क्षेत्रमा आकासेपुल तथा सडकमा जेब्रा क्रस निशानासमेत छैन । ट्राफिक व्यवस्थापन गर्न ट्राफिक लाइटसमेत नहुँदा ट्राफिक प्रहरीलाई समेत सवारी चाप व्यवस्थापन गर्न हम्मेहम्मे परेको उनीहरु गुनासो गर्छन् ।

अतिक्रमणको चपेटामा परेको बसपार्क बर्सेनि साँघुरिँदा त्यहाँ नअटाएका सवारी साधन राजमार्गमै ‘पार्किङ’ हुने गरेका छन् । बसपार्कको फुटपाथमै पार्किङ गर्ने र यात्रु चढाउने, झार्ने काम हुँदा पैदलयात्रीले समेत सकस भोग्नु परिरहेको छ ।

चिनियाँ पुल ।

पुल साँघुरो हुँदा सवारी चाप तथा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शाह सुनाउँछन् । ‘६ लेनको बाटोमा साँघुरो पुल छ । त्यसले गर्दा पनि पृथ्वीचोकमा ट्राफिक भार पर्न जान्छ,’ उनी भन्छन् । उनी चाइना पुल विस्तार नगर्दासम्म पृथ्वीचोकमा जामको समस्या कमी नहुने सुनाउँछन् ।

यो क्षेत्र पृथ्वी राजमार्ग तथा सिद्धार्थ राजमार्गको मिलन विन्दु भएकाले पनि सवारी साधनको बाक्लो चाप लाग्दछ । तर, सवारी साधनको बाक्लो भिड लाग्ने त्यही क्षेत्रमा न भरपर्दो सडक छ न ट्राफिक व्यवस्थापन नै ।

तर, यो समस्या पृथ्वीचोकस्थित सेती नदी (चाइनिज पुल)को मात्रै होइन । नयाँ एअरपोर्ट सञ्चालनमा आएसँगै विकल्पका रुपमा राखिएका सेतीमाथि बनेका महेन्द्रपुल, मितेरी पुल, रामघाट पुल, नारायणथान पुल पनि बाटोभन्दा साना छन् । ती पुल सानामात्रै छैन, निर्माण भएको दशकौं बित्दा जीर्णसमेत भइसकेका छन् ।

बाटोलाई नै खुम्च्याउने गरी बनेका ती पुल विस्तार गर्न तत्काल कुनै योजना नभएको सडक डिभिजन कार्यालय कास्कीका प्रमुख पारस हमाल बताउँछन् । पोखराकै फिर्के खोलामाथि बनिरहेको फिर्के पुल पनि साँघुरो भएकै कारण दैनिकजसो दुर्घटना व्यहोर्नु परिरहेको छ ।

महेन्द्र पुल ।

६ लेनको बाटोमा जम्मा २ लेनको पुल हुँदा प्रायः रातको समयमा त्यहाँ दुुर्घटना हुने गर्दछ । सडक विभागले पुल विस्तारको काम गरिरहेको भए पनि लामो समयसम्म पूरा हुन सकेको छैन । चाख्लो र सीधा बाटोमा हुइँकिएर आएका सवारी साधन अगाडी पुल साँघुरिँदा दुर्घटनामा पर्ने गरेका फिर्केपुल नजिकका प्रत्यक्षदर्शी बताउँछन् ।

सडक डिभिजन कार्यालय कास्की प्रमुखका अनुसार हाल कार्यालयमार्फत फिर्के पुल विस्तार भइरहेको छ भने पृथ्वीचोकस्थित चाइना पुल विस्तार गर्ने पनि योजना छ । ‘अरु पुलहरु ठूलो बनाउने अहिले कुनै योजना छैन । तर, अहिलको योजना भनेको चाइनिज पुलको हो,’ उनले भने, ‘त्यो केही दिनमा टेन्डर प्रक्रियामा जान्छ ।’

यातायात व्यवस्था कार्यालय पोखराका अनुसार गण्डकीमा हालसम्म ३ लाख दुई पांग्रे र ६० हजार चार पांग्रे सवारी साधन दर्ता भइसकेका छन् । कार्यालयका सूचना अधिकारी लक्ष्मीभद्र वाग्लेका अनुसार दर्ता भएकामध्ये ९० प्रतिशतभन्दा बढी पोखरा क्षेत्रमै गुड्छन् । भन्छन्, ‘ठ्याक्कै कति गाडी अहिले गुडिरहेका छन् भन्ने तथ्यांक हुँदैन । तर, यहाँ दर्ता भएका अधिकांश गुड्ने भनेको यही बजार क्षेत्रमा हो ।’

दैनिक २ लाखभन्दा बढी सवारीसाधन गुड्ने पोखराका सडका सुरक्षाका लागि ट्राफिक कार्यालयमा २८ जना कर्मचारीको दरबन्दी छ । जसमा प्रहरी कार्यालयबाट तानतुन गरेर ९८ जना ट्रापिक व्यवस्थापनमा खटिएको प्रमुख शाह सुनाउँछन् ।

चोकमा भएका आइल्यान्डले सडक साँघुरिएको भन्दै तत्कालीन मेयर मानबहादुर जिसीको पालामा चोकमा रहेका विभिन्न व्यक्तिका शालिक सार्ने योजना ल्याइएको थियो । सडक विस्तार गर्न भन्दै चोकचोकका आइल्यान्ड भत्काइएको पनि थियो । त्यसलाई गम्भीर तरिकाले कार्यान्वयन नगर्दा सडकका शालिक पोखरा १८ स्थित शहीद पार्कमा थुप्रिएका छन् ।

रामघाट पुल ।

बर्सेनि सवारी साधन थपिँदै जाँदासमेत सडक तथा ट्राफिकको व्यवस्थापनमा वृृद्धि हुन सकेको छैन । आवश्यक पूर्वाधार विकास नभएकै कारण गत माघ १ गते पोखरामा भएको यती विमान दुर्घटनाको उद्धारमा हिँडेका उद्धार टोली नै आफ्नो सवारी छोडेर पैदल हिँड्नुपरेको थियो ।

पोखरा महानगरले अघिल्लो सोमबार ट्राफिक जाम समस्या निम्त्याएको भन्दै २३ गतेदेखि मुख्य बजार क्षेत्रमा सडक पार्किङ बन्द गर्ने सूचना जारी ग¥यो । सडकको एक भागमा पार्किङ गर्दा सहर अशोभनीयसहित अत्याधिक सवारी जामको समस्या निम्त्याएको महानगरको तर्क थियो ।

तर, व्यवसायी तथा सरोकारवाला निकायबाट बिना विकल्प सडक पार्किङ बन्द गर्न नहुने भन्दै विरोध जनाएपछि एक हप्ता नहुँदै महानगर उक्त सूचनाबाट पछि हट्न बाध्य भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती अब केही दिनमा सरोकारवाला निकायसँगग छलफल गरेर उनीहरुको सहमतिमा मात्रै सडक पार्किङ बन्द गरिने बताउँछन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?